fbpx
Nepal Mediciti

गृहपृष्ठ विद्युतीय सवारीसाधनको आयात बढ्दो, चीनबाट भित्रिन्छन् ८० प्रतिशत

विद्युतीय सवारीसाधनको आयात बढ्दो, चीनबाट भित्रिन्छन् ८० प्रतिशत

electric-vehicle-newskarobar

हालैका वर्षहरूमा विश्वव्यापी रूपमा बढ्दो विद्युतीय सवारी साधनको प्रयोग नेपालमा पनि बढ्न थालेको छ । वातावरणमैत्री सवारी साधनको अवधारणा बढ्न थालेपछि यस्ता सवारीसाधनको आयात पनि बढेको हो ।

पछिल्लो ३ वर्षको अवधिमा मात्रै १८ हजार ९ सय १० विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्, यसमा सबैभन्दा धेरै तीन पांग्रे सवारी साधन नेपाल भित्रिएका विभागले जनाएको छ । विभागका अनुसार ३ वर्षमा ८ हजार १ सय ५० वटा तीन पांग्रे विद्युतीय सवारी भित्रिएका हुन् ।

विभागको तथ्यांकअनुसार २०७३/७४ मा ४ हजार ९ सय ९० वटा विद्युतीय सवारी साधन भित्रिएकोमा यो २०७४/७५ मा ५ हजार ५ सय ८६ पुग्यो भने गत आर्थिक वर्षमा अझ बढेर २०७५/७६ मा ६ हजार ६ सय ३२ पुग्यो ।

नेपालमा विद्युतीय साधन भित्रन थालेको एक दशक पनि भएको छैन, तर विद्युतीय सवारीसाधनहरु पछिल्लो समय नेपाली सडकमा प्रशस्तै भेटिन थालेका छन्, यसको प्रमुख कारण विद्युतीय सवारीप्रति बढ्दै गएको मोह हो । सामान्यतया पेट्रोलबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको १ देखि २ लाख ५० हजार सम्म सस्तो पर्ने र पेट्रोलबाट चल्ने सवारी सरह नै माइलेज दिने हुँदा विद्युतीय सवारी साधन नेपाली बजारमा बिक्री वितरण बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।

तीन पांग्रे सवारी साधनमा इ–रिक्सा, टेम्पोहरू बढी मात्रामा नेपाल भित्रिएका अधिकारीहरू बताउँछन् । भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेका अनुसार नेपालको तराई तथा पहाडी क्षेत्रमा सार्वजनिक यातायातका रुपमा विद्युतीय ठूला बसहरू सञ्चालन नसक्दा यस्ता साना सवारीहरू बढेका हुन् । सरकारले विद्युतीय सवारी साधनहरूको आयातमा समेत केही भन्सार सहुलियतको व्यवस्था गरेको छ ।

इ–रिक्सा/टेम्पो व्यक्तिगत नभएर व्यावसायिक प्रयोजनका लागि किनेर धेरै नेपाली अहिले स्वरोजगार भएका छन् । यसबाट आम्दानी पनि राम्रो गर्ने भएकाले पनि विदेशबाट फर्केका नेपालीहरूले यस्ता सवारी साधन किनेर व्यवसाय थालेका छन् ।

अहिले तराई, मध्य पहाडीमात्र होइन, पहाडी क्षेत्रहरूका साना सहरी क्षेत्र र बजारउन्मुख क्षेत्रहरूमा विद्युतीय इरिक्साको बढ्दो संख्याले यातायात तथा पारवाहन सहजीकरण गराइ रहेको देख्न थालिएको छ ।

विद्युतीयमात्र होइन, समग्रमा पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधन पनि बढेका छन् । ‘अहिले ठूला सवारीभन्दा धेरै कार तथा जिप र मोटरसाइकलहरु मात्र नेपाल भित्रिरहेका छन्,’ प्रवक्ता घिमिरेले भने, ‘मोटरसाइकल विगत ३ वर्षमा २ हजार ६ सय ३९ वटा र जिप तथा कारहरु ३ हजार ३ सय ३१ वटा नेपाल भित्रिएका छन् ।’

नेपालमा विद्युतीय सवारी साधन सबैभन्दा बढी चीनबाट भित्रिने गरेका छन् । चीनबाट मात्रै ८० प्रतिशत विद्युतीय सवारी नेपाल आयात हुने भन्सार विभागको तथ्यांकमा उल्लेख छ । हाल नेपालमा नेपालमा चीन र भारतबाट मात्रै विद्युतीय सवारी आयात हुने गरेको छ ।

bijuli-bus-newskarobar

विश्वमै बढ्दै गएको वातावरणीय प्रदूषणलाई विद्युतीय सवारी साधनले केही हदसम्म न्यूनीकरण गर्ने हुनाले अहिले यस्ता सवारी साधनको प्रयोग क्रमश बढ्दै गएको हो । नेपालका लागि विद्युतीय सवारी साधनको प्रयोग बढ्नु फलदायी हुने नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका सचिव अनुप बराल बताउँछन् । ‘विद्युतीय सवारी पेट्रोलबाट चल्ने सवारी भन्दा सस्तो हुन्छ र यसले वातावरणमा कुनै असर पार्दैन जस्ले गर्दा वातावरण अनुकूल पनि हुन्छ,’ उनले भने, ‘नेपाली बजारमा विद्युतीय सवारी प्रतिको क्रेज बढे पनि उचित पूर्वाधारको विकास हुन सकेको छैन, जसले गर्दा सार्वजनिक विद्युतीय सवारी साधन भित्रिन सकेको छैन ।’

सबैभन्दा मुख्य समस्या चार्ज स्टेसनहरू बनिसकेका छैनन् । यस्ता स्टेसनहरुको पहुँच मुलुका सबै ठाउँमा नहुँदा लामो यात्रा गर्न सकिँदैन, जसले गर्दा सवारी साधन भित्रिएपनि सवारी धनीले उचित लाभ लिन सकेका छैनन् ।

बराल पूर्वाधारमात्रै नभएर विद्युतीय सवारीसाधनको मर्मत सम्भारमा पनि समस्या भएको बताउँछन् । अहिले अयात कम्पनीहरुले नै मर्मतसम्भारको सुविधा दिदै आएका छन् । तर, सरकारले नै यस्ता पूर्वाधारहरुको निर्माण गरेमात्रै विद्युतीय सवारीसाधनको प्रयोग बढ्ने बरालको ठहर छ ।

तथ्यांककै अलमल
सरकारका दुई निकायहरू आयात-निर्यातको निगमन गर्ने, त्यसबाट राजस्व उठाउने भन्सार विभाग र सवारी साधनहरूको रेकर्ड राख्ने यातायात व्यवस्था विभागबीच नै दुईथरी तथ्यांक देखिएको छ ।

विगतमा दुई र तीन पांग्रे विद्युतीय सवारीसाधनहरू दर्ता हुनु नपर्ने व्यवस्था भएकाले तथ्यांकीय फरक देखिएको हो । हालैमात्र यातायात व्यवस्था विभागले एक परिपत्र जारी गरेर सबै किसिमका सवारी साधन दर्ता गर्नुपर्ने प्रावधान लागू गरेको छ ।

प्रकाशित समय १४:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु