fbpx
corona information

गृहपृष्ठ स्रोत संकुचित भएपछि घटाइयो बजेट आकार

स्रोत संकुचित भएपछि घटाइयो बजेट आकार

सवा ५ खर्बको घाटा बजेट

Budget 077-78_NewsKarobar

कोरोना भाइरस महामारीका कारण उत्पन्न आर्थिक संकटले स्रोत संकुचन हुने भएपछि अन्ततः अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्ष २०७६/७७ भन्दा करिब ४ प्रतिशतले बजेटको आकार घटाइ कुल ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँको घाटा बजेट प्रस्तुत गरेका छन् ।

सरकारको स्रोत समितिले १६ खर्ब ६६ अर्ब रुपैयाँको संशोधित सीमा दिएकोमा चालू वर्षमा राजस्व संकलन घटेको र बाह्य सहयोग पनि परिचालन नभएपछि त्यसभन्दा करिब १२ प्रतिशत कम राशिको बजेट ल्याइएको छ ।

चालू आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड रूपैयाँको बजेट ल्याइएकोमा कोरोना भाइरसले हाँकेको मन्दीका कारण १० खर्ब ७३ अर्ब रूपैयाँमात्र खर्च हुने अर्थमन्त्रीले संसदमा जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले मूलतः कोरोनासँग जुध्न स्वास्थ्य क्षेत्रमा लगानी केन्द्रीत गर्दै अर्थतन्त्र बहाली गर्ने कार्यक्रममा बढी बजेट छुट्याइएको बताए ।

बिहीबार संसदमा पेश गरिएको कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको कुल बजेटमध्ये चालू खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ विनियोजित छ ।

यो बजेटका लागि आन्तरिक स्रोत अर्थात राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र विदेशी अनुदानबाट ६० अर्ब ५२ करोड रुपैयाँ परिचालन गर्ने लक्ष्य राखिएको छ ।

यसबाट बजेटका लागि खर्च नपुगेपछि विदेशी ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएको छ । अर्थमन्त्री खतिवडाले आन्तरिक ऋणबाट उठाइने पैसा सबै विकास खर्चमा नै परिचालन गरिने बताए ।

स्रोतका संकटमा रहेको सरकारले सरकारको तलबभत्तालगायतका नियमित प्रशासकीय खर्चमा कटौती गर्न सकभर प्रयास गरेको देखिन्छ । यसका लागि पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीबाहेक सबैको प्रोत्साहन भत्ता, महँगी भत्ता, अतिरिक्त समय भत्तालगायतका भत्ता काटिएको छ ।

यसैगरी, प्रशासनिक खर्च कटौती गर्न विदेश भ्रमण, सवारी साधन खरिद, फर्निचर खरिद, गोष्ठी सेमिनार आदिको बजेट कटौती गरिएको छ भने सांसदहरुको निजी तजबिजमा खर्च हुने निर्वाचन क्षेत्र विकास कोषको रकममा पनि उल्लेख्य कटौती गरिएको छ ।

यद्यपि, संसदमा घोषणा गर्दा विरोध हुने आशंकाले अर्थमन्त्री डा. खतिवडाले यसबारे बजेट वक्तव्यमा एक शब्द पनि उल्ले गरेनन् । नयाँ विनियोजित बजेटअनुसार अब निर्वाचन क्षेत्र विकास कार्यक्रममा प्रत्येक क्षेत्रका लागि ४–४ करोड रुपैयाँमात्र विनियोजन हुनेछ ।

आर्थिक पुनरुत्थानका लागि विशेष कार्यक्रमको अपेक्षा वर्गका लागि भने अर्थमन्त्री खतिवडाले निराश पारेका छन् । सामान्य प्रकृतिका राहतका योजनाबाहेक विद्यमान महामारीले हाँकेको आर्थिक संकटबाट प्रत्यक्ष प्रभावित भएका लघु, घरेलु, साना तथा मझौला उद्योग–व्यवसायलाई प्रत्यक्ष सम्बोधन हुने खालका प्रभावकारी कार्यक्रम बजेटले समेटेन ।

बजेटबाट मध्यमवर्गका लागि करमा सहुलियत दिने योजना प्रतीक्षा गर्नेहरूलाई पनि अर्थमन्त्रीले निराश तुल्याए भने सामाजिक सुरक्षा कार्यक्रममा केबल विगतका भत्तालाई मात्र निरन्तरता दिने घोषणा गरे । बजेटमार्फत चुरोट, गुट्का, पान पसलामा स्वास्थ्य जोखिम कर वृद्धि, पेट्रोलियम पदार्थ र सुनमा भन्सार शुल्क वृद्धि गरिएको छ ।

बजेटको पूर्ण पाठ

https://drive.google.com/file/d/1NQpHK8b1Ik1vQelrB2HVaeM5c2aO_zK1/view?usp=sharing

प्रकाशित समय १९:४२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु