fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ पाँचखाल नगरपालिका कार्यालय प्रवेश गर्दा गुण्डागर्दी शैलीमा कर असुली

पाँचखाल नगरपालिका कार्यालय प्रवेश गर्दा गुण्डागर्दी शैलीमा कर असुली

पाँचखाल नगरपालिका कार्यालयमा सवारीसाधनसहित प्रवेश गर्ने व्यक्तिसँग कर असुली गर्ने गरेको पाइएको छ । समाज कल्याणदेखि अनेकोटसम्म जाने सडक कर उठाउने ठेक्का लिएको ठेकेदार कम्पनीले अवैध कर असुली गरेको हो ।

पाँचखाल ३ का स्थानीय सुवास पौडेलको ‘माता सीतादेवी कन्स्ट्रक्सन प्रालि’ले सडक कर उठाउँदै आएको छ । ठेकेदार कम्पनीले नगरपालिकाको राजस्व विभागसँगको मिलेमतोमा नगरपालिका कार्यालय प्रवेशद्वारमै ढाट राखेर पालिका कार्यालय जाने स्थानीयवासी र सेवाग्राहीसँग जबरर्जस्ती कर असुल गरिरहेको छ ।

पाँचखाल नगरपालिका- १३ का गोपीकृष्ण थपलियाले नगरपालिका कार्यालयमा प्रवेश गर्दा पनि कर तिर्नुपरेको गुनासो गरे । ‘नगरपालिका कार्यालयमा जान लागेको बताउँदा पनि मसँग ठेकेदारका कर्मचारीले जबर्जस्ती २५ रुपैयाँ कर असुल गरे । यसरी दैनिक सयौँ सेवाग्राहीले अनाहकमा रकम सुम्पिनु परिरहेको छ,’ उनले भने ।

त्यसैगरी, पाँचखाल १२ का धनबहादुर श्रेष्ठसँग पनि पालिका कार्यालयमा जाँदा सवारी कर असुल गरियो । यतिसम्म कि ठेकेदारले खटाएका व्यक्तिहरूले पत्रकार र अन्य सामाजिक सेवा क्षेत्रका अगुवालाई पनि कर नतिरी कार्यालय प्रवेश गर्न दिँदैनन् । ‘म अनेकोट जाने होइन, पालिका कार्यालयबाटै फर्किन्छु भन्दा पनि ठेकेदारका कर्मचारी त्यहाँ नगरपालिकाका कर्मचारीसँग पनि कर लिइन्छ, कर नदिई तपाईं जान पाउनु हुन्न भन्दै गुण्डागर्दी शैलीमा अवैध रुपले रकम असुल गरिन्छ,’ श्रेष्ठले भने । ठेकेदार कम्पनीको ‘दादागिरि’ देख्दा यो कार्य नगरपालिकाको मिलेमतो बिना ठेकेदारले गर्न नसक्ने स्थानीयवासी बताउँछन् ।

अरनिको राजमार्गबाट झण्डै २ सय मिटरभित्र पाँचखाल नगरपालिकाको कार्यालय भवन छ । तर, ठेकेदार सुवास पौडेलले पालिका कार्यालय प्रवेशमार्गमै ढाट राखेर सवारीसाधन लिएर पालिका कार्यालयमा मात्रै जाने सेवाग्राहीसँग जबरजस्ती ‘गुण्डागर्दी शैली’मा सडक करका नाममा रकम असुल गरिरहेका छन् । जबकि, समाज कल्याण-अनेकोट सडकखण्ड पालिका कार्यालयको पूर्व-दक्षिण भेगबाट मात्र सुरु हुन्छ ।

अहिले नगरपालिका भवन बनेको स्थानमा नै विगतमा समाज कल्याण परिषदले असहाय एवं अनाथ बालबालिकालाई आवास सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेको थियो । तर, अव्यवस्था र बेथितिका कारण वर्षौ पहिले त्यो संस्था बन्द भइसकेको छ ।

त्यसरी नगरपालिका कार्यालय प्रवेशद्वारमै ढाट राखेर पालिकासम्म आउने सेवाग्राहीसँग कर उठाउन दिएको सम्बन्धमा पाँचखाल नगरपालिकाकी राजश्व सहायक कुशमाया दनुवारसँग जिज्ञासा राख्दा कर उठाउने विषयमा नगरपालिका कार्यालयले हस्तक्षेप नगर्ने जवाफ फर्काइन् । ‘ठेक्का लगाउने बेलामा नगरपालिकाले स्थान तोकेर यहीँनेर ढाट राख्नुपर्छ भनेर ठाउँ तोकेको थिएन, ठेकेदार कम्पनीले चाहेको ठाउँमा ढाट राखेर सडक उपभोग कर उठाउन पाउँछ, त्यसमा हामीले हस्तक्षेप गर्ने कुरो छैन,’ दनुवारले भनिन् ।

जबकि नगरपालिका कार्यालयको पूर्व-दक्षिणतर्फबाट सुरु भएर समाज कल्याण-अनेकोट सडकखण्ड सुरु हुन्छ । नियम हेर्ने हो भने नगरपालिकाको दक्षिण-पूर्व त्यही भागमा ढाट राखिनुपर्थ्यो । त्यसो नगरेर नगरपालिकाले ठेकेदार सुवास पौडेललाई नगरपालिका कार्यालयमा आउने व्यक्तिसँग पनि अवैध रुपमा रकम असुली गर्न छुट दिएको प्रष्ट भएको स्थानीयवासीको भनाइ छ।

काठमाडौं चाबहिलका कुशकुमार ढकाल पनि पाँचखाल नगरपालिका कार्यालयमा जाँदा सडक कर बुझाएर मात्रै कार्यालय प्रवेश गर्न पाए । ‘सडक कर भनेर मसँग २५ रुपैयाँ असुल गरियो, कुरा २५ रुपैयाँको होइन, २५-२५ रुपैयाँ गर्दै कति रकम अवैध रुपमा असुली भएको छ, त्यो महत्त्वपूर्ण कुरा हो,’ ढकालले भने ।

यस विषयमा नगरका मेयर महेश खरेलसँग जिज्ञाशा राख्दा कर संकलनको विषयमा अनभिज्ञता प्रकट गरे । ‘ढाट त कार्यालय प्रवेश मार्गमै राखेको छ, पालिका कार्यालयमा आउनेसँग पनि ठेकेदार कम्पनीले कर उठाइरहेको छ भन्ने कुरा चाहिँ मलाई थाहा भएन, के रहेछ म बुझ्छु,’ खरेलले भने । कम्तिमा दैनिक दुईपटक मेयर आफैँ ओहोरदोहोर गर्ने त्यस मार्गमा ढाट राखेर पालिका कार्यालयमा मात्रै आउने सवारीसाधनसँग कर उठाइरहेको कुरा मेयर खरेलले चाल पाएकै छैन भन्ने कुरामा विश्वास गर्न कठिन रहेको स्थानीय सेवाग्राहीको टिप्पणी छ ।

मेयर खरेलको ध्यान त्यसतर्फ नपुगेर नै ठेकेदारले मनपरी ढंगबाट अवैध रुपमा नगरपालिकाका सेवाग्राहीसँग जबरजस्ती रकम उठाइरहेका हुन् भने त्यो ढाट पालिका कार्यालयबाट सुरु हुने अनेकोट सडकखण्डमा सारिसक्नु पर्ने स्थानीय सामाजिक अगुवाहरूले बताए । मेयर खरेललाई यस विषयमा जानकारी गराएको २० दिन बितिसक्दा पनि ढाट सारिएको छैन । ठेकेदारले यथावत रुपमा अवैध कर असुल गरिरहेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले सडक करको ठेक्का लगाउँदा नगरपालिकाबाट भएको यस त्रुटिलाई सच्याउँछु भनेका थिए । तर, भण्डारीले त्यो काम गर्न सकेनन् वा गर्न नपाई उनको सरुवा भयो । अहिले भण्डारी धुलिखेलस्थित मालपोत कार्यालय काभ्रेमा पुगेका छन् ।

उदयपुर नगरपालिकाबाट सरुवा भएर पाँचखाल नगरको प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका शिवप्रसाद हुमागाईंले यस विषयमा अनविज्ञता प्रकट गरे । ‘म यहाँ सरुवा भएर आएको ७-८ दिन मात्र भयो, त्यस सम्बन्धमा केही बुझ्नै पाएको छैन,’ हुमागाईंले भने ।

उपमेयर लक्ष्मी दनुवारलाई भने यस सम्बन्धमा केही पनि जानकारी नभएको बुझियो । उनलाई त ठेक्का कसले पाएको छ भन्नेसम्म ज्ञान नभएको पाइयो । उपमेयर दनुवारले यस विषयमा बुझ्ने बताइन् । ‘नगरपालिका कार्यालयमा आउने व्यक्तिसँग ठेकेदारले किन जबरजस्ती कर असुल गरिरहेको छ, त्यसबारेमा म बुझ्छु,’ उनले भनिन् ।

ठेकेदार कम्पनी माता सीतादेवी कन्स्ट्रसनले पालिका कार्यालयमा मात्र आउने सेवाग्राहीसँग जबरजस्ती कर त असुल गरिरहेकै छ, यसबाहेक उसले नगरले तोकेकोभन्दा केही बढी नै रुपैयाँ करवापत असुल गरिरहेको पाइएको छ ।

प्रकाशित समय १९:५५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु