fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ आधाभन्दा कम बैंक खातामात्रै सक्रिय

आधाभन्दा कम बैंक खातामात्रै सक्रिय

Bank account_NewsKarobar

सरकारले हरेक व्यक्तिको बैंक खाता खुलाउने घोषणा गरिरहेका बेला बैंकमा खुलेका खाता पनि पूरै सक्रिय नभएको पाइएको छ । नेपाल राष्ट्र बैंकको बैंकिङ पहुँचसम्बन्धी विवरणअनुसार बैंकिङ प्रणालीमा खुलेका खाताहरूमध्ये औसतमा ५८ प्रतिशत खातामात्रै सक्रिय छ ।

राष्ट्र बैंकले बैंकिङ पहुँच बढेको देखाउनका लागि क वर्गका वाणिज्य बैंकदेखि घ वर्गका लघुवित्त संस्थामा खुलेका खातासमेत जोड्ने गर्छ । यसअनुसार गत आर्थिक वर्ष २०७५/७६को अन्त्यसम्म देशभरि २ करोड ३९ लाख ६० हजार बचत खाता खुलेका छन् ।

राष्ट्र बैंकले वित्तीय पहुँच पोर्टलका अनुसार कुल जनसंख्याको ८९ प्रतिशतमा बैंकिङ पहुँच पुगेको छ । केन्द्रीय बैंकका अनुसार अहिले ७७ वटै जिल्लामा क वर्गका वाणिज्य बैंकदेखि लघुवित्त संस्थाका समेत गरेर बैंकिङ पहुँच पुगेको छ ।

विभिन्न बाध्यताका कारण बैंकमा खाता खोल्ने गरिएको भए पनि कुल खुलेका खातामध्ये पुरुषहरूको ४८ प्रतिशत र महिलाहरूको २७ प्रतिशतमात्र बैंक खाता सक्रिय छन् । महिलाहरूको कुल खातामध्ये ७३ प्रतिशत निष्क्रिय रहनु भनेको उनीहरू बैंकिङ प्रणालीभन्दा बाहिरबाट नगदमा आधारित कारोबार गर्छन भन्ने देखिन्छ ।

कुल खुलेकामध्ये ५८ प्रतिशतमा बचत खातामा नियमित काराेबार हुन्छ । याे क्रम सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको छ । यसका मुख्य कारण लघुवित्त कारोबार हो । हरेक महिना लघुवित्तमा अनिवार्य बचत गर्नुपर्ने भएकाले ग्रामीण क्षेत्रका बचत खाता बढी सक्रिय देखिएका हुन् ।

गत  वैशाखमा सरकारले सबै नागरिको बैंक खाता भनेर तामझामका साथ अभियान सुरु गरेको र तत्कालका लागि केही बैंकले शून्य माैज्दात खाता खुलाउने अभियान सुरु गराए पनि त्यसलाई निरन्तरता दिएका छैनन् ।

एक बैंकरका अनुसार यस्तो खातामा कारोबारका सीमितता रहेको र बैंकहरूलाई पनि कुनै सहुलियत नभएकाले अघोषित रुपमा अभियान बन्द गरिएको हो ।

विदेश जानेलाई बैंक खाता!

सरकारले अब विदेश जाने व्यक्तिहरूले अनिवार्य रूपमा बैंक खाता खोल्ने नयाँ व्यवस्था लागू गरेको छ । हालको बैंकिङ नियमअनुसार ६ महिनासम्म बैंकमा कारोबार नगर्नेहरूको खाता रोक्का (डोरम्याट) हुन्छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्ति औसतमा २ वर्षको करारमा जाने गरेको हुन्छ । विदेश जाँदा लिएको ऋण तिर्नमा नै त्यति समय व्यतित भइसकेका कारण भिसा अवधि थपेर विदेशमा काम गर्ने प्रवृत्ति छ ।

सरकारी नियमले जबर्जस्ति बैंक खाता खोलाएकाहरूबाट बैंकमा खाताको संख्या त बढ्ला तर आउँदा दिनमा यसले निष्क्रिय खाताको संख्या अझ बढ्न सक्ने देखिएको छ । विदेशबाट फर्केर आउँदा पहिला खोलिएको खाता बन्द हुँदा त्यस्ता खाताधनीले थप सास्ती पाउने जानकारहरू बताउँछन्।

खातामै तलब!

सरकारले बैंकिङ च्यानलबाट हुने कारोबार बढाउनका लागि बैंक खातामै तलब हाल्नु पर्ने व्यवस्था गत साउन १ गतेबाट लागू गरेको छ । याे बाध्यकारी नियमबाट केही बैंक खाता बढ्ने अपेक्षा गरिए पनि यसबीचमा कति बैंक खाता खुले भनेर नेपाल राष्ट्र बैंकले औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

अहिले जेष्ठ नागरिक, विधवा तथा एकल महिला, अपांगता भएका व्यक्तिसहितको सामाजिक सुरक्षा भत्ता पनि बैंक खाताबाटै दिने व्यवस्था छ। तर, नजिकमा बैंकका शाखा नहुँदा तथा बैंकका शाखाहरू जेष्ठ नागरिकमैत्री नहुँदा दुःख पाउनु परेको उनीहरूले गुनासो गर्ने गरेका छन् ।

प्रकाशित समय १८:३९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु