fbpx
Nepal Mediciti

गृहपृष्ठ विषादी परीक्षणमा प्रधानमन्त्रीको ढाकछोप उदांगियो

विषादी परीक्षणमा प्रधानमन्त्रीको ढाकछोप उदांगियो

प्रधानमन्त्री भन्छन्- भरतको दबाब छैन, 'पूर्वाधार छैन' भन्दै ढाँट्छन् मन्त्री

prime_minister_k_p_oli-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षणमा भारतको कुनै दबाब नआएको भन्दै ढाकछोप गरिरहँदा भारतले पठाएको पत्र नै बाहिरिएको छ । विषादी परीक्षणमा सरकार पछि हटेको भन्दै सत्तारुढ दलका नेताले नै आपत्ति जनाएपछि शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले भारतबाट कुनै पत्र नआएको बताएका थिए । बैठकमा नेताहरुको प्रश्नको जवाफ दिँदै ओलीले भनेका थिए, ‘कतै कसैको दबाबमा तरकारी र फलफूलको विषादी परीक्षणबाट सरकार पछि हटेको होइन, भारतबाट पत्र आयो रे ! खोई कसलाई आयो ? कसले पढ्यो त्यो पत्र ? मलाई थाहा छैन ।’

तर, सरकारले सीमा नाकामा भारतीय तरकारी र फलफूलका ट्रक रोकेर परीक्षण थालेलगत्तै भारतीय दूतावासले पठाएको पत्र बाहिरिएपछि प्रधानमन्त्रीको ढाकछोप उदांगिएको हो । काठमाडौंस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई सम्बोधन गरी असार १४ गते पठाएको पत्र बाहिरिएको छ । भारतले पत्र पठाएको ५ दिनपछि असार १९ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार नपुगेको भन्दै ६ महिनाका लागि ‘परीक्षण नगर्ने’ निर्णय गरेको थियो । पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री र सरकारका मन्त्रीहरुको ‘लम्पसारवादी चरित्र’ उदांगो भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

‘प्राविधिक तयारी थियो’
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफरिसमै असार २ गते भारतबाट आउने तरकारी तथा फलफूलमा विषादी परीक्षण थालेको थियो । विषादी परीक्षणका लागि सरकारले जनशक्ति तथा क्वारेन्टाइन थप गरेको थियो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले खाद्य, पशु र प्लान क्वारेन्टाइनअन्तर्गतका १४ वटा क्वारेन्टाइन र ३१२ कर्मचारी थप गरेरै नेपाल भित्रिने फलफूल तथा तरकारीको विषादी परीक्षण सुरु गरेको बताइसकेका छन् । राष्ट्रियसभामा आइतबार विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले भनेका थिए, ‘पूर्वाधार छ भनेर वाणिज्य मन्त्रालयबाट प्रस्ताव आयो र पारित भयो । राजपत्रमा सूचना प्रकाशित भएपछि मैले कार्यान्वयन सुरु गरेको हुँ । ‘पछि फेरि वाणिज्यले नै पूर्वाधार नभएकाले अहिले सकिन्न कि भनेर प्रस्ताव लग्यो, त्यो पास भएको छ ।’ कर्णालीबाहेक अरु प्रदेशमा विषादी परीक्षण केन्द्र भएको मन्त्री खनालको भनाइ छ ।

काठमाडौं नै ल्याएर परीक्षण गर्दा पनि भारतको जति सीमा दूरी नभएको भन्दै उनले विषादी परीक्षण रोक्न नहुने संकेत गरे । विषादी परीक्षणका लागि नमुना काठमाडौं नै ल्याउनुपर्दा पनि धेरै समय लाग्दैन । जबकि, भारतले नमुना परीक्षणका लागि नेपालबाट गएको तरकारी पटना र लखनउ पु–याउँदा नाको तरकारी कुहिसक्छ । काँकडभिट्टाबाट कोलकाताको दूरी ५३९ किमी, विराटनगरबाट पटनाको दूरी ३०३ किमी र सुनौलीबाट लखनउको दूरी ३२९ किमी छ ।

मन्त्री खनालका अनुसार प्रदेश १ को बिर्तामोड, २ को सर्लाही, ३ को कालीमाटी, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र सुदूरपश्चिम प्रदेशमा दुई वटा केन्द्रबाट विषादी परीक्षण हुन्छ । केन्द्रीय प्रयोगशालाले २९ वटा र बाँकी केन्द्रमा २ वटा प्यारामिटर चेकजाँच हुने गरेको छ ।

कृषि मन्त्रालयले २०७५ सालमा प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र गठन गरेको छ । बाली संरक्षण निर्देशनालय, राष्ट्रिय प्लान्ट क्वारेन्टिन कार्यक्रम र विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखा गाभिएर प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र बनाइएको हो । अहिले केन्द्रीय स्तरमा एउटा प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र तथा त्यस मातहतमा १५ वटा क्वारेन्टिन कार्यालय र सातवटा विषादी अवशेष दु्रत विश्लेषण इकाई स्थापना भई निरन्तर तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्दै आएका छन् ।

काठमाडौंको कालीमाटी तरकारी बजार, सर्लाहीको नवलपुरमा रहेको फलफूल तथा तरकारी बजार विकास समिति, झापाको बिर्तामोडमा रहेको कृषि उपज केन्द्र, कास्कीको पोखरामा रहेको शान्तिवाटिका कृषि बजार, रुपन्देहीको बुटबलमा रहेको कृषि उपज थोक बजार, बाँकेको नेपालगन्जमा रहेको रानीतलाउ कृषि उपज केन्द्र र कैलालीको अत्तरियामा रहेको कृषि उपज थोक बजारस्थित परीक्षण केन्द्रहरूले विषादी परीक्षण गरिरहेका छन् ।

गत आर्थिक वर्ष २०७४/७५ मा देशभर रहेका यी सबै विषादी परीक्षण केन्द्रमा ४ हजार ७८२ तरकारी तथा फलफूलका नमुना परीक्षण गरिएकोमा ३३ वटा नमुनामा खानै नहुने गरी अत्यधिक विषादी प्रयोग भएको तथा १०३ नमुना केही दिन पर्खेर खानुपर्ने अवस्थाका पाइएको थियो । यो तथ्यांकले पनि सरकारको पूर्वाधार र क्षमता नभएको भन्ने भनाइको खण्डन गर्छ ।

वाणिज्य मन्त्री भन्छन्- सचिवहरुले झुक्याए
विषादी परीक्षणमा भारतसँग लत्रिएको सरकारका मन्त्रीहरुपिच्छे आ–आफ्नै दाबी छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सोमबार पत्रकार सम्मेलन नै गरेर आफूलाई सचिवहरुले गुमराहमा राखेको भन्दै असन्तुष्टि व्यक्त जनाए ।

सरकारले असार २ गते राजपत्रमा सूचना निकालेर विषादी परीक्षण सुरु गरेपछि भारतीय व्यवसायी अफ्ठ्यारोमा परे । लगत्तै भारतीय दूतावासले असार १४ गते परराष्ट्रलाई दबाबमूलक पत्र लेख्दै आपूर्ति सचिव केदारबहादुर अधिकारी, कृषि सचिव युवकध्वज जीसी, आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी कार्यबाहक महानिर्देशक मनिता वैद्य जोशीलाई बोधार्थ पठायो ।

मन्त्री यादवले सचिवहरुलाई कडा शब्दमा आरोपित गरे पनि अन्ततः प्राविधिक तयारी नपुगेको तर्क गरे । ‘अहिले हामीसँग क्षमता छैन, भारतले परीक्षण नगर पनि भनेको छैन, भन्न पनि पाउँदैन, कसैको पत्र आएको पनि छैन, लबिइङ पनि भएको छैन,’ उनले पत्रकार सम्मेलनमा भने, ‘हामीसँग परीक्षण गर्ने क्षमता नै नभएर हो ।’

भारतले खेलेको पत्रमा के छ ?
भारतको राष्ट्रिय वनस्पति संरक्षण संस्था तथा कृषि तथा प्रशोधित खाद्य पदार्थ निर्यात विकास प्राधिकरणले नेपालमा निर्यात हुने यस्ता सामग्रीलाई ‘फाइटोस्यानिटरी प्रमाणपत्र’ प्रदान गर्ने गरेको र ती प्रमाणपत्र नेपाली निकायलाई स्वीकार्य छ । यसरी स्वीकार्य भइसकेको विषयलाई किन पुनः परीक्षण गर्नुप-यो ?

पुनः परीक्षणको आवश्यकता गैरकर अवरोधजस्तै हो र यसले व्यापार रोकिएको छ । साथै, अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धिको फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय मापदण्ड–१३ अनुसार आयातकर्ता देशले निर्यातकर्ता देशलाई फाइटोस्यानिटरी आयातका प्रावधान पालना गर्नका लागि सूचना दिनुपर्छ । यस घटनामा नेपाली निकायबाट यो व्यवस्था पालना भएन ।

नेपाल सरकारका सम्बन्धित निकायलाई गैरकर अवरोधको कार्यान्वयन खारेज गर्न र भारतका निकायले जारी गरेका फाइटोस्यानिटरी प्रमाणपत्रका आधारमा यस्ता सामग्रीको आयात खुला गर्न सुझाव दिनका लागि मन्त्रालयलाई आग्रह गरिन्छ । भारतीय निर्यातकर्तालाई ठूलो घाटा लाग्ने गरी भएको गैरकर अवरोधको तत्काल कार्यान्वयनका लागि कुनै तत्व जिम्मेवार भए आवश्यक सूचना तथा कागजातसहित औचित्य पुष्टि गर्नका लागि राजदूतावास सम्मानित मन्त्रालयलाई आग्रह गर्दछ ।

poison-test-newskarobar

प्रकाशित समय ०८:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु