गृहपृष्ठ कार्यविधि नबन्दा दुई महिनादेखि बसपार्क अलपत्र

कार्यविधि नबन्दा दुई महिनादेखि बसपार्क अलपत्र

surkhet-buspark-newskarobar

निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि सुर्खेत बसपार्क सञ्चालनमा आउन सकेको छैन । बसपार्क व्यवस्थापनका लागि समयमै कार्यविधि नबन्दा सञ्चालनमा ढिलाइ भएको हो । लामो समयसम्म निर्माणको काममै अल्झिएको सुर्खेत सिटि बसपार्क निर्माण सम्पन्न हुँदा समेत सञ्चालनमा नआउँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार बसपार्क सञ्चालनका लागि निर्माण भएको कार्यविधि कार्यापालिकामा छलफल सकेर संशोधनको क्रममा छ । ‘बसपार्क व्यवस्थापन कार्यविधि २०७६ निर्माण भई कार्यपालिकाको बैठकमा छलफलसमेत सकिएको छ,’ उनले भने, ‘कार्यपालिकाको बैठकबाट केही संशोधन परेकाले अबको एक–दुई दिनमै स्वीकृत भई लागू हुन्छ, त्यसपछि बसपार्क सञ्चालनका लागि टेन्डर आह्वान हुन्छ ।’

बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा बसपार्कमा कति भाडा उठाउने, काउन्टर वितरण कसरी गर्ने, पार्किङको व्यवस्थापन कसरी गर्ने र शुल्क कति निर्धारण गर्ने, व्यवसाय सञ्चालन तथा फोहोरलाई कसरी व्यवस्थापन गर्नेलगायतका कुरा समेटिनेछन् ।

सुर्खेत बसपार्क २०६८ सालदेखि निर्माण सुरु भएको हो । सुर्खेत बसपार्कको काम राम्रोसँग अघि नबढेपछि २०७२ सालमा च्याङ्भिला नरसिंह जेभी निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । करिब ७ करोड ४४ लाख लागतमा सुर्खेत बसपार्क निर्माण भएको वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार नगर विकास कोषको ऋणमा बसपार्क बनेको हो ।

निर्माण कम्पनीले समेत बसपार्क निर्माणका क्रममा पटक–पटक म्याद थप गरी काम सम्पन्न गरेको अधिकारीले बताए । सुर्खेतमा निर्माण गरिएको सिटी बसपार्कमा व्यवसाय सञ्चालनका लागि ५४ वटा सटर, शौचालय, गार्डेन, गाडी मर्मतका लागि वर्कसप, टिकट काउन्टर छन् ।

वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले कार्यविधि नबन्दासम्म बसपार्क सञ्चालन गर्न नमिल्ने बताइन् । समयमै बसपार्क सञ्चालनमा नआउँदा सुर्खेतबाट विभिन्न स्थानमा यात्रा गर्ने यात्रु तथा सवारी चालकसमेत मर्कामा परेका छन् । साँघुरो बसपार्क तथा वर्षाको समयमा हुने हिलो र खडेरीको धुलोका कारण सर्वसाधारणले सुर्खेत बसपार्कमा ठुलो हैरानी बेहोर्दै आएका छन् ।

प्रकाशित समय १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु