fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ चिनियाँ व्यापारीको पर्खाइमा रुद्राक्ष बजार

चिनियाँ व्यापारीको पर्खाइमा रुद्राक्ष बजार

कोरोनाभाइरस (कोभिड- १९) महामारीका कारण यस वर्ष रुद्राक्षमा लगानी भएका अर्बौं रुपैयाँ जोखिममा परेको छ । समयमै व्यवसाय सुरु हुन नसक्खा देशभरको रुद्राक्ष कारोबार प्रभावित बनेको हो ।

कृषकहरुसँग सम्झौता गरी अग्रिम बैना रकमसमेत दिएर रुद्राक्षका रुख नै ठेक्कामा लिइसके पनि यस वर्षको कारोबार लकडाउनका कारण प्रभावित भएकाले लगानी उठाउन समस्या हुने व्यवसायीहरुको चिन्ता छ । रुद्राक्ष व्यवसायी संघका अनुसार नेपालका करिब ४० जिल्लामा रुद्राक्ष उत्पादन हुने गर्छ । देशभर अर्बौं रुपैयाँको रुद्राक्ष कारोबार हुने संघले जनाएको छ ।

काठमाडौंबाहिर रुद्राक्ष कारोबारको मुख्य केन्द्रको रुपमा लिइने संखुवासभाको सदरमुकाम खाँदबारी हो । आधिकारिक तथ्यांक नभए पनि गत वर्ष खाँदबारी क्षेत्रमा ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको व्यापारीहरुको अनुमान छ । तर यस वर्ष भने समयमै कारोबार सुरु हुन नसक्दा लगानी उठाउने चिन्ता बढेको उनीहरु बताउँछन् । भोजपुरसँगको सीमानजिक भएका कारण पनि खाँदबारीमा रुद्राक्षको उल्लेख्य कारोबार हुने गर्दछ ।

लकडाउनका कारण चिनियाँ व्यापारीहरु आउन नसक्दा यस वर्ष समयमै कारोबार सुरु हुन नसकेको र अब सुरु भए पनि अघिल्लो वर्षको तुलनामा व्यापारले गति लिन समस्या हुने रुद्राक्ष व्यवसायी संघका केन्द्रीय सदस्य तथा संखुवासभाका स्थानीय व्यापारी देवराज पुरी बताउँछन् । ‘यो समयमा आधाभन्दा बढी चिनियाँ व्यापारीहरु संखुवासभा आइसकेका हुनुपर्ने हो । व्यापार चलपहल सुरु भइसक्नु पर्थ्यो । तर यसपालि बल्ल लकडाउन खुल्दैछ । फेरि पनि लकडाउन नहोला भन्न सकिन्न । यस्तोमा के व्यापार चल्ला र !’ उनले चिन्ता व्यक्त गरे । व्यवसायी पुरीका अनुसार हरेक वर्ष ६ देखि ७ सय जना चिनियाँ व्यापारीहरु संखुवासभा पुग्छन् । अहिले भने यसअघि यतै रोकिएका नगण्य संख्यामा मात्र चिनियाँहरू जिल्लामा छन् ।

करोडौं रुपैयाँ लगानी गरिसकेको व्यापारीहरु अहिले चिन्तित बनेको पुरीको भनाइ छ । भन्छन्, ‘रुद्राक्षको रुख ठेक्कामा करोडौं खर्च भइसकेको छ । औषधि लगाउँदा उत्तिकै लगानी भएको हुन्छ । अहिलेसम्म कारोबार चलेको छैन । अब पोहोरभन्दा राम्रो व्यापार चलेन भने लगानी उठाउन मुस्किल छ ।’ अहिले रुद्राक्षका समग्र बजार नै चिनियाँ व्यापारीहरुको पर्खाइमा रहेको उनले बताए ।

व्यवसायीहरुले रुद्राक्षको रुख ठेक्का लिएपछि राम्रा दानाहरु चोरी हुनसक्ने भएकाले त्यसको हेरचाह र निगरानीका लागि हेरालुहरु खटाउने गर्छन् । यसबाट समेत दर्जनौैं युवाहरुले रोजगारी पाउने गरेका छन् । यसका साथै चिनियाँ भाषामा दख्खल भएकाहरुले दोभाषेको रुपमा काम गरेर पनि मनग्गे कमाउँछन् । स्थानीय होटलहरु खचाखच हुन्छन् । यति मात्र नभएर रुद्राक्षको कारोबार बढ्दा स्थानीयस्तरमा विभिन्न व्यवसाय र आर्थिकसमेत बढ्ने गर्दछ । अधिकांश स्थानमा भदौको अन्तिम हप्ताबाट रुद्राक्षको कारोबार सुरु भइसक्छ ।

अर्का व्यवसायी कुल बराइलीले पनि रूद्राक्षमा गरेको लगानी उठाउन चुनौती बढेको बताए । यस वर्ष रुद्राक्षको दानाको आकार बढाउन महँगो औषधि व्यापक प्रयोग गरिएका कारणले पनि लगानी बढेको उनको भनाइ छ । अब केही दिनभित्रै ह्वारह्वार्ती चिनियाँहरु आइदियो भने मात्र व्यापारमा केही राहत हुने बराइली बताउँछन् । चिनियाँ व्यापारीहरुको आगमनसँगै प्रतिस्पर्धाका कारण कारोबार र मूल्य ह्वात्तै बढ्ने रुद्राक्ष कृषक र स्थानीय व्यवसायीको अपेक्षा छ ।

यस वर्ष पछिल्लो केही समययता लगातार पानी परेकाले पनि रुद्राक्षको दानाको गुणस्तरमा ह्रास पुगेको संघका केन्द्रीय उपाध्यक्ष भुपेन्द्र कार्की बताउँछन् । ‘औषधि प्रयोगले पनि यो वर्ष लगानी बढाएको छ । यही वर्ष हावापानीले पनि साथ दिइरहेको छैन,’ उनले भने, ‘कोरोना महामारी र लकडाउनले त व्यापार नै डामाडोल हुने अवस्था आइसक्यो ।’ अबको दिनमा व्यापक कारोबार नबढे यस वर्ष रुद्राक्ष कृषक र व्यवसायीलाई घाटा हुने उनको आँकलन छ ।

रुद्राक्षको रुखमा सामान्यत चार वा पाँच मुखे दाना बढी फल्छ । यस्ता दानाहरु तौलको आधारमा किनबेच हुनेगर्छ । यसभन्दा माथि जति बढी मुख हुन्छ, मूल्य पनि उति नै बढी हुनेगर्छ । मुख बढी वा कम भए पनि आकार मिलेको र राम्ररी पाकेको रुद्राक्षको मूल्य बढाबढ हुनेगर्छ । ज्वाला (दुईवटा जोडिएको) रुद्राक्षको पनि आकारअनुसार उच्च मूल्य हुने व्यापारीहरु बताउँछन् ।

बोक्रा नताछिएको, ठूला आकारका दानाहरु मुख संख्या अनुमान गरेको भरमा पनि किनबेच हुने गर्छ । यसलाई ‘ब्लाइण्ड’ हान्ने भन्ने गरिन्छ ।

प्रकाशित समय १८:५६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु