fbpx
corona information

गृहपृष्ठ रौनियारको शंकास्पद काममा स्ट्यान्डर्ड चार्टर्ड बैंकको साथ

रौनियारको शंकास्पद काममा स्ट्यान्डर्ड चार्टर्ड बैंकको साथ

Standard Charter Bank_NewsKarobar

सम्पत्ति शुद्धीकरण मामिला र अन्तर्राष्ट्रिय निगरानी छल्न कतिसम्म गरिन्छ भन्ने एउटा उदाहरण हुन् वीरगञ्जका प्रकाशकुमार रौनियार र उनको कम्पनीका काम-कारबाही । उनले सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले प्रतिबन्ध लगाएको मुलुक हुँदै अलकत्रा आयात गरे, त्यो पनि फर्जी कागजात बनाएर ।

रौनियार, नेपालस्थित उनका दुई कम्पनी र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले गरेको ‘फर्जी काम’ अमेरिकाको वित्तीय कारोबार प्रणालीमाथि निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अतिगोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले खुलासा गरेको छ ।

यो खुलासामा संलग्न नेपालसँग सम्बन्धित विवरणहरूमध्ये सबैभन्दा धेरै शंकास्पद कारोबार गर्नेमा वीरगञ्ज उपमहानगरपालिका- १२ मीनाबजार पर्साका रौनियार पर्छन् । त्यसका लागि उनले ‘रौनियार ब्रदर्स एण्ड कम्पनी’ र ‘शुभ समृद्धि ट्रेडर्स प्राइभेट लिमिटेड’ (यसपछि शुभ र रौनियार मात्रै भनिएको) कम्पनीको नाममा स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत १० भन्दा बढी शंकास्पद कारोबार गरेका छन् ।

रौनियारका दुई कम्पनीहरूले २८ सेप्टेम्बर २०१० देखि ४ सेप्टेम्बर २०१४ भित्र स्ट्यान्डर्ड चार्टर्ड बैंक काठमाडौंबाट पटक-पटक प्रतितपत्र खोलेका छन् । यी दुई कम्पनीले यो अवधिमा ७ करोड १४ लाख ५ हजार ५३३ अमेरिकी डलर (रु. ८ अर्ब ४९ करोड ७२ लाख ५८ हजार ४२७) रकम दुबईलगायत विभिन्न देशमा भुक्तानी गरेको देखिन्छ । फिनसेनले यी कम्पनीहरूबारे संवेदनशील तथ्यहरू औंल्याएको छ । उसले यसलाई शंकास्पद गतिविधि सम्बन्धी रिपोर्ट (सार)को सूचीमा राखेको छ ।

कारोबार–१

शुभले २८ जुलाई २०१० देखि २९ अक्टोबर २०१४ सम्ममा ६ करोड ९६ लाख ७ हजार ३६६ अमेरिकी डलरको शंकास्पद धनको कारोबार गरेको ‘फिनसेन’ प्रतिवेदनमा उल्लेख छ । त्यसका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले आफ्ना दुई ग्राहक शुभ र रौनियारमार्फत प्रतितपत्र (एलसी) खोल्ने निवेदनहरू पाएको थियो ।

ती प्रतितपत्रहरूबारे न्यूयोर्कस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकले खोतल्दा नेपालका दुई कम्पनीले शंकास्पद काम गरेको देखिन्छ । यी कम्पनीहरूले इरानबाट कारोबार गरेको तर युएईको जेबिल अली बन्दरगाहमार्फत निर्यात गरेको फर्जी कागज बुझाएको ‘इन्टरनेशनल म्यारिटाइम ब्यूरो’ को अनुसन्धानबाट खुल्यो ।

काठमाडौंमा कार्यालय रहेको शुभले खाद्यान्न, पेट्रोलियम र पेट्रो रासायनिक सामानहरू आयात गर्छ । पर्सास्थित रौनियार कम्पनीले भने फर्नेस ओइल र अलकत्रा आयात र निर्यातको काम गर्छ । फिनसेनले भनेको छ, “शुभले दुबईको ‘काइट’ मार्फत प्रतिबन्धित मुलुकहरूसँग आर्थिक सम्बन्ध कायम राखेको भेटिएको हो ।”

कारोबार–२

३१ मे २०१३ देखि ३१ मे २०१४ सम्ममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले शुभका नाममा चारवटा प्रतितपत्र जारी गरेको थियो । चारमध्ये ३१ मे २०१३ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले शुभका नाममा एक लाख २५ हजार अमेरिकी डलर बराबरको अलकत्रा ‘काइट’ बाट खरीद गर्ने गरी एक प्रतितपत्र जारी गर्‍यो । जुन रकम भने ‘काइट’ को युएईस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंंकको खातामा जम्मा गरिएको थियो । लगत्तै अर्को महिना ६ जून २०१३ मा युएईस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकले ‘काइट’ले जारी गरेका बिलसहितका कागजपत्र अनुसार शुभले १ लाख २४ हजार ५८१.२५ अमेरिकी डलर बराबरको अलकत्राका १० वटा कन्टेनर तयार पार्‍यो । त्यसलाई दुबईको दक्षिणी क्षेत्रमा रहेको एक ठूलो वाणिज्य बन्दरगाह ‘जेबिल अली’मार्फत पठाइयो । त्यहींबाट सामान लोड गरेर भारतको कोलकाता हुँदै नेपालको वीरगञ्जस्थित सिर्सिया बन्दरगाहमा ती सामान आइपुगे ।

चारमध्येको अर्को कारोबार २३ जून २०१३ मा नेपालको स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत नै गरेको हो । १ लाख २३ हजार १२२.०१ अमेरिकी डलर रकम ‘काइट’ को स्ट्यान्डर्ड चार्टर्ड बैंक दुबईको खातामा पठाएको थियो । अर्को कारोबार भने ८ अगष्ट २०१३ मा भएको छ । उक्त प्रतितपत्र ‘काइट’ बाट ६५ हजार ५०० अमेरिकी डलर मूल्य बराबरको अलकत्रा खरीद गर्न जारी गरिएको थियो । यो कारोबारबाट प्राप्त रकम पनि ‘काइट’को युएईस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमै जम्मा भएको देखिन्छ ।

यसको २० दिनपछि २८ अगष्ट २०१३ मा काइटबाट जारी कागज युएईस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकले पठायो । ती कागज नेपालको स्ट्यान्डर्ड चार्टर्ड बैंक हुँदै शुभले प्राप्त गर्‍यो। उक्त कागजपत्र अनुसार नेपालको शुभ कम्पनीलाई ६० हजार ४८२.२६ अमेरिकी डलर मूल्य बराबरको अलकत्राका १२ वटा कन्टेनर पठाउन तयार पार्‍यो ।

चौथो कारोबार ५ सेप्टेम्बर २०१३ मा गरेको थियो । यसमा पनि नेपालको स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५९ हजार ६७६.०३ अमेरिकी डलर युएईको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा पठाएको थियो । यी चारवटै कारोबारलाई बैंकले अस्वीकृत र अवरुद्ध नगरेको ‘फिनसेन’ प्रतिवेदनमा उल्लेख छ ।

कारोबार–३

१० डिसेम्बर २०१३ मा नेपालको स्ट्यान्डर्ड चार्टर्ड बैंकले शुभका नाममा एक लाख ५२ हजार बराबरको प्रतितपत्र जारी गर्‍यो । बैंकले शुभलाई उक्त प्रतितपत्र ‘काइट’ बाट अलकत्रा खरीद गर्नका लागि जारी गरिदिएको थियो । १५ डिसेम्बर २०१३ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक युएईले भुक्तानी गर्न सहयोग गर्ने कागजातहरू नेपालको स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई पठायो ।

उक्त कागजपत्र अनुसार एक लाख ४३ हजार ५७९.१३ अमेरिकी डलर मूल्य बराबरको अलकत्राका १२ वटा कन्टेनर तयार पारिएको थियो । ती अलकत्राका सामानहरू जेबिल अली बन्दरगाहमार्फत लोड गरेर भारतको कोलकाता बन्दरगाह पठाइयो र त्यहाँबाट नेपाल । यी सामानहरू दुबईबाट लोड गर्ने काम सि रुट कम्पनीले गरेको थियो ।

उक्त सामानहरू प्राप्त गरेको आधारमा २३ डिसेम्बर २०१३ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले १ लाख ४१ हजार ६६४.७४ अमेरिकी डलर रकम युएईको स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई पठाएको थियो । फिनसेन प्रतिवेदनले बैंकले ग्राहकको निगरानी राख्ने क्रममा गरेको समीक्षा अनुसार ‘यो कारोबारलाई अस्वीकृत गरिएन’ भनेको छ ।

कारोबार–४

१३ मे २०१४ मा नेपालको स्ट्यान्डर्ड चार्टर्ड बैंकले शुभका नाममा काइटबाट १ लाख ८२ हजार ४०० अमेरिकी डलर बराबरको अलकत्रा खरीद गर्न प्रतितपत्र जारी गरिदिएको थियो । उक्त प्रतितपत्रका आधारमा सामान लोड गरेका बिलहरू सि रुट कम्पनीले जारी गरेको थियो । जसमा सामान लोड गरेको बन्दरगाह युएईको जेबिल अली उल्लेख छ । र, उक्त सामान भारतको कोलकाता पुर्‍याइएको थियो । त्यसका आधारमा २७ मे २०१४ मा नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ लाख ८१ हजार ७३१.६८ अमेरिकी डलर रकम युएईको स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई पठायो ।

अक्टोबर २०१६ मा ‘इन्टरनेशनल म्यारिटाइम ब्यूरो’ ले गरेको रिपोर्ट अनुसार माथिका कारोबारका सामानहरू इरानको बान्डर अब्बासमार्फत लोड गरिएको थियो । कागजमा उल्लेख भएझैं ती सामानहरू युएईको जेबिल अली बन्दरगाहमार्फत लोड नभएको ब्यूरोले फेला पारेको थियो ।

कारोबार–५

२८ सेप्टेम्बर २०१० र ४ सेप्टेम्बर २०१४ मा नेपालको स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना ग्राहक रौनियारका नाममा पाँच वटा प्रतितपत्र जारी गरिदियो । प्रतितपत्रमा उल्लेख भए अनुसार सामान बहराइन, साउदी अरब, ओमान, कुवेत अथवा युएईको बन्दरगाहबाट लोड गरियो भने भारतको कोलकाता बन्दरगाहबाट नेपाल पुर्‍याइएको थियो ।

कारोबार–६

१७ अक्टोबर २०१३ मा नेपाल स्ट्यान्डर्ड चार्टर्ड बैंकले ‘काइट’ बाट २ लाख ९५ हजार अमेरिकी डलर बराबरको अलकत्रा खरीद गर्न रौनियारका नाममा प्रतितपत्र जारी गरेको थियो ।

अर्को कारोबार ५ नोभेम्बर २०१३ र ८ फेब्रुअरी २०१४ मा युएईस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ लाख १६ हजार २१७.५३ अमेरिकी डलर उल्लेख भएका तीन कागजातहरू नेपालको स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई पठायो । ‘काइट’ ले ‘सि रुट’ कम्पनीमार्फत तीन वटा सामान लोड भएको जानकारी दिने बिल र कागजातहरू पठाएको थियो ।

ती सामानहरू ‘काइट’को तर्फबाट बुझाइएको थियो, युएईको जेबिल अली बन्दरगाहमार्फत लोड गरिएको थियो र भारतको कन्टेनर सिप कम्पनी ओइल इण्डियाको ठूलो जहाजमा राखेर कोलकातामा पुर्‍याइएको थियो । त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपालले २ डिसेम्बर २०१३ देखि ११ मार्च २०१४ सम्म तीन पटकमा ३ लाख १६ हजार ६७.५८ अमेरिकी डलर ‘काइट’ को युएईस्थित स्ट्याण्डर्ड चार्टर्ड बैंकको खातामा जम्मा गरिदियो । फिनसेन प्रतिवेदन भन्छ, ‘यो कारोबारलाई पनि बैंकले अस्वीकार तथा अवरुद्ध गरेन ।’

कारोबार–७

१० फेब्रुअरी २०१४ मा नेपालको स्ट्यान्डर्ड चार्टर्ड बैंकले रौनियारका नाममा ‘काइट’ बाट ३ लाख ५ हजार अमेरिकी डलर बराबरको अलकत्रा खरीद गर्न प्रतितपत्र जारी गरेको थियो । उक्त रकम युएईको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा जम्मा गरिदिन प्रतितपत्र जारी भएको थियो ।

१६ फेब्रुअरी २०१४ मा युएईको स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ लाख ५ हजार ६६१.८५ अमेरिकी डलर बराबरको रकम उल्लेख भएका दुईवटा कागजपत्रहरू पठायो । उक्त कागजपत्र अनुसार काइटले युएईको जेबिल अली बन्दरगाहमार्फत सामान लोड गरेर पठाएको थियो । उक्त सामान ओइल इण्डिया कम्पनीको ठूलो जहाजमार्फत भारतको कोलकातासम्म पुर्‍याइएको थियो ।

त्यसपछि २५ फेब्रुअरी २०१४ र ३० मे २०१४ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले दुई पटक ३ लाख २ हजार ६३६.८६ अमेरिकी डलर युएईको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको काइटको खातामा जम्मा गरिदियो । फिनसेन प्रतिवेदनले ‘यो कारोबारलाई बैंकले अस्वीकार नगरेको’ भनेको छ ।

कारोबार–८

२० फेब्रुअरी २०१४ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले रौनियारका नाममा ‘काइट’ बाट ९४ हजार ८१४.१० अमेरिकी मूल्य बराबरको अलकत्रा खरीद गर्न प्रतितपत्र जारी गर्‍यो । १६ फेब्रुअरी २०१४ मा युएईको स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९४ हजार ३५५.१० डलर उल्लेख भएका बिलहरू पठायो । जसमा सि रुट नामक कम्पनीमार्फत सामान लोड गरेका बिलहरू थिए । सामानहरू ‘काइट’ मार्फत पठाइएकोमा ती सामानलाई युएईको जेबिल अली बन्दरगाहमार्फत लोड गरेर भारतको कोलकाता पुर्‍याइएको थियो । त्यस क्रममा सिंगापुरमा दर्ता भएको मेस्र्क ह्वीसकनसन् कम्पनीको जहाजमार्फत सामान पुर्‍याइएको थियो ।

ती सामानहरू प्राप्त भएको आधार मानेर ९ मार्च २०१४ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले एक पटक ९३ हजार ४५८.७३ अमेरिकी डलर बराबरको रकम युएईको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा पठायो । फिनसेन प्रतिवेदन भन्छ, ‘यसमा बैंकले अस्वीकार गरेन ।’

कारोबार–९

४ सेप्टेम्बर २०१४ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले काइटमार्फत १ लाख १९ हजार २०० अमेरिकी डलर बराबरको अलकत्रा खरीद गर्न रौनियारका नाममा प्रतितपत्र जारी गर्‍यो। १३ सेप्टेम्बर २०१४ र २१ सेप्टेम्बर २०१४ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक युएईले १ लाख १९ हजार २२९.८० अमेरिकी डलर रकम उल्लेख भएका कागजपत्रहरू स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललाई पठायो ।

‘काइट’ ले सि रुट नामक कम्पनीमार्फत सहयोगी कागजपत्रसहित सामान लोड गरेका दुई वटा बिलहरू पठाइएको थियो । सामानहरू काइटमार्फत पठाइएको थियो भने युएईको जेबिल अली बन्दरगाहमार्फत लोड गरिएको फिनसेन प्रतिवेदनमा उल्लेख छ । उक्त सामानलाई भारतको कोलकाता पुर्‍याइएको थियो । त्यहाँ सामान पुर्‍याउन ओइल इण्डिया कम्पनी र सिंगापुर ब्रिजको सामान बोक्ने ठूला जहाज प्रयोग गरिएको थियो ।

त्यसपछि १९ सेप्टेम्बर २०१४ र २९ सेप्टेम्बर २०१४ मा नेपालको स्ट्यान्डर्ड चार्टर्ड बैंकले दुई पटक १ लाख १८ हजार ८७.१८ अमेरिकी डलर युएईको स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत भुक्तानी गरियो ।

कारोबार–१०

२८ सेप्टेम्बर २०१० मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले काइटबाट २ लाख २५ हजार अमेरिकी डलर मूल्य बराबरको अलकत्रा खरीद गर्न चार वटा कागजपत्रहरू समावेश गरी रौनियारका नाममा प्रतितपत्र जारी गरिदियो ।

१२ अक्टोबर २०१० र १४ अक्टोबर २०१० मा युएईको स्ट्यान्डर्ड चार्टर्ड बैंकले चार वटा कागजातहरू सहित बिल पठायो । काइटले युएईको मेडिटेरेनियन सिपिङ र सिंगापुरको बीएलपीएल लोजिस्टिक्समार्फत सामान लोड गरेका कागजहरू पठाएको थियो । चारमध्ये तीनवटा बिलहरू युएईको मेडिटेरेनियन सिपिङ र सिंगापुरको बीएलपीएल लोजिस्टिक्समार्फत जारी भएका थिए ।

ती सामानहरू २८ सेप्टेम्बर २०१० मा विभिन्न पानीजहाज कम्पनीमार्फत जिबुटी र बहराइन पुर्‍याइयो । फिनसेन प्रतिवेदनमा उल्लेख भएअनुसार, सामान बोक्ने एमएससी इम्मा पानीजहाजमा राखेर बहराइन पुर्‍याइएको थियो । एमएससी जमाइमा जहाज र एमएससी पेगी जहाजबाट अफ्रकी मुलुक जिबुटी  पुर्‍याइएको थियो ।

फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क तस्वीर: सिला एलेची/आईसीआईजे ।

अन्य बिलहरूका अनुसार ती सामान मलेशियाबाट ४ अक्टोबर २०१० मा इन्डोनेसियाको सिलटन डेटाङ जहाजमा राखेर भारतको कोलकाता पुर्‍याइएको थियो । जुन सामग्री फर्नेस ओइल रहेको उल्लेख गरिएको छ । उक्त सामानहरू जिबुटी र मलेशियाको पसिर गुडाङस्थित बन्दरगाहमार्फत लोड गरेर कोलकाता र त्यहाँबाट नेपाल पठाइएको थियो ।

त्यसपछि विभिन्न शर्तहरूका आधारमा १७ जनवरी २०११ देखि १ फेब्रुअरी २०११ सम्ममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले चार पटकसम्म २ लाख ४३ हजार ५५४.६३ अमेरिकी डलर स्ट्यान्डर्ड चार्टर्ड बैंक युएई पठाएको थियो ।

२०१६ अक्टोबरमा ‘इन्टरनेशनल म्यारिटाइम ब्यूरो’ (आईबीएम)ले ती प्रतितपत्र पछाडिका कुराहरू खोतल्यो । आईबीएमको रिपोर्टअनुसार उल्लिखित पाँचमध्ये चारवटा कारोबार अन्तर्गतका सामग्री इरानको बान्डर अब्बासबाट लोड गरिएको थियो । व्यापारसम्बन्धी कागजातमा लेखिए जस्तो ती सामानहरू युएईको जेबिल अली बन्दरगाहमार्फत लोड नभएको ब्यूरोले फेला पारेको थियो ।

को हुन् रौनियार ?

प्रतिबन्धित मुलुकमार्फत आर्थिक कारोबार गर्न सफल वीरगञ्जका प्रकाशकुमार रौनियार नेपालको राजनीति वृत्तमा पनि जोडिएका पात्र हुन् । उनी नारायणजी रौनियारका छोरा हुन् । नारायणजीको वीरगन्ज मीनाबजारस्थित मेनरोडमा घर छ ।

२०५७/५८ सालमा नेपाली कांग्रेसको सरकार हुँदा नारायणजी वीरगञ्ज चिनी मिल बोर्ड समितिको अध्यक्ष भएका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा उनी फोरम लोकतान्त्रिकबाट पर्सा क्षेत्र नम्बर- १ बाट चुनाव लडेका थिए । विजय गच्छदार नेपाली कांग्रेसमा प्रवेश गरेपछि उनी पनि कांग्रेसमै फर्किएका छन् ।

बाबु नारायणजीमार्फत नेपालको राजनीतिक वृत्तमा पहुुँच बनाएका प्रकाशकुमार रौनियार भने प्रायः दुबई बस्छन् । नेपालमा उनीसहित दाजु/भाइहरूको नाममा दर्ता भएका कम्पनीहरू रौनियार ब्रदर्स एण्ड कम्पनी र शुभ समृद्धि ट्रेडर्स प्राइभेट लिमिटेड मात्रै हो ।

वेब्याक मेसिनले निकालेको विवरणहरू अनुसार, रौनियार ब्रदर्ससँग सम्बन्धित अन्य आधा दर्जन कम्पनी पनि छन् । सन् १९८५ मा वीरगञ्जमा स्थापना भएको अर्निका ट्रेडर्स, सन् १९९० मा वीरगञ्जमै स्थापना भएको ब्राइट प्रिकर सिस्टम एण्ड इण्डष्ट्री, सन् १९८९ मा स्थापना भएको शुभ-लाभ ट्रेड कन्सर्न, सन् १९९१ मा वीरगञ्जमा स्थापना भएको युनिभर्सल ट्रेडर्स्, सन् १९९२ मा सर्लाहीको परवानीपुरमा स्थापना भएको राहुल फुड प्रडक्ट र काठमाडौंमा स्थापना भएको शुभ समृद्धि ट्रेडर्स उसका ‘सिस्टर’ कम्पनीहरू हुन् ।

दर्ता भएका दुई कम्पनी शुभ र रौनियार ब्रदर्सले दुबईको शंकास्पद कम्पनी ‘काइट’सँग कारोबार गरेको हो । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर स्रोतले उपलब्ध गराएको विवरण अनुसार, पहिलो कम्पनी वीरगञ्जका नारायणजी रौनियार र उनका चार छोराहरू- श्यामबाबु, ज्योतिबाबु, प्रकाशकुमार र दीपकुमार बाबुको नाममा दर्ता छ । दोस्रो, कम्पनी भने नारायणजीका छोरा ज्योतिबाबुको नाममा दर्ता छ ।

‘फिनसेन’ले शंकास्पद भनेका गतिविधिमा संलग्न व्यक्ति भने प्रकाशकुमार रौनियार हुन् । रौनियारका कम्पनीहरूका प्रतितपत्रहरूमाथि २०१६ अक्टोबरमा बेलायतको गैर नाफामूलक संस्था ‘इन्टरनेशनल म्यारिटाइम ब्यूरो’ (आईबीएम) ले अनुसन्धान गरेको थियो । उक्त संस्थाले अन्तर्राष्ट्रिय व्यापारका क्रममा हुने सबै प्रकारका सामुद्रिक अपराध, ठगी र गलत अभ्यासबारे खोज्ने काम गर्छ ।

रौनियारको सम्बन्ध रहेको दुबईको ‘काइट’ कम्पनीको वेबसाइटका अनुसार यो कम्पनीहरूको समूह (ग्रुप अफ कम्पनिज्) हो । जसको केन्या, जाम्बिया, मोजाम्बिक, नेपाल र अमेरिकामा उपस्थिति छ । काइटको वेबसाइटमा भएको विवरण अनुसार, यो कम्पनीले ‘नेपालमा उच्च शिक्षाका लागि नयाँ परियोजना सुरू गरेको’ छ । तर नेपालका सरकारी अधिकारीहरू ‘काइट’ ले शिक्षा क्षेत्रमा कुनै परियोजना सञ्चालन नगरेको बताउँछन् ।

फिनसेन फाइल्समार्फत आफ्नो कम्पनीबारेका विवरण सार्वजनिक भएपछि काइटले एक महिना यता आफ्नो वेबसाइट बन्द गरेको छ ।

यस्तो कार्यमा संलग्न प्रकाशसँग सम्पर्क गर्न खोज्दा सफल हुन सकेन । उनी युएईमा रहेका कारण उनको फोन नम्बर र इमेल प्राप्त हुन सकेन । उनका बाबु तथा कम्पनीका सञ्चालक समेत रहेका नारायणजी रौनियारले हाल आफ्ना दुवै कम्पनी बन्द भएको बताए । “अहिले कम्पनी छैन, चार पाँच वर्ष जति भयो होला बन्द भइसक्यो” उनले भने, “पहिले अलकत्राको काम गथ्र्यौं, अहिले गर्दैनौं ।”

नारायणजीले त्यस्तो दाबी गरे पनि सन् २०१७ देखि २०२० सम्मको पछिल्लो तीन वर्षको अवधिमा शुभले ९ लाख ६८ हजार ७५९ अमेरिकी डलर रकम बराबरको अलकत्रा भारतका पाँच ट्रेडिङ कम्पनीमार्फत आयात गरेको थियो । उक्त कुरा अमेरिकाको न्यूयोर्कस्थित विश्वव्यापी व्यापारसम्बन्धी तथ्यांक राख्ने कम्पनी पान्जीबा को रेकर्डमा पनि उल्लेख छ ।

त्योमध्ये शुभले २०२० को जून महीनामा पनि अलकत्रा खरीदका लागि कारोबार गरेको देखिन्छ । तर उक्त तीन वर्षको कारोबारका क्रममा अलकत्रा खरीद गर्न कुन बैंकले प्रतितपत्र जारी गर्‍यो भन्ने विवरणबाट भने खुल्दैन । त्यसैगरी सन् २०१६ देखि २०१८ सम्म रौनियार ब्रदर्स कम्पनीले ३ लाख ६५ हजार ७४८ अमेरिकी डलर मूल्य बराबरको अलकत्रा पाँच भारतीय कम्पनीमार्फत आयात गरेको थियो ।

रौनियार र शुभले गरेको कारोबार शंकास्पद भएको थाहा पाउँदा पाउँदै पनि बैंकले त्यसपछि किन ती कम्पनीलाई कारोबार गर्न दिने गरी बैंकमार्फत प्रतितपत्र खोलिदिएर सहयोग गर्‍यो त ? इमेलमार्फत सोधिएको यो प्रश्नको जवाफ दिंदै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका ‘ब्रान्ड एण्ड मार्केटिङ हेड’ (कर्पोरेट अफेयर्स) प्रनु सिंहले भनिन्, “हामीले कुनै पनि शंकास्पद कारोबारबारे गरेको निवेदनको पुष्टि गर्न सक्दैनौं, अथवा कुनै ग्राहकविशेषको बारेमा टिप्पणी गर्न सक्दैनौं । तर, जे भएतापनि बैंकले वित्तीय अपराधको जोखिमका आधारमा ग्राहकसँगको सम्बन्ध तोड्न भने सक्छ ।”

दुई महिनाअघिको ‘फिनेसन फाइल्स’ खुलासामा नेपालका विभिन्न कम्पनीले शंकास्पद कारोबार गरेकोमा तिनमा नेपालका बैंकहरूको पनि संलग्नता रहेको देखिएको थियो । तर यस सम्बन्धमा अहिलेसम्म सरकारी निकाय आधिकारिक रूपमा मौन देखिएका छन् । पूर्व अर्थ सचिव शान्तराज सुवेदी भन्छन्, “फिनसेन भन्ने संस्था हाम्रो वित्तीय जानकारी इकाइ (एफआईयू) जस्तै हो । सम्पत्ति शुद्धीकरणका मामिलामा उसले नेपालसँग सम्बन्धित केही तथ्यहरू औंल्याइसकेको छ । जुनसुकै माध्यमबाट भए पनि नेपालको नाम देखिइसकेपछि हामी गम्भीर भएर अनुसन्धान गर्ने र दोषी देखिए कारबाहीमा जानुपर्छ ।” सुवेदीका विचारमा, उनीहरूको आफ्नै प्रणाली हावी भएका कारण कतिपय गलत विवरण पनि समावेश गरेका हुनसक्छन् । तर, उसले औंल्याएको कुरा सही हुन् भने तत्कालै ‘करेक्सन’ गर्ने वा कानून अनुसार कारबाही गर्नुपर्छ, यदि त्यस्तो हैन भने ‘डिफेन्स’ गर्नुपर्छ । यसरी मौन बस्नु हुन्न । मुलुकको अन्तर्राष्ट्रिय साखमा असर गर्छ ।

भुषण यादव ,वीरगञ्जबाट 

(साभारः खोज पत्रकारिता केन्द्र)

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु