fbpx
corona information

गृहपृष्ठ रक्सी, बियर, चुरोट महँगियो

रक्सी, बियर, चुरोट महँगियो

BEER_NewsKarobar

सरकारले विदेशबाट मदिरा आयातलाई निरुत्साहित गर्न त्यसमा लाग्ने अन्तःशुल्कमा वृद्धि गरेको छ । कोरोना भाइरसजन्य आर्थिक मन्दीका कारण अन्य कर वृद्धि गर्न नसक्ने तर स्रोतको संकटमा रहेको सरकारले स्वास्थ्यका लागि हानिकारक भन्दै यी वस्तुको करमा भने वृद्धि गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यको करसम्बन्धी प्रस्ताव कार्यन्वयनमा ल्याउने ‘आर्थिक विधेयक २०७७’मार्फत ती वस्तुहरूको अन्तःशुल्क बढाइएको हो । आर्थिक ऐनमा भएको व्यवस्थाअनुसार तोकिएका केही करबाहेक अन्य करहरू तत्कालैबाट लागू हुन्छन् ।

बियरमा प्रतिलिटर १६५ रुपैयाँ अन्तःशुल्क तिर्नुपर्ने छ । यस्तै, वाइनमा लाग्ने अन्तःशुल्क पनि १२ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा ३७० र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा प्रतिलिटर ४३० रुपैयाँ तिर्नुपर्नेछ ।

यसरी नै, १५ डिग्री यूपी शक्ति भएको सबै वर्गका तयारी मदिरा (व्हीस्की, जीन, भोड्का, रम)मा  प्रतिलिटर १३२५ र प्रतिएलपी लिटर १५६० रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै, २५ डिग्री यूपी शक्ति भएका तयारी मदिराको अन्तःशुल्क तिलिटर ९९० र प्रतिएलपी लिटर १३२० रुपैयाँ पुर्‍याएको छ । यसैगरी, ३० डिग्री यूपी शक्ति भएका तयारी मदिराको अन्तःशुल्क प्रतिलिटर ९१२  छ ।

स्वदेशमा उत्पादित मदिराका हकमा तत्काल मूल्यवृद्धि नहुने भए पनि विदेशबाट आयात हुने बियर, व्हीस्की, छ्याङलाई निरुत्साहित गरिने नीतिअनुसार नेपाली बजारमा तिनका मूल्य बढ्नसक्ने आन्तरिक राजस्व विभागका एक अधिकारीले बताए ।

चुरोटको अन्तःशुल्क पनि व्यापक वृद्धि गरिएको छ । फिल्टर नभएको चुरोटमा प्रतिएम ३४६ रुपैयाँ अन्तःशुल्क कर लाग्दै आएकोमा अब ४९५ रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै, ७० एमएमसम्मको चुरोटमा प्रतिएममा ७९५ रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा अब ११३५ रुपैयाँ पुगेको छ भने ७० देखि ७५ एमएमसम्मको चुरोटमा १०२४ रुपैयाँ कर लाग्दै आएकोमा अब १४९५ रुपैयाँ तिर्नुपर्नेछ ।

यसरी नै ७५ देखि ८५ एमएमसम्मको चुरोटमा १३३६ रुपैयाँ कर लाग्दै आएकोमा २९२० रुपैयाँ र ८५ एमएमभन्दा बढीको चुरोटमा १८८६ रुपैयाँ लाग्दै आएकोमा २७१५ रुपैयाँ तिर्नुपर्नेछ ।

अन्तःशुल्कमा वृद्धि भएपछि रक्सी, बियर, चुरोट, खैनी, गुट्कालगायतका वस्तुको खुद्रा उपभोग्य मूल्यमा पनि सोही अनुपातमा वृद्धि हुनेछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले केही तयारी वस्तुहरूको भन्सार महसुल पनि बढाइएको बताए ।
‘नेपालमा आन्तरिक रुपमा उत्पादित हुँदै आएका उद्योगहरूले उत्पादन गर्ने वस्तुको कच्चा पदार्थ र विदेशबाट आयातीत तयारी वस्तुमा कच्चा पदार्थमा लाग्ने भन्सार बढी भएको गुनासो रहँदै आएकोमा अब एक तहले फरक पार्ने गरि समायोजन गरिएको छ,’ अर्थमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा डा. खतिवडाले भने ।यद्यपि, केही कच्चा पदार्थहरू अन्तिम उपभोगमा समेत प्रयोग हुने गरेकाले तिनको भने भन्सार हेरफेर नगरिएको उनले बताए ।

प्रकाशित समय १७:५७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु