fbpx

गृहपृष्ठ बैंकलाई ब्रोकर लाइसेन्सको विषय तिहारलगत्तै टुंग्याउँछौं : मेटमणि चौधरी

बैंकलाई ब्रोकर लाइसेन्सको विषय तिहारलगत्तै टुंग्याउँछौं : मेटमणि चौधरी

metmani-chaudhari-newskarobar

वाणिज्य बैंकलाई सहायक कम्पनी खोलेर ब्रोकर लाइसेन्स नदिन संसदको अर्थ समितिले अनेक प्रपञ्च सुरु गरेको छ । साउन ३० गते नेपाल स्टक एक्सचेन्ज नेप्सेमार्फत प्रक्रिया स्थगत गराएको समितिले दुई महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउन गठन गरेको उपसमितिले अझै काम सुरु नगर्नुले सांसदहरुको नियत छर्लंग भएको हो ।

समिति गठन भएको दुई महिनामा अध्ययन प्रतिवेदन बुझाउने भनिए पनि एउटै बैठक नबसी दुई महिना गुज्रिएको छ । उपसमितिका सदस्य मेटमणि चौधरीलाई समय गुज्रिएको हेक्कासम्म छैन ।

 

सांसद चौधरीसँगको टेलिफोन वार्ता :

प्रश्न : सांसदज्यू ! बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन गर्न गठित समितिको सदस्य हुनुहुन्छ, काम कहाँ पुर्‍याउनुभयो ?

उत्तर : अब तिहारपछि भटाभट १०-१२ वटा मिटिङ बस्छौं र यो विषयलाई टुंग्याउँछौं ।

 

प्रश्न : उपसमितिले पाएको दुई महिनाको समय सीमा त सकियो, समयमा किन काम गर्नु भएन ?

उत्तर : हो र ! दुई महिना बितिसक्यो र ?

 

प्रश्न : तपाईं उपसमिति सदस्य हुनुहुन्छ, समय सकिएको बारेमा मैले जानकारी गराइदिनुपर्ने सांसदज्यू ?

उत्तर : सरी ! यसको लागि म एकदमै लज्जित छु ।

 

प्रश्न : नीति निर्माताहरुको यस्तै शैली र गैरजिम्मेवारीका कारण आयोजनाहरु ‘मेलम्ची’ बन्ने गरेका छन्, यसमा किन सुधार आउँदैन ?

उत्तर : अब गल्ती दोहोरिँदैन, तिहारपछि भटाभट मिटिङ बसेर टुंग्याइहाल्छौं ।

 

प्रश्न : साउनयता कति पटक मिटिङ बस्नुभयो ?

उत्तर : एक-दुई वटा बसेका छौं ।

 

प्रश्न : नढाँटी भन्नुस् त, कति वटा मिटिङ गर्नुभयो ? एउटा कि दुइटा ?

उत्तर : अनौपचारिक मिटिङ एक-दुई वटा बसेका छौं ।

 

प्रश्न : मिटिङ को-को सँग गर्नुभयो ?

उत्तर : बैंकहरुसँग अनौपचारिक मिटिङ गरेका छौं ।

 

प्रश्न : कुन-कुन बैंकसँग गर्नुभयो ? भन्न मिल्छ प्लिज ?

उत्तर : गरेका छौं, राष्ट्र बैंक छ नि (हाँसो) !

 

प्रश्न : ब्रोकर कम्पनीसँग त मिटिङ हैन नि ?

उत्तर : होइन, त्यस्तो छैन ।

 

प्रश्न : बैंकलाई लाइसेन्स नदिने प्रपञ्च त भइरहेको छैन ?

उत्तर : छैन, छैन । अब तिहारपछि लगातार मिटिङ बस्छौं र प्रतिवेदन बुझाउँछौं ।

०००

बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोक्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि अग्रसर भएको छ । लाइसेन्स दिने विषयमा अर्थ समितिमा छलफलपछि अध्ययनका लागि उपसमिति गठन भएकै आधारमा नेप्सेले प्रक्रिया स्थगन गरेको हो ।

बैंकलाई सहायक कम्पनी खोलेर लाइसेन्स लिनका लागि कार्यविधि बनाएर नेप्सेले साउन १६ गते आवेदन माग गरेको थियो । नेप्सेले कार्यविधि बनाएर आवेदन माग गरेपछि ७ बैंक ब्रोकर लाइसेन्सका लागि प्रक्रियामा सहभागी भइसकेका छन् । तर, संसदीय समितिमार्फत ब्रोकरहरुले अर्थ समिति गुहारेसँगै प्रक्रिया अवरुद्ध भएको छ ।

ब्रोकर कम्पनीहरुले दबाब बढाएपछि साउन २९ गते अर्थ समितिमा नेपालको पुँजीबजारको विद्यमान अवस्था र वाणिज्य बैंकहरुका सहायक कम्पनीहरुलाई धितोपत्रको ब्रोकर लाइसेन्स प्रदान गर्न भए गरेका निर्णय, सूचना परिपत्र तथा भावी योजना सम्बन्धमा छलफल भएको थियो । अर्थसचिव राजन खनाल, राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाललगायतको उपस्थितिमा भएको छलफलपछि समितिले सिधै नेप्सेलाई पत्र पठायो । समितिको पत्र पाएपछि सञ्चालक समिति बैठक बसी नेप्सेले प्रक्रिया स्थगन गरेको हो ।

बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने विषयमा वर्षौंदेखि कुरा उठाउँदै आएका सेयर विश्लेषक रविन्द्र भट्टराई सांसदहरुको गलत नियतले राम्रा काममा पनि अवरोध हुने गरेको बताउँछन् । नेप्सेका केही कर्मचारी, पदाधिकारी र ब्रोकर कम्पनीहरुको सांसदसँगको मिलेमतोका कारण लाइसेन्स रोक्ने प्रपण्च भइरहेको उनले बताए । ‘ब्रोकर कम्पनीहरुले चुनाव लड्न आर्थिक सहयोग गरेको जानकारी मैले धेरै पाएको छु,’ उनी भन्छन्, ‘बैंकलाई लाइसेन्स नदिएर सांसदहरुले त्यो गुन तिर्ने प्रयास गरेका हुनसक्छन् तर त्यो सम्भव छैन ।’

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रेवतबहादुर कार्की आफ्नो कार्यकालमा कुनै पनि हालतमा बैंकलाई ब्रोकर लाइसेन्स दिलाउने पक्षमा थिए । तर, संसदीय समितिले उनको कार्यकाल सकिने गरी दुई महिना अवरोध गरिदिएपछि बोर्डलाई अब हाइसञ्चो भएको छ । धितोपत्र बोर्डको केही पदाधिकारी र माथिल्लो तहका कर्मचारी पनि बैंकलाई ब्रोकर लाइसेन्स दिन नहुने पक्षमा छन् ।

समितिले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन गर्न भन्दै सांसद झाँक्रीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको थियो । समितिलाई दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन दिइएको समय सीमा असोज ३० गत सकिएको छ । समितिमा सांसदहरु चौधरी, हेमकुमार राई, रामबाबुकुमार यादव र प्रमिला राई सदस्य छन् ।

सम्बन्धित समाचारहरू

ब्रोकर लाइसेन्सका लागि ७ बैंकको आवेदन

बैंकलाई ब्रोकर लाइसेन्स नदिन ‘राजनीतिक दबाब’

बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोक्नु भनेका छैनौं : सांसद झाँक्री

प्रकाशित समय १५:०२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु