fbpx
corona information

गृहपृष्ठ वार्षिक रु.१३ करोड अधिकको कन्डम आयात

वार्षिक रु.१३ करोड अधिकको कन्डम आयात

Condom Import_NewsKarobar

नेपालमा वार्षिक १३ करोड रुपैयाँभन्दा अधिकको कन्डम खपत हुने गरेको पाइएको छ । नेपाल सीआरएस कम्पनीले देशभित्रै अमेरिकी प्राविधिक सहयोगमा ढाल, प्यान्थर, डिजायर ब्रान्डको कन्डम उत्पादन गरे पनि त्यसले बजारको माग नधानेकै कारण विदेशबाट कन्डम आयात हुने गरेको हो ।

नेपालमा हाल भारत, चीन, थाइलान्ड, मलेसिया, कोरिया, बंगलादेश, जर्मनी, अमेरिकालगायतका देशबाट कन्डम आयात हुने गरेको छ । नेपालमा भारत सबैभन्दा ठूलो कन्डमको आपूर्तिकर्ता हो ।

आव २०७२/७३ मा  २१ करोड ११ लाख ३ हजार रुपैयाँ मूल्य बराबरको ४ लाख ५७ हजार ७ सय ७६ केजी कन्डम आयात भएको थियो भने आर्थिक वर्ष २०७३/७४ मा ११ करोड ५६ लाख रुपैयाँ मूल्यबराबरको १ लाख ८३ हजार २७७ किलो कन्डम विभिन्न मुलुकबाट आयात भएको थियो ।

आव २०७४/७५ मा यसमा वृद्धि भइ १९ करोड ९३ लाख रुपैयाँ मूल्यबराबरको ३ लाख ७ हजार ९८८ किलो कन्डम आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । आव २०७४/७५मा सबैभन्दा बढी चीनबाट १ लाख ५९ हजार किलो, भारतबाट १ लाख ३३ हजार ३३९ किलो कन्डम आयात भएको थियो ।

आव २०७५/७६ मा कन्डमको आयात अझ वृद्धि भइ १३ करोड ५३ लाख रुपैयाँ मूल्यबराबरको २ लाख २२ हजार ३०६ किलो कन्डम आयात भएकोमा चालू आर्थिक वर्षको पहिलो ११ महिना अर्थात जेठ मसान्तसम्ममा नै १३ करोड १५ लाख ४९ हजार रुपैयाँ मूल्यबराबरको १ लाख ९ हजार ५६८ कन्डम आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष २०७५/७६को समान अवधिमा १० करोड ८६ लाख रूपैयाँ मूल्यबराबरको १ लाख ९४ हजार ८४० किलो कन्डम आयात भएको थियो । कोरोना भाइरस महामारीका कारण गत चैतदेखि अबलम्बन गरिएको लकडाउनका कारण समग्र वस्तु आयात नै १५ प्रतिशतले घटेका कारण कन्डमको कुल आयात अनुपात घटे पनि मूल्यका आधारमा भने बढेको देखिन्छ । यसो हुनुका पछाडि अमेरिकी डलरको अनुपातमा नेपाली मुद्राको विनिमय कमजोर भएकाले बढी खर्च गर्नु परेको हो।

चालू आर्थिक वर्षको पहिलो ११ महिनामा भारतबाट १० करोड ७६ लाख रुपैयाँ मूल्यबराबरको ९० हजार किलो, चीनबाट ५३ लाख ८५ हजार मूल्यबराबरको ४ हजार ९०८ किलो कन्डम आयात भएको छ ।

यस्तै, मलेसियाबाट ३४ लाख ५६ हजार रुपैयाँ मूल्यबराबरको २ हजार १६९ किलो, दक्षिण कोरियाबाट ५५ लाख २५ हजार रुपैयाँ मूल्यबराबरको १ हजार ५६८ किलो कन्डम आयात भएको छ भने जर्मनीबाट ३९ किलो, बंगलादेशबाट २४ किलो, अमेरिकाबाट ३ किलो, भुटानबाट १ किलो कन्डम आयात भएको छ ।

केही समयअघि नेपाल सीआरएस कम्पनीले गरेको एउटा बजार अध्ययनले नेपाली उपभोक्ताहरूले बढी ‘ब्रान्ड’मा आधारित कन्डम खोज्ने गरेको देखाएको छ । यस्ता परिवार नियोजनका साधनमा नेपाली उत्पादन सस्ताे भए पनि ब्रान्डमुखी उपभोक्ता सोचका कारण आयात बढेको हो । विदेशी ब्रान्डका कन्डम तुलनात्मक रूपमा केही महँगा छन् ।

प्रकाशित समय १५:४७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु