fbpx
corona information

गृहपृष्ठ एक वर्षमै प्रतितोला ३३ हजार बढ्यो सुनको मूल्य

एक वर्षमै प्रतितोला ३३ हजार बढ्यो सुनको मूल्य

सुनको मूल्य एक वर्षमै प्रतितोला ३३ हजार रुपैयाँ बढेको छ । २०७६ साउन १३ गते प्रतितोला ६५ हजार २०० रुपैयाँ रहेको सुन २०७७ साउन १३ गते ९८ हजार २०० रुपैयाँ पुगेको हो । सुनको मूल्यमा भएको यो वृद्धिदर ५०.६१ प्रतिशत हो ।

यसअघि सुनको मूल्यमा यति ठूलो वृद्धिदर थिएन । २०७४ साउन १३ गते ५४ हजार ४०० रूपैयाँ प्रतितोला रहेको सुन एक वर्षपछि २०७५ साउन १३ गते ५६ हजार ५०० रुपैयाँ पुगेको थियो । यो जम्मा ३.८६ प्रतिशत हो । त्यस्तै २०७५ को तुलनामा २०७६ मा सुनको मूल्यवृद्धि १५.४ प्रतिशत थियो ।

सुनको मूल्यवृद्धि शृंखला

गत आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत सरकारले सुनमा भन्सार बढाएपछि मूल्य केही प्रभावित बनेको थियो । अघिल्लो वर्ष प्रति १० ग्राम सुनमा ४२ सय रुपैयाँ तिर्दा पुग्नेमा गत आवको बजेटपछि ५ हजार तिनुपर्ने भयो । किलोमा ८० हजार रुपैयाँ फरक पर्‍यो । तर, सुनको मूल्यवृद्धिमा कर सामान्य कारणमात्र हो ।

सुनको मूल्य बढ्नुको खास कारण अन्तर्राष्ट्रिय परिस्थिति नै हो । चीन-अमेरिका व्यापार युद्ध (ट्रेड वार) पेचिलो हुँदै जाँदा सुनको मूल्य अप्रत्यासित ढंगले बढ्दै गयो । विश्वका ठूला अर्थतन्त्र भएका दुई शक्तिराष्ट्रबीचको ट्रेड वार पेचिलो बन्दै जाँदा अन्तर्राष्ट्रिय लगानीकर्ताले साविक व्यापारबाट पैसा झिक्दै सुनतर्फ लगानी गरे । ट्रेड वारको प्रभाव डलर र सुन सञ्चितिसँग जोडिन्छ । डलर सञ्चितिलाई उच्च प्राथमिकतामा राख्दै आएको चीनले अमेरिकासँगको व्यापार युद्ध उत्कर्षमा पुग्दै गर्दा सुन सञ्चितिमा जोड दियो । चीनबाट ठूलो मात्रामा सुनको माग बढेपछि अन्तर्राष्ट्रिय बजार प्रभावित भयो । विश्वभरका केन्द्रीय बैंकहरूले पनि सुनको सञ्चिति बढाएर लगे ।

त्यस्तै अमेरिकी फेडरल रिजर्भ बैंकले मातहतका सबै बैंकमा लागू हुनेगरी निक्षेपमा ब्याजदर घटायो । ब्याजदर घटेपछि ठूला-साना निक्षेपकर्ताले बैंकबाट पैसा झिकेर सुन किन्न थाले । फलतः बजार असन्तुलित भई मूल्यवृद्धिमा सहयोग पुग्यो । फेडरल रिजर्भ बैंकले गर्ने एउटा निर्णयले विश्वभरको मौद्रिक प्रणालीमा हलचल ल्याउँछ ।

भारत र पाकिस्तानबीचको ७० वर्षदेखिको कास्मिर युद्ध उत्कर्षमा पुग्दै गर्दा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भयो । डलरको मूल्य बढेसँगै सुनको मूल्यवृद्धिमा सहयोग पुग्यो । चीनसँग अमेरिकाको व्यापार युद्ध तथा इरान र उत्तर कोरियासँगको तिक्ततापूर्ण सम्बन्धले पनि उद्योग व्यवसाय क्षेत्रमा ठूलो असर पार्‍यो । सुनलाई लगानीकर्ताले ‘सेफ जोन’को रुपमा लिने गर्छन् ।

अहिले किन बढिरहेको छ ?

चीन र अमेरिकाबीचको व्यापार युद्ध अहिले पनि जारी छ । यति हो, बेला‑बेला यी दुई देशबीच अति तिक्ततापूर्ण सम्बन्ध छताछुल्ल हुन्छ, बेला‑बेला सामान्य देखिन्छ । तर, यसपटक मूल्य बढ्नुमा यी दुई देशभन्दा पनि विश्वभर फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड १९) मूल कारक हो ।

चीनको वुहान प्रान्तमा डिसेम्बर ३१ तारिखका दिन पहिलोपटक देखिएको कोभिड १९ ले केही हप्तामै विश्व छिचोल्यो । विभिन्न खालका महामारी हरेक वर्ष विश्वका कुनै न भूगोललाई ‘लक’ गरिदिन्छ, कुनै क्षेत्र निर्वाध चलिरहेका हुन्छ । यसपटक फरक परिदृश्य देखियो । विश्वका २१५ देश र क्षेत्रहरू एकैपटक ‘लकडाउन’ भए । विश्व अर्थतन्त्र महामन्दीमा धकेलियो । विश्वको आर्थिक वृद्धिदर माइनस ३ प्रतिशतभन्दा तल जाने प्रक्षेपण भइरहेका छन् ।

एकैपटक विश्व ठप्प भयो । कतिपय देशहरूले ठूलो प्रयासपछि कोरोनाबाट मुक्ति पाएका छन् । यद्यपि, ती देश त्रासबाट भने मुक्त छैनन् । आन्तरिक व्यापार व्यवसाय सञ्चालनमा ल्याएका देशहरूले पनि बाह्य व्यापार सुरु गर्न सकेका छैनन् । साना‑ठूला व्यापारी व्यवसायीले सुनमा लगानी बढाएका छन् । फलस्वरुप, सुनको माग उच्च भयो र अप्रत्यासित ढंगले मूल्य बढिरहेको छ ।

साउनका १२ दिनमै हजार वृद्धि

साउनका १२ दिनमै सुनको मूल्य प्रतितोला ६ हजार रुपैयाँले बढेको छ । साउन २ गते छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँले कारोबार भएकोमा साउन १३ गते ९८ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साउन १ गते भने सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ प्रतितोला थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेसँगै नेपालमा त्यसको प्रभाव परेको हो । कोरोनाभाइरस महामारीका कारण लगानीका अन्य क्षेत्र संकुचित भएसँगै व्यवसायीले सुनमा लगानी गरेका छन् । सुनको माग बढेसँगै मूल्य उचालिएको विज्ञहरूले बताएका छन् ।

ग्राफिक्स : डीआर

प्रकाशित समय १५:२१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु