गृहपृष्ठ लकडाउनका दुई सातामा भित्रियो साढे २५ हजार टन खाद्यान्न

लकडाउनका दुई सातामा भित्रियो साढे २५ हजार टन खाद्यान्न

Grains_NewsKarobar

कोरोना भाइरस महामारीको संक्रमण विस्तार रोक्नका लागि सरकारले लगाएको लकडाउनको १३ दिनको अवधिमा मुलुकमा २५ हजार ७७० टन खाद्यान्न आयात भइ भित्रिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चैत २३ गतेसम्म मुख्य भन्सार नाकाहरू वीरगन्ज, भैरहवा र काँकडभिट्टाबाट यो अनुपातको खाद्यान्नसहित ११ हजार ९३ मेट्रिक टन दलहन, १६ हजार ४१ टन तरकारी, ३ हजार ५०५ मेट्रिक टन मेट्रिक टन फलफूल र ३० मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।

यसबाहेक ६ करोड ७८ लाख २१ हजार रुपैयाँ मूल्यबराबरको औषधिको कच्चा पदार्थ र ६२ हजार रुपैयाँ मूल्यबराबरको तयारी औषधि पनि आयात भएको छ ।

सरकारले लकडाउनका अवधिमा पनि यी अत्यावश्यक वस्तुहरूको आयात सुचारु राख्ने निर्णय गरेको थियो । मुलुकमा उत्पादित खाद्यान्नले आन्तरिक माग धान्न नसक्ने कारण नेपालले हरेक वर्ष अर्बाैंको खाद्यान्न, तरकारी, फलफूल आयात गर्दै आएको छ ।

चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ८ महिनामा अर्थात फागुन मसान्तसम्म ३७ अर्ब रूपैयाँ मूल्यबराबरको खाद्यान्न, २० अर्ब ५८ करोड रूपैयाँ मूल्यबराबरको तरकारी तथा १५ अर्ब ८१ करोड रूपैयाँ मूल्यबराबरको फलफूल आयात गरिसकेको छ ।

फागुन मसान्तसम्म २१ अर्ब ८३ करोड रुपैयाँबराबरको धान चामल आयात भएको छ । नेपालमा चीन, भारत, थाइल्यान्ड, दक्षिण कोरिया, जापानलगायतका मुलुकबाट धान चामल आयात हुन्छ ।

गत आर्थिक वर्ष २०७५/७६ को पहिलो ८ महिनामा ३६ अर्ब ७१ करोड रूपैयाँ मूल्यबराबरको खाद्यान्न, १९ अर्ब ७१ करोड रूपैयाँ मूल्यबराबरको तरकारी तथा १३ अर्ब ५१ करोड रूपैयाँ मूल्यबराबरको फलफूल आयात भएको थियो ।

पहिलो ८ महिनामा समग्र २.६२ प्रतिशतले घटेको भए पनि कृषिजन्य आयात भने बढेको देखिन्छ ।

सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमातहतमा देशका १४ वटा मुख्य गोदाम तथा तीबाहेक २३ जिल्लामा २ करोड ३३ लाख १५२ मेट्रिक टन धान–चामल रहेको र यो अनुपातको धान–चामलले ३ महिनाको माग धान्न पर्याप्त रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल साल्ट ट्रेडिङ लिमिडेडसँग ७० लाख ६ हजार किलो चिनी र १ लाख १७ हजार २०६ मेट्रिक टन नुनको मौज्दात छ भने थप ४० हजार मेट्रिक टन नुन आयातको क्रममा ट्रान्जिटमा छ । नुनको यो मौज्दातले १० महिनाको माग धान्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु