fbpx
Nepal Mediciti

गृहपृष्ठ तीन वर्षमा आर्थिक वृद्धिदर १० प्रतिशत !

तीन वर्षमा आर्थिक वृद्धिदर १० प्रतिशत !

प्रतिव्यक्ति आय १,३३७ डलर

GDP target_NewsKarobar

राष्ट्रिय योजना आयोगले आगामी तीन वर्षभित्र झन्डै १० प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य निर्धारण गरेको छ । आयोगले सार्वजनिक गरेको नयाँ मध्यकालीन खर्च संरचनाअनुसार आगामी आर्थिक वर्ष २०७६/७७ मा ८ दशमलव ५ प्रतिशत, ०७७/७८ मा ९ दशमलव ६ प्रतिशत र ०७८/७९ मा ९ दशमलव ९ प्रतिशत वृद्धिदरको लक्ष्य राखिएको हो ।

यदि यो लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल भएमा आर्थिक वर्ष ०७८/७९ मा नेपालीहरूको प्रतिव्यक्ति आय पनि १ हजार ३३७ अमेरिकी डलर पुग्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ हजार ४७ अमेरिकी डलर पुगेको छ ।

आव०७६/७७ देखि ०७८/७९ सम्म कार्यान्वयन हुने गरी बनाइएको मध्यकालीन खर्च संरचना (एमटीईएफ)कै आधारमा सरकारको बजेट तर्जुमा हुनेछ । संरचनाले गरिबीको रेखामुनि रहेका जनसंख्या हालको १८ दशमलव ७ प्रतिशतबाट तीन वर्षभित्रमा १३ दशमलवम ६ प्रतिशतमा झार्ने अर्को महत्वाकांक्षी लक्ष्य राखेको छ ।

यो योजनाले अर्थतन्त्रको वर्तमान संरचनामा पनि आमूल परिवर्तन गर्ने लक्ष्य राखेको पाइएको छ । यसअनुसार अर्थतन्त्रमा हाल कृषि क्षेत्रको योगदान २८ दशमलव २ प्रतिशत रहेकोमा आगामी तीन वर्षमा यसलाई २४ दशमलव ७ प्रतिशतमा झार्ने, औद्योगिक क्षेत्रको योगदान हालको १४ दशमलव २ प्रतिशतबाट बढाएर १६ दशमवल ८ प्रतिशत पुर‍‍्‍याउने र सेवा क्षेत्रको योगदान ५७ दशमलव ६ प्रतिशतबाट बढाएर ५८ दशमलव ४ प्रतिशत पुर‍‍्‍याउने लक्ष्य निर्धारण गरिएको छ ।

आगामी तीन वर्षमा कुल सरकारी बजेट ५३ खर्ब ४४ अर्ब ९२ करोड पुग्ने, यसमध्ये चालू खर्च ३० खर्ब ३५ अर्ब २७ करोड र पुँजीगत खर्च १६ खर्ब ६४ अर्ब ९४ करोड पुग्ने प्रक्षेपण गरिएको छ । यस्तै वित्तीय व्यवस्थामा ६ खर्ब ६६अर्ब ७४ करोड बाँडफाँड गर्नुपर्ने एमटीईएफ दस्तावेजमा उल्लेख छ ।
यो बजेटका लागि राजस्वबाट ३५ खर्ब ३७ अर्ब ७ करोड, वैदेशिक अनुदानबाट १ खर्ब ८७ अर्ब तथा अपुग हुने स्रोतमध्ये वैदेशिक ऋणबाट १२ खर्ब ६ अर्ब ३५ करोड र आन्तरिक ऋणबाट ६ खर्ब १ अर्ब ४८ करोड रुपैयाँ परिचालन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित समय १५:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु