fbpx
corona information

गृहपृष्ठ राजस्व वृद्धिदर ६ प्रतिशतभन्दा कम

राजस्व वृद्धिदर ६ प्रतिशतभन्दा कम

Revenue_NewsKarobar

कोरोना भाइरस महामारी (कोभिड–१९)संकट सुरु हुनुभन्दा नै राजस्व असुलीमा कमजोर देखिएको सरकारले यो वर्ष मुश्किलले ८ खर्ब रुपैयाँमात्र राजस्व संकलन गर्नसक्ने देखिएको छ ।

चालू आर्थिक वर्षको पहिलो ९ महिना अर्थात् चैत मसान्तसम्म केबल ६ खर्ब २३ अर्ब रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ, यो गत आर्थिक वर्षको समान अवधिका तुलनामा केबल ५.७८ प्रतिशतको वृद्धिदर हो । यस वर्ष सरकारले करिब ३० प्रतिशतको राजस्व वृद्धिदर हासिल हुने महत्वाकांक्षी लक्ष्य राखेको थियो ।

कोभिड–१८ को संक्रमण विस्तार हुनुपूर्व फागुनमा ५४ अर्ब ४० करोड रुपैयाँमात्र राजस्व संकलन गर्न सकेको सरकारले घरबन्दीका कारण चैतमा ४३ अर्ब ९० करोड रुपैयाँमात्रै राजस्व संकलन गर्नसक्यो ।

चैत मसान्तलाई दोस्रो चौमासिक अन्त्य मानिन्छ र यसबेला सरकार सबै किसिमका राजस्वका किस्ताहरू दाखिला गरिन्थे, तर घरबन्दीका कारण राजस्व तिर्ने म्याद बढाइएपछि राजस्व असुली घटेको हो ।

आर्थिक वर्षको ९ महिनामा कुल आयात ७.४५ प्रतिशतले घटेपछि भन्सार राजस्व पनि अघिल्लो वर्षको यही अवधिका तुलनामा ५.५१ प्रतिशतले घटेको छ भने अन्तःशुल्क ४.६२ प्रतिशतले घटेको छ ।

चैत मसान्तसम्म पेट्रोलियम पदार्थको आयात झन्डै १२ प्रतिशतले, सवारी साधन, तिनका पार्टपुर्जा १८.६ प्रतिशतले, प्रमुख औद्योगिक वस्तु एमएस बिलेट ३३.७ प्रतिशतले, तयारी पोशाक १७.७ प्रतिशतले, कोइला २२ प्रतिशतले, सुन ४७ प्रतिशतले आयात घटेको छ ।

यस्तै, सिमेन्टको आयात झन्डै ७६ प्रतिशतले घटेको छ । फलामे छड बनाउने एमएस बिलेट, सिमेन्ट उत्पादनमा प्रयोग हुने क्लिंकर र कोइलासमेतको आयात घट्नु औद्योगिक उत्पादनसँगै विकास निर्माणसमेत ठप्प भएको सूचक हो ।

चैत १० अगावै आर्थिक गतिविधि सामान्य अवस्थामा चलेको थियो । पहिलो ८ महिनाको गतिविधिका आधारमा ९ महिनाको अन्त्यमा मूल्य अभिवृद्धि कर (भ्याट) भने करिब २ प्रतिशतले र आयकर १५.१ प्रतिशतले बढेको देखिन्छ ।

चैतसम्म शिक्षा सेवा शुल्क गत आर्थिक वर्षको समान अवधिको तुलनामा करिब ४१ प्रतिशतले घटेको छ । पहिलो ९ महिनामा सरकारले १ खर्ब ७५ अर्ब भ्याट, १ खर्ब ९ अर्ब भन्सार, ८३ अर्ब १० करोड अन्तःशुल्क र १ खर्ब ५७ अर्ब ७५ करोड रुपैयाँमात्र राजस्व असुल गर्न सकेको छ ।

प्रकाशित समय १५:४१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु