fbpx
corona information

गृहपृष्ठ कोभिड-१९ ले दिगो विकास लक्ष्य प्रभावित : योजना आयोग

कोभिड-१९ ले दिगो विकास लक्ष्य प्रभावित : योजना आयोग

NPC_NewsKarobar

राष्ट्रिय योजना आयोगले नव कोरोना भाइरस महामारी (कोभिड-१९)का कारण दिगो विकास लक्ष्य (एसडीजी)को कार्यान्वयन प्रभावित भएको बताएको छ । आयोगले हालै एसडीजीको कार्यान्वयन अवस्थाबारे तयार पारेको राष्ट्रिय कार्यान्वय प्रतिवेदनमा  २०७२ को भूकम्पपछि प्रभावित भएका नेपालका विकास प्रयासमा कोभिड-१९ले थप धक्का दिएको उल्लेख छ ।

दिगो विकास लक्ष्यको कार्यान्वयनबारे नेपालले तयार पारेको दोस्रो राष्ट्रिय प्रतिवेदन हो । प्रतिवेदनले  कोभिड-१९ महामारीले दिगो विकास लक्ष्यमा हालसम्म हासिल उपलब्धिहरूलाई मात्र कमजोर नपारी देशको सामाजिक आर्थिक स्थितिमा दीर्घकालीन असर पर्नसक्ने औंल्याएको छ ।

नेपालको अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा आश्रित रहेकाले कोभिड-१९ महामारीले अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने देखिएको हो । फागुनसम्म प्रायः आर्थिक परिसूचकहरू सन्तोषजनक भए पनि चै यता समग्र आर्थिक गतिविधिहरूमा व्यापक प्रभाव परेको आयोगले बताएको छ ।

‘यसको प्रभाव अन्य देशहरु जत्तिकै गम्भीर नहुने अनुमान भए पनि तर आर्थिक वृद्धिदरमा भएको कमीले गरिबी र रोजगारीमा सञ्चित प्रकृतिको गम्भीर असर पार्नेछ,’ आयोगले भनेको छ ।

विश्वव्यापी व्यापारमा उत्पन्न अवरोधहरू, नागरिकहरूका हिँडडुल प्रतिबन्ध, पर्यटनमा ठूलो गिरावट, विश्वव्यापी मागमातीव्र गिरावट र विश्वव्यापी अर्थतन्त्रको सुस्त वृद्धिले नेपालमा दीर्घकालीन रूपमा प्रतिकूल परिणाम ल्याउने जोखिम आयोगले औंल्याएको छ।

आर्थिक क्रियाकलापमा व्यापक गिरावटले राजस्व र कर्जा प्रवाहमा संकुचन निम्त्याउने र यसले सार्वजनिक पूर्वाधार निर्माणका कार्यदेखि निजी क्षेत्रको आर्थिक गतिविधिमा नकारात्मक असर पार्ने प्रतिवेदनमा जोखिम औंल्याइएको छ ।

प्रमुख व्यापारिक साझेदार मुलुकहरूमा माग घट्ने क्रमसँगै निर्यातमा पनि कटौती हुने आयोगको ठहर छ । यस्तै, विदेशका श्रम गन्तव्यहरूमा श्रमको माग घट्दै गइरहेको र नेपालमा आर्थिक क्रियाकलापहरूमा अवरोध सिर्जना भएसँगै बढ्दो बेरोजगारी दरले गम्भीर चुनौती खडा गर्नसक्ने आयोगले बताएको छ ।

यसैगरी, पर्यटन क्षेत्र गम्भीर रूपमा प्रभावित हुँदा यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यस उद्योगमा संलग्न हजारौं मानिसको जीविकोपार्जनमा नकारात्मक असर पार्ने औंल्याइएको छ ।

अन्य विपदहरूले जस्तै यो महामारीले यसअघि नै सबैभन्दा जोखिमपूर्ण अवस्थामा रहेका तथा विपन्न र सीमान्तकृत समूहका मानिसहरूलाई असर गरिरहेको भन्दै यसले असमानता थप विस्तार गरेको आयोगको भनाइ छ ।

प्रतिवदेनमा कोभिड-१९ महामारीले गरिबी बढाउने र महामारीको कारण रोजगारी गुमाउने ठूलो संख्याका नागरिकहरू खाद्य सुरक्षामा गम्भीर खतरा बढेको उल्लेख छ । लामो अवधिका लकडाउनका कारण आर्थिक गतिविधिहरू ठप्प भएको हुँदा दैनिक ज्यालादारी मजदुरहरूले सबैभन्दा बढी दुःख भोग्नु परेको प्रतिवेदनमा छ ।

लकडाउनसँगै बढेको खाद्य मूल्यले खाद्य सुरक्षा कमजोर भएको र गरिबी न्यूनीकरणमा हालसम्म हासिल उपलब्धी उल्ट्याउने जोखिम बढेको आयोगको ठहर छ ।

महामारीको कारण महिलाको आय र श्रमशक्ति सहभागिता दरमा पनि कमी आउने जोखिम प्रतिवेदनमा औंल्याएको छ । यसका कारण महिलाहरूले धेरै कठिनाइहरूको सामना गर्नुपर्ने र उनीहरू गरिबीको पासोमा पर्न सक्ने वा असुरक्षित हुने खतरा बढेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

लकडाउनपछि घरेलु, साना तथा मझौला उद्योग, व्यक्तिगत रूपमा सञ्चालित साना व्यवसाय र आतिथ्य उद्योग बन्द भएपछि ठूलो संख्यामा नेपालीहरू बेरोजगार भएका भन्दै यी क्षेत्रमा बढी मात्रामा महिलाहरू रोजगारीमा भएका उनीहरू जोखिममा परेका हुन् ।

यसैगरी, स्वास्थ्य क्षेत्रमा नेपालले धेरै सूचकहरुमा उल्लेखनीय प्रगति भएको हासिल गरेको भए पनि यो महामारीले ती प्रयासमा असर पारेको जनाइएको छ । विशेषगरी, खोप कार्यक्रमसहित अन्य रोगहरूको उपचार प्रक्रियामा यसको प्रतिकूल असर पारेको प्रतिवेदनमा उल्लेख छ ।

योजना आयोगले महामारीका कारण सर्वाधिक प्रभाव शिक्षा क्षेत्रमा परेको बताएको छ । लकडाउनपछि  धेरैजसो स्कूल र कलेजहरूले अनलाइन सिक्ने प्रक्रिया जारी जारी राखेका भए पनि  यो विगतको शिक्षण विधि जत्तिकै प्रभावकारी नहुने,  धनी र गरिबबीच रहेको डिजिटल डिभाइडले शिक्षामा भएको असमानता फराकिलो पार्ने जोखिम आयोगले औंल्याएको छ ।

प्रकाशित समय १५:३५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु