fbpx
corona information

गृहपृष्ठ ‘डल्लो बजेट’ फोड्न सांसदहरुको माग, प्रतिवद्धता कार्यान्वयन नभएको आरोप

‘डल्लो बजेट’ फोड्न सांसदहरुको माग, प्रतिवद्धता कार्यान्वयन नभएको आरोप

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्यहरुले भौतिक पूर्वाधार विकास मन्त्रालयको डल्लो बजेटलाई शिर्षकगत रुपमा विनियोजना गर्न माग गरेका छन् । मन्त्रालय र मुख्यमन्त्रीले बजेट विनियोजन गर्दा व्यक्त गरेकोे प्रतिवद्धता कार्यान्वयन नभएको सत्तापक्षका सांसदहरुको आरोप छ ।

गत असारमा बजेट आएपछि सत्तापक्षकै सांसदहरुले त्यसमा असन्तुष्टि व्यक्त गर्दै हस्ताक्षर बुझाएका थिए । उक्त हस्ताक्षर संकलनपछि सबैका योजना समेटेर प्रभावकारी बजेट कार्यान्वयनमा लैजान भएको सहमति पालना नगरिएको भन्दै सांसदहरुले फेरि असन्तुष्ट बनेका हुन् ।

प्रदेशसभा सदस्य महेश दत्त जोशीले बजेटमा प्रभावकारिताका विषयमा गरिएको सहमति कार्यान्वयन नभएको बताए । बजेटमा अर्धवार्षिक समय बितिसक्दा पनि डल्लो बजेटलाई कार्यान्यनका लागि अघि लैजान नसकेको भन्दै सांसदहरुले भौतिक पूर्वाधार विकास मन्त्रालयको आलोचनासमेत गरेका छन् । बजेटलाई सन्तुलित बनाउन बजेट पुनः विनियोजन गर्नुपर्ने प्रदेशसभा सदस्य पूर्णा जोशीले माग गरिन् ।

कार्यक्रम लागू गर्न निर्देशन

प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले ‘एक जिल्ला एक सडक’ योजनालाई कार्यान्वयनमा ल्याउन पनि प्रदेश सरकारलाई निर्देशन दिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा समेटेको सो कार्यक्रम तत्काल लागू गर्न भौतिक पुर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति हर्कबहादुर कुँवरले बताए ।

‘बजेटलाई सन्तुलित बनाउन, प्रदेश बस सेवा सुचारु गर्न र बजेट खर्चलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएका छौँ,’ उनले भने, ‘सरकारले आर्थिक वर्षको ७ महिना बित्दासम्म विकास बजेट खर्च न्यून गरेको छ, हामीले सरकारलाई समयमै वजेत खर्च गर्न निर्देशन दिएका छौँ ।’

झण्डै ९ अर्ब बजेटमध्ये मन्त्रालयले ८ अर्ब बजेट विकासतर्फ विनियोजन गरेको छ । तर धेरै योजनाहरुमा भने शून्य बजेटका समेत रातो किताबमा अटाएका छन् । ती योजनामा प्राथमिकताका आधारले बजेट खर्च गर्नेगरी मन्त्रालयले गरेको तयारीमा सांसदहरु असन्तुष्ट देखिएका हुन् ।

प्रकाशित समय १९:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु