गृहपृष्ठ कर्णालीमा बजेट किचलो : प्रतिपक्षको माग पूरा भएन, दुई दिनको बैठक निष्कर्षविहीन

कर्णालीमा बजेट किचलो : प्रतिपक्षको माग पूरा भएन, दुई दिनको बैठक निष्कर्षविहीन

संसदीय दल कर्णाली प्रदेशको बैठक अझै निष्कर्षमा पुग्न सकेको छैन । शनिबार र आइतबार दुईदिन दलको बैठक बसेको थियो । प्रमुख प्रतिपक्षीले बजेटमा अन्तुष्टि जनाउँदै सदन अवरुद्ध गरे पनि माग भने अझै पुरा हुन सकेको छैन ।

बैठकमा बजेटको विषयमा छलफल भए पनि निष्कर्षमा भने अझै नपुगेको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । उनका अनुसार बैठकको मुख्य एजेन्डा सरकारले ल्याएको आगामी वर्षको बजेट नै हो । ‘प्रतिपक्ष तथा सत्तापक्षकै सांसदहरु बजेटप्रति असन्तुष्ट छन् । सरकारले ल्याएको डल्लो बजेट खण्डीकरण गरी समानुपातिक रुपमा योजना वितरण हुुनुपर्ने धारणा सांसदहरुको छ,’ उनले समस्या सुनाए । सरकारले ल्याएको बजेट विषय केन्द्रितनआएकाले बजेट प्रतिको असन्तुष्टि बढेको उनले बताए । ‘सरकार हिसाब-किताब मिलाउँदै होला,’ उनले थपे, ‘दलको बैठक अझै टुंगिएको छैन ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटको किताबमा मन्त्रालयगत योजनाहरु ल्याइनुपर्ने, डल्लो बजेट खण्डीकरण गरी ल्याइनुपर्ने र चालु तथा पुँजीगत खर्चको शिर्षकहरु स्पष्ट मिलाउनुपर्ने माग सांसदहरुले राख्दै आएको उनले जानकारी दिए । सांसद धर्मराज रेग्मीले बजेटमा केही सैद्धान्तिक त्रुटि भएकाले आफूहरुले दलको बैठकमा केही सुझावहरु दिएको बताए । बैठकमा दलको तर्फबाट ३१ जना सांसदहरुको सहभागिता रहेको उनले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले आर्थिक वर्ष २०७७/२०७८ का लागि विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै संसद अवरुद्ध गरेको थियो । गत जेठ १० गते बसेको बैठकमा विभिन्न तीनवटा माग राख्दै प्रतिपक्षले संसद अवरुद्ध गरेपछि सदन अगाडि बढ्न सकेको छैन । सत्तापक्षकै सांसदहरुले समेत सरकारले आगामी वर्षका लागि विनियोजन गरेको बजेटको विरोध जनाउँदै आएका छन् । हरेक वर्षजसो कर्णाली प्रदेश सरकारले ल्याउने बजेटमा प्रतिपक्ष तथा सत्तापक्षकै सांसदहरुले विरोध गर्ने गरेका हुन् ।

काग्रेस नेता सांसद जिवनबहादुर शाहीले सरकारका तर्फबाट आफूहरुको माग पूरा गर्नको लागि कुनै पनि आश्वासन नआएको बताए । ‘हिजो मलाई दलको बैठक रोकेर बोलाइएको थियो । मैले स्पष्ट रुपमा कानुनतः जे-जे कुरा उठाइएको छ, सबै पूरा हुनुपर्ने स्पष्ट धारणा मैले राखेँ,’ उनले भने । सोमबार कार्यव्यवस्था समितिको बैठक बसी आगामी १८ गते सम्मका लागि सरकारले समयमा माग गरेको उनले जानकारी दिए । सरकारले जेठ महिनाको १५ गते पछाडि भुक्तानी नदिने भने पनि असार १५ मा समेत भुक्तानी दिइरहेको भन्दै उनले यो तरिकाले सरकार कहीँ पनि नपुग्ने बताए । हिजो केन्द्रले ठगेको कर्णाली आज कर्णालीकै नेतृत्वबाट ठगिएको उनले तर्क गरे ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रतिपक्षको माग पूरा गर्नको लागि छलफल भइरहेको जानकारी दिए । दलको बैठकमा बजेटकै विषयमा छलफल गरिरहेको उनले बताए । उनका अनुसार प्रतिपक्षीको सदन अवरोधपछि दलको बैठक बसी छलफल गर्नुपरेको हो ।

त्यसो त कर्णाली प्रदेश सरकारले हरेक वर्षजसो डल्लो बजेट ल्याउने गरेको छ । गत वर्षसमेत सरकारले डल्लो बजेट ल्याएपछि लामो समयसम्म प्रतिपक्षले सदन अवरोध गरेका कारण कागजी रुपमा मात्रै बजेट सुधारिएर आएको थियो । यो वर्षसमेत सरकारले पुरानै शैलीमा आगामी वर्षको लागि बजेट ल्याएपछि सांसदहरुले आपत्ति जनाएका हुन् ।

प्रकाशित समय १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु