गृहपृष्ठ युवालाई विदेश जान प्रोत्साहित गर्छौं, रेमिट्यान्स घट्दैन : अर्थमन्त्री

युवालाई विदेश जान प्रोत्साहित गर्छौं, रेमिट्यान्स घट्दैन : अर्थमन्त्री

yubaraj_khatiwoda फाइल तस्बिर

अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय श्रम बजार खोलिँदै गएकाले विदेश जान इच्छुक युवालाई प्रोत्साहित गरिने बताएका छन् । अन्तर्राष्ट्रिय श्रम बजार पनि खोलिँदै गएकाले रेमिट्यान्समा खासै असर नगर्ने मन्त्री खतिवडाले बताए ।

‘हामीलाई लकडाउनपछि अन्तर्राष्ट्रिय श्रम बजार के होला ? विप्रेषणको स्थिति के होला ? विप्रेषण आएन भने बैंकिङ क्षेत्रको तरलता के होला ? र विदेशी मुद्रा सञ्चितिको स्थिति के होला भन्ने चिन्त थियो,’ नेपाल उद्योग परिसंघको १७औं वार्षिक साधारण सभामा सोमबार उनले भने, ‘अहिले क्रमशः अन्तर्राष्ट्रिय श्रम बजार पनि खोलिँदै गएका छन्, युवा पनि विदेश जान इच्छुक छन्, हामी उनीहरूलाई अझै प्रोत्साहन गर्छौं, रेमिट्यान्समा खासै असर गर्दैन ।’

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आर्थिक वृद्धि संकुचित भए पनि खुकुलो बनेसँगै आर्थिक गतिविधि बढ्न थालेकाले ठूलो समस्या नआउने तर्क गरे । ‘बाहिरबाट जति युवा फर्केलान् भनेर सोचेका थियौं त्यस्तो भएन, फर्किनेको संख्या कम हुँदै गएको छ, नेपालका श्रम बजारहरू कोरोनाविरूद्ध सुरक्षित हुन थालेका छन्, अहिले पनि औसतभन्दा बढी नै रेमिट्यान्स प्राप्त भइरहेको छ, यसको राम्रो असर बैंकिङ क्षेत्रमा परेको छ, तरलतामा परेको छ,’ अर्थमन्त्रीले भने ।

लकडाउन खुकुलो पारेसँगै अर्थतन्त्रले ८० प्रतिशत लय समातेको उनले बताए । आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि सहज हुने उनको दाबी छ ।

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु