गृहपृष्ठ पोखराको विजयपुरमा १० दिनभित्रमा बेलिब्रिज

पोखराको विजयपुरमा १० दिनभित्रमा बेलिब्रिज

belly-bridge-newskarobar

पोखराको विजयपुर खोलामा हाल निर्माण हुँदै गरेको बेलिब्रिज १० दिनभित्रमा सम्पन्न भई सञ्चालनमा आउने भएको छ । डाइभर्सनको रुपमा प्रयोग भएको पुलको स्थानमा नयाँ संरचनामा निर्माण भएको बेलिब्रिज १० दिनभित्रमा सञ्चालनमा आउने सडक डिभिजन कार्यालय पोखराका सब–इन्जिनियर किरण सुवेदीले जानकारी दिए ।

उनका अनुसार स्टिल जडानको काम करिब एक हप्तामा सकिनेछ भने बाँकी ३ दिनमा पुल फिनिसिङअन्तर्गत पुलको पूर्व–पश्चिम भागमा माटो, ढुंगासहितको लेबलिङ गरी पिच गरिनेछ । स्टिल संरचनामा निर्माण हुने उक्त पुलमा हाल डोजरको सहायताले मजदुरहरु स्टिल संरचनाको फिटिङमा जुटेको सगरमाथा (जेभी) कम्पनीका उद्धव राईले जानकारी दिए । उनका अनुसार पुलको भारबहन क्षमता करिब ५० टन हुनेछ ।

पुलको पूर्व र पश्चिमतर्फ जाली बुन्दै बीचमा ढलान गर्नुपर्ने भएकाले निर्माणको काम केही ढिलो हुन पुगेको उनले जनाए । पुलको जेठ मसान्तभित्र सक्ने गरी वैशाख २४ गते ठेक्का सम्झौता भएको थियो । करिब २ करोड २० लाख लागतमा निर्माण हुने पुल २ लेनको छ ।

विजयपुरको मोटरेबल पुलमा ४ महिनादेखि खाली ट्रक पनि सञ्चालन भएका छैनन् । गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायी रूपमा करिब ३ महिना सञ्चालनमा आएको डाइभर्सन गत हप्ता राति बाढीले बगाएपछि पुनः दुई दिनमै सडक डिभिजन कार्यालय पोखरा र चिनियाँ सीएएमसी कम्पनीको सहयोगमा अर्को डाइभर्सन निर्माण भएको थियो ।

करिब एक दशकअघि निर्माण गरिएको पक्की मोटरेबल पुलको स्टिल बिम ३ महिनाअघि चर्किएको थाहा भएपछि उक्त पुलमा जोखिमलाई मध्यनजर गरी १० टनभन्दा बढी भारबहन क्षमताका गाडी सञ्चालनमा रोक लगाइएको छ ।

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु