fbpx
corona information

गृहपृष्ठ नेपालमा एक लाख किलोभन्दा बढी फेसमास्क आयात

नेपालमा एक लाख किलोभन्दा बढी फेसमास्क आयात

चीन विश्वकै सर्वाधिक मास्क निर्यातकर्ता

Mask_NewsKarobar

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीपछि नेपालमा विगत ७ महिनाको अविधमा ६१ करोड ३७ लाख रूपैयाँ मूल्यबराबरको १ लाख किलोभन्दा अधिक फेसमास्क आयात भएको छ ।

गत चैतदेखि असार मसान्तसम्म ७३ हजार १९९ किलो फेसमास्क आयात भएकोमा साउनदेखि असोजसम्म २७ हजार १७१ किलो मास्क आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।विभागका तथ्यांकमा साउनदेखि असोजका अवधिमा थप ३ अर्ब ९३ करोड ७० हजार पिस मास्क आयात भएको देखिन्छ ।

भन्सार मूल्यांकन गरिएको मूल्यगत आधारमा गत चैतदेखि असारसम्म ३५ करोड ८६ लाख रूपैयाँ मूल्यबराबरको मास्क आयात भएकोमा साउनदेखि असोजको अवधिमा २५ करोड ५७ लाख रूपैयाँबराबरको मास्क आयात भएको छ ।

‘कोभिड-१९ महामारीभन्दा पूर्व फेसमास्कलाई छुट्टै वर्गीकरणमा राख्ने गरिएको थिएन, मेडिकलका साधन वा अन्य बुनिएका कपडाको हार्मोजनाइजेसन कोडमा सानो अनुपातमा आयात हुन्थ्यो, भन्सार विभागका निर्देशक शिशीर घिमिरेले भने, ‘चैतपछि फेसमास्कको एचएस कोड राखेर यसका विवरण राख्न थालिएको हो ।’

भन्सार विभागको तथ्यांकअनुसार विगत ७ महिनाका अवधिमा सर्वाधिक चीनबाट ९२ हजार किलो र थप १ करोड ९८ लाख पिस फेसमास्क आयात भएको छ भने भारतबाट  ७ हजार ४८८ किलो र थप १ करोड ९४ लाख पिन मास्क आयात भएको छ । यस्तै, हङकङ,  बंगलादेश, दक्षिण कोरिया, सिंगापुर, मलेसिया, जापानलगायतका देशबाट नेपालमा मास्क आयात भएको छ ।

चीन विश्वकै सर्वाधिक मास्क निर्यातकर्ता

विश्वभरि कोभिड-१९ महामारी फैलिएसँगै त्यसबाट बच्न मास्कलाई मुख्य कवज मान्न थालिएसँगै चीन, श्रीलंका, भियतनाम, इन्डोनेसिया, बंगलादेशसहितका देशका फेसमास्क उत्पादक कम्पनीहरूलाई भ्याइ-नभ्याइ हुन थालेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले प्रकासित गरेको एक स्थितिपत्रअनुसार गत जनवरीदेखि जुनका अवधिमा मात्रै यूरोपियन युनियन, अमेरिका र जापानमा चीनबाट फेसमास्क आयात ७०८ प्रतिशतले बढेको छ । चीनले यी प्रमुख तीन बजारमा निर्यात गर्ने कुल गार्मेन्टको ४९ प्रतिशतबराबरको रकम फेसमास्ककै निर्यातबाट आर्जन गरेको आईएलओले जनाएको छ ।

यूरोपियन युनियन, अमेरिका र जापानले मात्र जनवरीदेखि जुनका अवधिमा चीनबाट २९ अर्ब अमेरिकी डलरबराबरको फेसमास्क र अन्य कपडा (टेक्सटाइल) आयात गरेको आईएलओले जनाएको छ ।

यी प्रमुख तीन ठूला बजारमा यो ६ महिनाको अवधिमा भियतानबाट फेसमास्क आयात अघिल्लो वर्षका तुलनामा २९७ प्रतिशतले बढेको भए पनि यो निर्यातबाट आर्जित रकम ९९ करोड ९० लाख अमेरिकी डलर यी बजारमा कुल भियतनामी गार्मेन्ट निर्यातको ६ प्रतिशतबराबरमात्रै भएको आईएलओले जनाएको छ ।

यी मुख्य बजारमा श्रीलंकाले गत वर्षका तुलनामा ६८७ प्रतिशत बढी, भियतनामले २९७ प्रतिशत बढी, इन्डोनेसियनाबाट १२८ प्रतिशत बढी, बंगलादेशबाट १०५ प्रतिशत, फिलिपिन्स र म्यानमारबाट ६७/६७ प्रतिशत, कम्बोडियाबाट १७ र पाकिस्तानबाट ४ प्रतिशत बढी फेसमास्क निर्यात भएको आईएलओले जनाएको छ । भारतीय फेसकमास्कको निर्यात भने २० प्रतिशतले खस्केको छ ।

प्रकाशित समय १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु