fbpx
Nepal Mediciti

गृहपृष्ठ एकै महिनामा २ लाख ९१ हजारले लिए प्यान 

एकै महिनामा २ लाख ९१ हजारले लिए प्यान 

देशभरि करदाताको संख्या : २७ लाख ७१ हजार

Pan_NewsKarobar

सरकारले तलब बैंक खाताबाट दिनुपर्ने तथा एक हजार रुपैयाँभन्दा बढीको भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था लागू गरेपछि साउनमा मात्र २ लाख ९१ हजारले नयाँ प्यान लिएका छन् । अर्थ मन्त्रालयका अनुसार साउनमा मात्र २ लाख २५ हजार ४०९ जनाले व्यक्तिगत लेखा नम्बर लिएका छन् । २०७६ असार मसान्तसम्म ९ लाख ९३ हजार जनाले प्यान लिएका थिए ।

नयाँ थपिएकासहित व्यक्तिगत लेखा नम्बर लिनेको संख्या १२ लाख ४७ हजार ४८९ पुगेको छ ।साउनमा ३६ हजार १३८ व्यावसायिक स्थायी लेखा नम्बर (बी प्यान) लिइएको छ भने करकट्टी गर्ने ३६७ निकायले स्थायी लेखा नम्बर लिएका छन् ।

यीसहित हालसम्म  हालसम्म २४ लाख ६३ हजार १४ प्यान नम्बर बाँडिसकिएको मन्त्रालयले जनाएको छ । वार्षिक ५० लाख रुपैयाँभन्दा कमको कारोबार हुने साना उद्योग व्यवसायले व्यावसायिक स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था छ ।

साउनमा ११ हजार ३२२ उद्योग व्यवसाय मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका भएका छन् भने थप ५ हजार ६८६ उद्योग व्यवसाय अन्तःशुल्कमा दर्ता भएका छन् । नयाँ थपिएका करदातासमेत देशभरि करदाताको संख्या २७ लाख ७१ हजार नाघेको छ । असार मसान्तमा यो संख्या २४ लाख ६३ हजार थियो ।

साउनमा ७२ अर्ब राजस्व असुली

अर्थ मन्त्रालयका अनुसार साउनमा मात्र ७२ अर्ब ६० करोड रुपैयाँ राजस्व असुली भएको छ । यो गत वर्षको साउनको भन्दा १८. ७ प्रतिशत बढी हो । साउनमा असुल भएको राजस्वमध्ये कर राजस्व ६३ अर्ब ४० करोड र गैरकर राजस्व ९ अर्ब २० करोड रुपैयाँ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

साउनमा आयातमा केही संकुचन आएसँगै भन्सार राजस्व गत वर्षभन्दा घटेको छ भने भ्याट, अन्तःशुल्कसहितका अन्य सबै करको असुली बढेको छ ।

कसको लक्ष्य कति ?

चालू आर्थिक वर्षमा सरकारले कुल ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य राखेको छ । यसमध्ये भन्सारबाट २ खर्ब १३ अर्ब २० करोड, भ्याटबाट ३ खर्ब १५ अर्ब, आयकरबाट २ खर्ब ८० अर्ब ३५ करोड, अन्तःशुल्कबाट १ खर्ब ६९ अर्ब ९८ करोड रुपैयाँ असुल गर्ने लक्ष्य राखिएको छ ।

यस्तै, शिक्षा सेवा शुल्कसहितका अन्य करतर्फ ३० अर्ब ६२ करोड गरी कुल १० खर्ब ९ अर्ब १९ करोड रुपैयाँ कर राजस्व असुल गर्ने लक्ष्य राखिएको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ । गैरकरतर्फ १ खर्ब २ अर्ब ८७ करोड रुपैयाँ असुल गर्ने लक्ष्य राखिएको छ ।

अर्थ बुलेटिन सार्वजनिक

यसैबीच, अर्थ मन्त्रालयले देशका समष्टिगत अर्थतन्त्रका सबै विवरण समेटेर यसै महिनादेखि मासिक अर्थ बुलेटिन प्रकाशन आरम्भ गरेको छ । यसअघि नेपाल राष्ट्र बैंकले मासिक आर्थिक बुलेटिन प्रकाशन गर्ने गरेको थियो ।

नेपाल राष्ट्र बैंकको नेतृत्व सम्हालिसकेका अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंककै संरचनामा आर्थिक बुलेटिन प्रकाशन गराउन थालेपछि अब केन्द्रीय बैंकमाथि चुनाैती थपिएको छ । किनकि, केन्द्रीय बैंकले अघिल्ला २ महिनाका तथ्यांक समेटेर मासिक आर्थिक समीक्षा निकाल्ने गरेको थियो । अब, सरकारका आधिकारिक निकायबाटै मासिक तथ्यांक सार्वजनिक भएपछि द्वैमासिक तथ्यांकको खासै महत्व नहुने जानकारहरू बताउँछन् ।

प्रकाशित समय १२:३९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु