fbpx

गृहपृष्ठ अब वडा कार्यालयमै एकैदिन सबै योजना सम्झौता

अब वडा कार्यालयमै एकैदिन सबै योजना सम्झौता

kalinchok-dolakha-newskarobar

कालिञ्चोक गाउँपालिकाको अब वडा कार्यालयमै सबै योजनाको सम्झौता हुने भएको छ । त्यो पनि सबै योजनाको एकमुष्ट एकैदिन । योजना सम्झौता हुने दिनै योजनाबारे लागत, परिमाण र लाभान्वित समुदाय सबैको बारेमा सार्वजनिक सुनुवाइ गर्ने ।

विकासे योजना काम गर्ने समयमा हिउँदभर योजनासमेत सम्झौता नगर्ने र आर्थिक वर्ष सकिन लाग्दा हतार-हतार योजना सम्झौता गर्ने र काम गर्ने गर्दा समयमा काम पनि पूरा नहुने, गुणस्तरीय पनि नहुने रोग देशव्यापी लागेको बेला कालिञ्चोक गाउँपालिकाले नौलो प्रयास गर्न लागेको हो । योजना सम्झौता पनि सबै वडामा कात्तिकभित्र गर्ने कार्ययोजना बनाएकोे छ ।

गाउँपालिकाले वडा नं. ९ को सुन्द्रावतीबाट यसको सुरुवात गर्न लागेको इन्जिनियर नारायण शिवाकोटीले जानकारी दिए । ‘भदौ ३० गते वडा नं. कार्यालयमा चालू आर्थिक वर्षको सबै योजना सम्झौता गर्ने कार्यक्रम छ,’ उनले भने, ‘गाउँपालिकाको पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशु सबै शाखाका कर्मचारी वडामा पुगेर सबै एकै दिन सम्झौता हुन्छ ।’ वडास्तरको काम अब तत्कालै सुरु हुने उनले बताए ।

गाउँपालिकाले वडा वडामै पुगेर सम्झौता गर्दा उपभोक्ता समिति र स्थानीय बासिन्दा पनि गाउँपालिकासम्म आउने झन्झटबाट मुक्त हुनेछन् । योजनाको लामो समयसम्म सम्झौता नहुने, काम नहुने र अनुगमन नहुने परिपाटीलाई अन्त्य गर्नका लागि यस्तो कार्यक्रम अघि सारेको उनले बताए ।

३० गते योजना सम्झौताको तयारीका लागि अहिले गाउँपालिकाका प्राविधिक कर्मचारी टोलटोलमा पुगेका छन् । उनीहरुले अहिले गाउँसभाबाट पास भएका योजनाको इस्टिमेट तयार गर्ने काम गरिरहेका छन् । भदौ २५ गतेभित्र योजनाको स्टमेट तयार गर्ने, त्यसपछि २ दिन उपभोक्ता समिति गठन गर्ने र २९ गते उपभोक्ता समितिलाई सामूहिक रुपमा योजनाबारे अनुशिक्षणको कार्यक्रमसमेत तय भएको छ ।

गाउँपालिकाले सुन्द्रवतीमा जस्तै फरक फरक मितिमा यसरी विकास शिविर गर्न लागेको छ । दोस्रो कार्यक्रम असोज १० गते वडा नं. १ कालिञ्चोकमा राखेको छ । दसैंअघि दुई वटा मात्र वडामा यस्तो शिविर गर्ने र बाँकी ७ वटा वटामा कात्तिकभरमा कार्यक्रम पूरा गर्ने लक्ष्य लिएको उनले बताए ।

सामूहिक योजना सम्झौताको कार्यक्रमलाई गाउँपालिकाले विकास शिविर भन्ने नामकरण गरेको छ । शिविरमा स्वास्थ्य जाँच, अपांगता परिचय पत्र वितरणलगायतका कामसमेत राखेको छ । भर्खरै गाउँपालिका सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरेले विगतमा असारमा मात्र योजना अनुगमन मूल्यांकनको चाप हुने र काम पनि गुणस्तरीय नहुने गुनासो आएकाले नौलो अभ्यास गर्न लागेको बताए ।

‘हाम्रो योजना चैतसम्म सबै योजना पूरा गर्ने र भुक्तानी गर्ने बनाएका छौं,’ उनले भने, ‘यो काम गर्न सक्यौं भने योजना पनि राम्रोसँग पूरा हुन्छन्, बजेटको सही सदुपयोग पनि हुन्छ ।’ वैशाखदेखि थपिएका योजना कार्यान्वयन गर्ने, अरुका राम्रा योजना हेर्ने र अर्को वर्षको योजना राम्रैसँग तर्जुमा लाग्ने कार्यतालिका छ ।

प्रकाशित समय १८:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु