fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ आयात ४ प्रतिशतले घट्दा व्यापार घाटा ६ प्रतिशत कम

आयात ४ प्रतिशतले घट्दा व्यापार घाटा ६ प्रतिशत कम

Trade_NewsKarobar

चालू आर्थिक वर्षको अर्ध-वार्षिक अवधिमा आयात ४ प्रतिशतले घट्दा समग्र व्यापार घाटा ६ प्रतिशतले कम भएको छ ।

अर्थमन्त्रालयद्वारा शुक्रबार सार्वजनिक गरिएको पहिलो ६ महिनाको आर्थिक समीक्षाअनुसार पुस मसान्तसम्म ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्ष २०७५÷७६ को तुलनामा यो ४.०४ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षमा आयात त्यसभन्दा अघिल्लो वर्षको तुलनामा ३०.५ प्रतिशतले बढेर ७ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ पुगेको थियो ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा निर्यात २६.१ प्रतिशतले बढेर ५७ अर्ब २८ करोड रुपैयाँ पुगेसँगै घटेको आयात र बढेको निर्यातले व्यापार घाटा पनि ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ कायम भएको छ । यो गत आवको तुलनामा ६ प्रतिशत कम हो ।

अर्थमन्त्रालयका अनुसार चालू आवको पहिलो ६ महिनामा डिजेलको आयात १०.९ प्रतिशतले, एमएस बिलेटको आयात ४२.२ प्रतिशतले, एचआर सिटको आयात ०.२ प्रतिशत घटेको छ ।
पुस महिनासम्म प्रमुख व्यापार साझेदारहरूमध्ये भारतबाट हुने आयात ९.१ प्रतिशतले, चीनबाट हुने आयात १२.१ प्रतिशतले घटेको छ भने अन्य देशबाट हुने आयात ०.४ प्रतिशतले बढेको छ ।

पुससम्म भारतबाट ४ खर्ब २३ अर्ब ८३ कराेड रूपैयाँकाे र चीनबाट १ खर्ब १८ अर्ब २५ करोड रूपैयाँको वस्तु आयात भएको छ ।

निर्यातको मुख्य हिस्सा पाम आयलले नै ओगेटेको छ । पहिलो ६ महिनामा नेपालबाट सर्वाधिक निर्यात भएका पाँच वस्तुमध्ये पहिलोे नम्बरमा पाम आयल परेको छ, जुन गत आर्थिक वर्षको ६ महिनाका तुलनामा ४९२ प्रतिशतले बढेको छ ।

गत वर्ष पुस मसान्तसम्म २ अर्ब ३५ करोड रुपैयाँको पाम आयल निर्यात भएकोमा यस वर्ष सोही अवधिमा १३ अर्ब ९० करोड रुपैयाँको पाम आयल निर्यात भएको छ ।

पाम आयल निर्यातको मुख्य बजार भारत हो । सोही कारण भारततर्फको समग्र निर्यात पनि ४८.८ प्रतिशतले बढेको अर्थमन्त्रालयको विवरणमा उल्लेख छ ।

पाम आयलमा गत महिनादेखि भारतले आयतमा प्रतिबन्ध लगाएपछि अब भने यसको निर्यात खुम्चने स्पष्टै छ । हालैमात्र भारतीय सञ्चारमाध्यमहरूसँगको अन्तर्वार्तामा अर्थमन्त्री डा. युवराज खतिवडाले पाम आयलको आयातमा भारतले प्रतिबन्ध लगाएपछि यसको असर नेपालमा परेको प्रतिक्रिया दिएका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका पाम आयल प्रशोधकहरूको लबिङपछि यसको निर्यात फुकुवा गराउन लागिपरेको छ, तर भारतीय पक्षले रातो झन्डा देखाइसकेको छ ।

प्रकाशित समय १६:३९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु