fbpx

गृहपृष्ठ तपाईं इलम गर्छु भन्नुस्, पूर्वाधार हामी बनाइदिन्छौं : मुख्यमन्त्री गुरुङ

तपाईं इलम गर्छु भन्नुस्, पूर्वाधार हामी बनाइदिन्छौं : मुख्यमन्त्री गुरुङ

gandaki-cm-newskarobar

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जाँगर चलाएर इलम गर्न चाहनेका लागि आवश्यक वातावरण बनाइदिन प्रदेश सरकार तयार रहेको बताएका छन् । जनताकै सुविधाका लागि संघीयतामार्फत प्रदेश सरकार बनेको भन्दै मुख्यमन्त्री गुरुङले कृषि, उद्योग, व्यापार आदि क्षेत्रमा काम गर्न चाहने जनताका लागि सबै प्रकारको पूर्वाधारको ग्यारेन्टी गरिने स्पष्ट पारे ।

पोखरा महानगरपालिका २८ माझठानामा बनेको खेल मैदान तथा सहिद थमन परियार स्मृति भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले आफ्नै ठाउँमा केही गर्न चाहनेलाई प्रोत्साहन गरिने बताए । ‘तपाईं के गर्न चाहनुहुन्छ, हामीलाई भन्नुस्, कृषिमा केही चाहनुहुन्छ, तपाईलाई मोटरबाटो चाहिएला, हामी बनाइदिन्छौं, बीउहरु हामी उपलब्ध गराउँछौं, उत्पादन भएको सामानका लागि कोल्डस्टोर बनाइदिन्छौं,’ उनले भने, ‘तपाईं इलम गर्नोस्, आवश्यक पूर्वाधार हामी बनाइदिन तयार छौं ।’

प्रदेश सरकारले उद्योग तथा व्यापार व्यवसायका लागि आवश्यक वातावरण बनाइदिने उनले प्रस्ट पारे । ‘उद्योगका लागि विद्युत चाहिएला, कच्चा पदार्थ र सामान बोक्न बाटो चाहिएला, बजार चाहिएला, त्यो सबै बनाउन हामी लागिपरेका छौं,’ उनले थपे, ‘व्यापार गर्न पनि के–के चाहिन्छ, त्यो पूर्वाधार हामी बनाइदिन्छौं ।’ पाँच वर्षभित्र प्रदेशलाई खाद्यान्न आत्मनिर्भर बनाउने उद्देश्यका साथ सरकार अगाडि बढेको भन्दै उनले गाउँका बाँझो बारी हरियाली नभएसम्म उद्देश्य पूरा हुन सम्भव नभएको बताए ।

जनताको आधारभूत आवश्यकता पूरा गर्न पनि प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री गुरुङको भनाइ छ । शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक सेवा चाँडै जनताका लागि सर्वसुलभ बनाइने उनले बताए ।

नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले सहिदले देखाएको सपना साकार पार्न सके सहिदप्रति सच्चा सम्मान हुने विचार राखे । बुधबारदेखि सुरु भएको भलिबल प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

प्रकाशित समय २०:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु