fbpx
corona information

गृहपृष्ठ एक वर्षमा बढे ३८ प्रतिशत इन्टरनेटका ग्राहक

एक वर्षमा बढे ३८ प्रतिशत इन्टरनेटका ग्राहक

यी हुन् नेपालका १० ठूला इन्टरनेट सेवा प्रदायक

Top 10 ISP_NewsKarobar

नेपालमा इन्टरनेट सेवा प्रदायकहरूबीचको कडा प्रतिष्पर्धासँगै विगत एक वर्षमा देशमा झन्डै ३८ प्रतिशतले इन्टरनेट सेवाका ग्राहक थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०७६ चैतमा देशभरि इन्टरनेट सेवाका ग्राहक ८ लाख ९६ हजार ७२१ रहेकोमा २०७७ चैतमा यो संख्या १२ लाख ३४ हजार २४९ पुगेको छ ।

यो मोबाइलमा चलाइने इन्टरनेटभन्दा बाहिरको ब्रोडब्यान्ड इन्टरनेट सेवाका ग्राहक संख्या हो । लकडाउनयतामात्रै इन्टरनेट सेवाका ग्राहक करिब १२ प्रतिशतले बढेको प्राधिकरणको तथ्यांकले देखाउँछ, तर इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)का अध्यक्ष सुधीर पराजुली भने वास्तविक ग्राहक वृद्धिदर १० प्रतिशतमात्रै भएको बताउँछन् ।

विश्वभरिका इन्टरनेटको आइपी ठेगानाको विवरण राख्ने एपनिकको सन् २०२० अप्रिलदेखि अगस्टसम्मको तथ्यांकका आधारमा भने नेपालमा इन्टरनेट सेवा उपयोगकर्ताका अनुपात ३ प्रतिशत हाराहारीमा मात्रै बढेको एक सेवा प्रदायकले बताए ।

कुल इन्टरनेट ग्राहकमध्ये फाइबर ब्रोडब्यान्डका ग्राहक ९ लाख ८१ हजार ४८१ छन् भने केबल इन्टरनेटका २ लाख २६ हजार १९ र वायरलेसका ग्राहक ४६ हजार ७४९ पुगेको छ । ग्राहकको संख्या बढ्दै गएसँगै इन्टरनेटको स्पिड र मूल्यमा भने क्रमसः कमी हुन थालेको छ ।

‘अहिले २५-३० एमबीपीएसको इन्टरनेट मासिक औसत १२०० रूपैयाँ हाराहारीमा आएको छ, अझ प्याकेज हिसाब गर्ने हो भने वार्षिक औसत मूल्यका आधारमा यो शुल्क अझ कम देखिन्छ । यसले उपभोक्तालाई फाइदा पुगेको छ,’ आइस्पानका अध्यक्ष पराजुली भन्छन् ।

नाम उल्लेख गर्न नचाहने एक इन्टरनेट सेवा प्रदायक भने बढ्दो गलाकाट् अस्वस्थ्य प्रतिष्पर्धाका कारण इन्टरनेट सेवाको मूल्य धान्नै नसकिने गरी तल झरिसकेको बताउँछन् । ‘अहिले बजारमा जुन मूल्य कामय भएको छ, त्यसले सेवा प्रदायको लागत पनि धान्न सक्ने अवस्था छैन,’ ती इन्टरनेट व्यवसायी भन्छन्, ‘यसले सानो लागत भएका सेवा प्रदायक सबैभन्दा बढी मारमा परेका छन् ।’

देशका प्रायः सबै प्रमुख सहरी र अर्धसहरी क्षेत्रमा अहिले इन्टरनेट सेवा पुगिसकेको छ । साना सहरी क्षेत्रहरूमा समेत ठूला सेवा प्रदायकहरूबाट ब्यान्डविथ किनेर स्थानीय आईएसपी चलाउने क्रम बढेको छ भने डिसहोमजस्ता केही टेलिभिजन सेवा व्यावसायिक कम्पनीले समेत फाइबर इन्टरनेट सेवा सुरु गरेपछि अस्वस्थ्य प्रतिष्पर्धा बढेको ती सेवा प्रदायक बताउँछन् ।

अहिले इन्टरनेट सेवा प्रदायकहरूबीच ग्राहक बढाउने होडबाजी चलिरहेको कारणले सेवाको विस्तारमा ठूलो लगानी भइसकेको उनको भनाइ थियो । ‘एकीकृत पूर्वाधारमा नजाने हो भने धान्न सकिँदैन,’ उनले भने ।

आइस्पानका अध्यक्ष पराजुली एकीकृत पूर्वाधारका विषयमा संस्थागत रूपमा लामो समयदेखि आवाज उठाइँदै आइए पनि नियामक निकाय र सरकारले नै यसका लागि उपयुक्त निर्णय लिनुपर्ने बताउँछन् ।

‘नेपालमा अहिले पनि वास्तविक ब्रोडब्यान्ड सेवा विस्तार भएकै छैन । हामी मोबाइलमा चलाइने डाटाका ग्राहक गणना गरेर इन्टरनेट सेवाका उपभोक्ता बढेको भन्न बाध्य छाैं,’ आइस्पानका अध्यक्ष पराजुली भन्छन्, ‘यदि पूर्वाधार साझेदारीमा सरकारले उपयुक्त नीतिगत निर्णय लिने र ग्रामीण क्षेत्रसम्म पहुँच विस्तारका लागि सरकारले सहुलियत उपलब्ध गराउने हो भने ब्रोडब्यान्ड इन्टरनेटका लागि नेपालमा अथाह सम्भावना छ ।’

नेपालका टप १० इन्टरनेट सेवा प्रदायक

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ४ लाख ग्राहकसहित वर्ल्डलिंक कम्युनिकेसन नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो भने २ लाख ४६ हजार ग्राहकसहित नेपाल टेलिकम दोस्रो स्थानमा छ । वर्ल्डलिंकले कुल इन्टरनेट बजारको ३३ प्रतिशत हिस्सा ओगटेको छ भने नेपाल टेलिकमले २१ प्रतिशत हिस्सा ओगटेको छ ।

यसैगरी, कुल बजारको १२ प्रतिशत हिस्सा ओगटेको सुबिसु केबल नेट तेस्रो स्थानमा, १० प्रतिशत हिस्सा ओगटेको भायनेट पाँचौं स्थानमा, ९ प्रतिशत हिस्सा ओगटेको क्लासिटेक छैठौँ स्थानमा छ । यी सेवा प्रदायकहरूका ग्राहक औसत १ लाखदेखि १ लाख ५५ हजारसम्म छ ।

यस्तै, टेकमाइन्डसको बजार हिस्सा ४ प्रतिशत, ब्रोडलिंकको ३ प्रतिशत, वेबसर्फरको २ प्रतिशत र १ प्रतिशत बजार हिस्सासहित कोनेक्ट नेपाल क्रमसः सातौंदेखि दसौँ स्थानसम्म छन् । काठमाडौँका साना आइएसपीहरू ५ हजारदेखि ३० हजार ग्राहकमा चित्त बुझाउन बाध्य हुँदा नारायणगढको टेकमाइन्डसका ग्राहक ४२ हजार पुगेका दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाउँछ ।

प्रकाशित समय १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु