fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ प्रदेश सरकारको रकमान्तर बजेटमा लेखा समितिको छानबिन

प्रदेश सरकारको रकमान्तर बजेटमा लेखा समितिको छानबिन

karnali-state-newskarobar

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा रकमान्तर गरी खर्च गरेको बजेटमा संसदीय लेखा समितिले छानबिन थालेको छ । सरकारले विभिन्न शीर्षकमा खर्च गर्न आर्थिक वर्षमा छुट्याएको बजेटलाई रकमान्तर गरी अन्य शीर्षकमा खर्च गरेको विषयमा लेखाले छानबिन थालेको हो ।

रकमान्तर भएबमोजिमको बजेट शीर्षकमा खर्च भए नभएको जानकारी प्राप्त गर्नका लागि खर्च विवरण माग गरेको समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले जानकारी दिए । ‘केही महिनाअघि बसेको बैठकले सरकारसँग रकमान्तर गरिएको बजेटको खर्च विवरण माग गरेको थियो,’ उनले भने, ‘मन्त्रालयहरुले खर्च विवरण बुझाइसकेका छन् । मन्त्रालयले बुझाएको विवरणमाथि समितिले अध्ययन गरिरहेको छ ।’ उपसमितिले समेत मन्त्रालयहरुले बुझाएको खर्च विवरणमाथि अध्ययन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । दोस्रो हप्तासम्ममा मन्त्रालयहरुले बुझाएको रकमान्तर गरिएको बजेटको विवरण सार्वजनिक गर्ने उनले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले खरिद गरेको सवारी साधनको खर्च विवरणसमेत यही विवरणमा उल्लेख भएर आउने संसद सचिवालयका सूचना अधिकारी तथा समितिका सचिव राजेन्द्र पौडेलले बताएका छन् । ‘समितिले सवारी साधन खरिदको मात्रै खर्च विवरण माग गरेको होइन,’ उनले भने, ‘अन्य शीर्षकमा छुट्याइएका बजेट रकमान्तर गरी खर्च गरेको छ । त्यसो गर्दा केही रकम सवारी साधन खरिदमा समेत परेको हुनसक्छ ।’

संसदीय लेखा समितिले मन्त्रालयले रकमान्तर गरी खर्च गरेको बजेट विवरण माग गरेकाले सवारी साधनको खर्च विवरणसमेत आउने उनले बताए । ‘सरकारसँग रकमान्तर गरिएको रकमको खर्च विवरण माग गरेको धेरै महिना भइसकेको छ,’ उनले थपे, ‘समितिका अध्यक्षलगायतले दसौं पटक मौखिक तथा लिखित रुपमा विवरण माग गर्दै आएका छौं ।’ प्रदेश सरकारले रकमान्तर गरी खर्च गरेको रकमको विवरण पटक-पटक माग गरेपछि सचिवालयमा उपलब्ध भएको समेत उनले बताएका छन् ।

कर्णाली प्रदेश सरकारसँग समितिले यसबाहेक भौतिक पूर्वाधार विकास मन्त्रालयले डिपिआरका नाममा गरेको खर्च विवरणसमेत माग गरेको सचिव पौडेलले जानकारी दिए । यसको खर्च विवरण भने सचिवालयमा नआएको उनले बताए । यसअघि रारा पर्यटन वर्ष २०७५ को खर्च विवरणसमेत समितिले माग गरी सार्वजनिक गरेको थियो ।

प्रकाशित समय १५:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु