fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ पाम आयल निर्यातको ‘पानी-फोका’ फुट्यो

पाम आयल निर्यातको ‘पानी-फोका’ फुट्यो

palm-oil

भारतले प्रशोधित पाम आयलको आयातमा लगाएको प्रतिबन्ध खुला नगरेपछि नेपालबाट हुने निर्यात ठप्प भएको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रले प्रकासित गरेको चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनाको व्यापार तथ्यांकअनुसार यो अवधिमा जम्मा ४ लाख ४३ हजार रूपैयाँको मात्र पाम आयल नेपालबाट निर्यात भएको छ ।

गत वर्षको यही अवधि (साउन-भदौ)मा नेपालबाट ३ अर्ब ६१ करोड ३८ लाख रूपैयाँ मूल्यबराबरको ३ लाख ५७ हजार केजी पाम आयल नेपालबाट निर्यात भएको थियो ।

वार्षिक आधारमा गत आर्थिक वर्ष २०७६/७७ मा१८ अर्ब ३१ करोड ७९ लाख रूपैयाँबराबरको पाम आयल निर्यात भइ नेपालबाट निर्यात हुने वस्तुहरूमध्ये पहिलो नम्बरमा परेको थियो । गत वर्षका मात्र तथ्यांक हेर्ने हो भने पाम आयलले नेपालको कुल निर्यातको १८.७५ प्रतिशतमात्र हिस्सा ओगटेको देखिन्छ ।

नेपालले आर्थिक वर्ष २०७५/७६ देखि अर्धतयारी पाम आयल नेपाल ल्याइ यहाँ सीमित प्रशोधन गरी भारत निर्यात गर्न थालेको हो । पहिलो वर्ष नेपालबाट १० अर्ब ३३ करोड रूपैयाँबराबरको पाम आयल निर्यात गरेको थियो, जसले कुल निर्यातको १०.६४ प्रतिशत हिस्सा ओगटेको थियो ।

भारतले पाम आयल किनिदिन छाडेपछि नेपालका पाम प्रशोधक कम्पनीहरू संकटमा परेपछि सरकारमार्फत यसको निर्यात खुलाइन दिन आग्रह गर्न थालेका छन् । हालैमात्र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले पाम आयलका निर्यातमा सहजीकरण गर्न सकरकारले पहल गरिरहेको बताएका छन् ।

पाम आयल प्रशोधक उद्यमीहरूका अहिले नेपालका उद्योगहरूमा करिब ७० हजार टन जति पाम आयल भन्डारणमा छ । मुख्य बजारमा निर्यात रोकिएपछि अहिले कच्चा पामका आयात नै घटेको छ । भन्सार विभागका अनुसार साउन र भदौमा ९ लाख ३६ हजार ९२६ केजी कच्चा पाम र ९७ लाख ६६ हजार २८४ लिटर कच्चा पाम आयल आयात भएको छ ।

उद्यमीहरूका अनुसार यो विगतकै अर्डरअनुसारको कच्चा पाम आयात भएको हो । अहिले ट्रान्जिटमा रहेको कच्चा पाम मात्र आयात भएको उनीहरू बताउँछन् । नेपालले इन्डोनेसिया, मलेसिया, बंगलादेशलगायका देशबाट कच्चा पाम आयात गरी यहाँ दुई वर्षयता प्रशोधन गरेर भारत निर्यात गर्ने गरेका थिए ।

नेपाल वनस्पति घ्यु, तेल उत्पादक संघका अनुसार नेपालमा हाल १९ वटा पाम आयल प्रशोधक कम्पनीहरू रहेका छन्, जसमा करिब ३० अर्ब रूपैयाँ लगानी भएको उद्योगीहरूको दाबी छ ।

पाम आयलको निर्यात ठप्प भएपछि भटमासको तेल (सोयाबिन आयल)ले पहिलो नम्बरको निर्यात वस्तुको स्थान लिएको छ ।चालू आर्थिक वर्षको पहिलो २ महिनामा ५ अर्ब ४७ करोड ९३ लाख रूपैयाँ मूल्यबराबरको ७३ लाख २९ हजार केजी सोयाबिन आयल निर्यात भएको छ, यो गत वर्षका समान अवधिको तुलनामा मूल्यका आधारमा ४९२.९ प्रतिशत वृद्धि हो । कुल निर्यातमा सोयाबिन आयलले २६. ८ प्रतिशत हिस्सा ओगटेको छ ।

गत वर्षका साउन र भदौमा ९२ करोड ४१ लाख रूपैयाँ मूल्यबराबरको ६ हजार ८१८ किलोमात्र सोयाबिन आयल निर्यात भएको थियो । गत वर्षका यही अवधिमा कुल निर्यातमा यसले ३ प्रतिशत हिस्सामात्रै ओगटेको थियो ।

प्रकाशित समय १९:१५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु