fbpx
Nepal Mediciti

गृहपृष्ठ जग्गामा बिचौलियाको बिगबिगी, सर्वसाधारणसँग १० लाखसम्म कमिसन

जग्गामा बिचौलियाको बिगबिगी, सर्वसाधारणसँग १० लाखसम्म कमिसन

jaggama-bigbigi-newskarobar

उपत्यकामा घरजग्गा कारोबारमा विचौलियाको बिगबिगी बढेको छ । कमजोर सरकारी नीति र नियामक निकायको बेवास्ताका कारण जग्गाका विचौलिया उग्र बन्दै गएका हुन् ।

बिचौलियाको बिगबिगी बढ्दै जाँदा झन्डै दुई वर्षदेखि मन्दी छाएको घरजग्गा कारोबार पुनः उकालो लाग्न थालेको छ । एउटै जग्गा मालपोतमा पुग्नुअघि बिचौलिया-बिचौलियाबीच ५-७ पटकसम्म किनबेच हुने गरेको छ । बिचौलियाकै कारण उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा जग्गा खरिद गर्न चाहने सर्वसाधारणले जग्गाधनीलाई भेट्नै सक्दैनन् भने जग्गा बेच्न चाहनेले पनि बिचौलियाको साथ नलिई बेच्नै नसक्ने स्थिति छ ।

जग्गा खरिदका क्रममा सर्वसाधारण विचौलियाको फन्दामा पर्दा चलेको मूल्यभन्दा २ गुणासम्म बढी तिर्न बाध्य छन् । जसले गर्दा केही महिनायता जग्गाको भाउ अस्वाभाविक बढेको छ । जग्गा विक्रेताले पनि आफ्नो जग्गाको पूरा मूल्य नपाउने गरेको गुनासो गरेका छन् । ‘यतिमा भन्दा बिक्दैन’ भन्दै जग्गाधनीलाई दबाब दिएर आफूमार्फत बेच्न बाध्य पार्ने समूह पनि जग्गा दलालीमा क्रियाशील छ । जग्गाधनीबाट सस्तो मूल्यमा जग्गा बैना गर्ने र १० लाखसम्म कमिसन राखेर बेच्ने गरेको पनि पाइएको छ । विचौलियाले क्रेता र विक्रेता दुवैबाट कमिसन लिने हुँदा उपत्यकामा जग्गा खरिद-बिक्री गर्न चाहने सर्वसाधारण भने मर्कामा पर्दै आएका छन् ।

भर्खरैमात्र भक्तपुरको सरस्वती खेलमा चार आना जग्गा खरिद गरेकी दोलखाकी सुनिता नेपालले विचौलियाले जग्गाधनी र आफूबाट गरी ४ लाख रकम फुत्काएको बताइन् । जग्गाको मूल्य अकासिएको भन्दै विचौलियाले आफूबाट २ लाख कमिसन लिएको उनले जानकारी दिइन् । ‘जग्गाधनीबाट पनि बेच्न नसकिने जग्गा बेचिदिएको भन्दै २ लाख लिएछन्,’ उनले भनिन् । विचौलियाकै कारण जग्गा बेच्न पनि डराउनुपर्ने स्थिति रहेको उनले गुनासो गरिन् । ‘आफ्नो हिसाबले किनबेच गर्नै पाइँदैन,’ नेपालले भनिन्, ‘बेच्नुपर्दा पनि उनीहरुकै मूल्य, किन्नुपर्दा पनि उनीहरुकै मूल्य चल्छ । त्यसबाहेक कमिसनको नाममा ठूलो मूल्य हाकाहाकी माग्छन् ।’

विचौलियाले जग्गाधनीलाई दबाबमा पारेर एउटा मूल्यमा जग्गा बैना गर्ने र लामो समय लगाएर महँगो मूल्यमा बेचेर दोहोरो फाइदा लिने गरेका छन् । विचौलियाले क्रेता-विक्रेता दुवैमा मनोवैज्ञानिक त्रास फैलाएर जग्गा किनबेच गराउँछन् । ‘जग्गा बेच्दा पनि उनीहरुले भनेजति रकम दिएन भने थर्काउने, डर देखाउने र धम्क्याउनेसमेत गर्छन्,’ सरस्वती खेलकै अञ्जना खड्काले भनिन् ।

बिचौलियाका कारण जग्गाको मूल्य दिन दुगुना रात चौगुना बढेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्लानिङ क्षेत्रमा ७ फुटदेखि माथिको कच्ची सहायक बाटोमा न्यूनतम ५ लाख ५० हजार प्रतिआना दर भए पनि १६ लाखभन्दा बढी मूल्यमा कारोबार हुँदै आएको छ ।

विचौलियाले जग्गाधनीसँग न्यूनतम १ लाखदेखि १० लाखसम्म कमिसन लिने गरेका छन् । जग्गाको साइज र मूल्यअनुसार उनीहरुले रकम लिने गरेका छन् । भक्तपुर क्षेत्रका जग्गा कारोबारी विनोद पाण्डेले जग्गा खरिद-बिक्रीमा सहयोग गरेबापत कमिसन लिने गरेको बताए । ‘यति नै भन्ने हुँदैन, जग्गाको आकार र मूल्य हेरेर जग्गाधनीसँगको सहकार्यमा लिने गरिन्छ,’ उनले भने, ‘मह काढ्नेले हात त चाट्नै प-यो नि, होइन र !’

भक्तपुरमा जग्गा कित्ताकाट तथा किनबेच पनि बढेको छ । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा करिब २४ हजार कित्ता जग्गा खरिद-बिक्री भएको जिल्ला मालपोत कार्यालय भक्तपुरले जनाएको छ । गत वर्षको तुलनामा जग्गा खरिद-बिक्री बढेको कार्यालयका सूचना अधिकारी महेश अधिकारीले जानकारी दिए ।

मालपोत कार्यालयका अधिकारी विचौलियाको विगविगीबारे सेवाग्राही स्वयं सचेत हुनुपर्ने बताउँछन् । ‘हामीकहाँ यति मूल्य हाल्यौं भन्दैनन्,’ सूचना अधिकारी अधिकारी भन्छन्, ‘लुकिछिपी हुने काम हामीले कसरी थाहा पाउने ?’ बाहिर जग्गा किनबेच अर्कै मूल्यमा गरे पनि मालपोतमा थैली देखाउँदा सरकारी मूल्यांकन नै देखाइने भएकाले केही थाहा नहुने अधिकारीले बताए ।

बाहिर तीन गुणासम्म बढी मूल्यमा किनबेच गर्ने र मालपोतमा सरकारी दर देखाउँदा ठूलो मात्रामा करछली पनि हुने गरेको छ । सानो रकम थैली देखाउँदा सरकारलाई कम कर तिर्न पाइने भएकाले क्रेता–विक्रेता दुवै यसमा सहमत हुन्छन् । ‘खरिदकर्ता र विक्रेता एकआपसमा मिलेर काम गरेपछि हामीले त्यसमा केही गर्न सक्दैनौं,’ सूचना अधिकारी अधिकारीले भने ।

जग्गाको कित्ताकाट र प्रयोगमा सरकारले कुनै मापदण्ड नबनाउँदा त्यसको फाइदा विचौलियाले उठाइरहेका छन् । जग्गा किनबेच र प्रयोगसम्बन्धी मापदण्ड बनाउने हो भने बिनालगानी ठूलो रकम आर्जन गर्ने धन्दा रोकिनेमात्र थिएन, जग्गाको अस्वाभाविक मूल्यवृद्धि पनि हुन नपाउने सर्वसाधारण बताउँछन् ।

प्रकाशित समय १९:२८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु