fbpx

गृहपृष्ठ अर्थमन्त्री खतिवडाको अन्तिम बजेट १६ खर्ब ५६ अर्बको

अर्थमन्त्री खतिवडाको अन्तिम बजेट १६ खर्ब ५६ अर्बको

budget-newskarobar

कार्यकालका हिसाबले अन्तिम बजेट ल्याउने तयारीमा रहेका डा. युवराज खतिवडाले बुधबार संसदमा १६ खर्ब ५६ रुपैयाँभन्दा बढीको बजेट पेस गर्ने भएका छन् । अर्थमन्त्री खतिवडाले दुवै सदनको संयुक्त बैठकमा बुधबार अपराह्न ३:४५ बजे आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट पेस गर्दै छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार कर्मचारीको तलबभत्ता वृद्धि, सरकारको प्रतिबद्धताअनुसारको सामाजिक सुरक्षा भत्ता वृद्धि र प्रदेश तथा स्थानीय तहमा दिइने अनुदान बढाउनुपर्ने भएकाले बजेटको आकार अस्वाभाविक रुपमा बढेको हो ।

आगामी बजेटको कार्यान्वयनका लागि करिब ११ खर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य छ । त्यस्तै, ३ खर्ब ६६ अर्ब रुपैयाँ वैदेशिक सहायताबाट परिचालन गर्ने र १ खर्ब ८९ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखिँदै छ ।

चालू आर्थिक वर्षका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएका थिए तर पूर्व विनियोजनअनुसार खर्च नहुने भएपछि बजेटको आकार १२ खर्ब ९९ अर्ब रुपैयाँमा झारिएको छ ।

 

लोकप्रिय कार्यक्रमका बाढी

चालू आर्थिक वर्षमा बजेट तयारीमा निकै सजगता अपनाएका अर्थमन्त्रीले आगामी वर्षको बजेटमा भने आफ्नो अडान राख्न सकेनन् । सांसदलाई दिइने रकमदेखि करिब दुई दर्जन लोकप्रिय कार्यक्रम बजेटमा समेटिने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार सामाजिक सुरक्षा भत्ता उपचार खर्चसहित एक हजार रुपैयाँले वृद्धि हुने भएको छ । सरकारले गेम चेन्जर आयोजनका रुपमा  महत्वकांक्षी केही ठूला आयोजनासँगै राष्ट्रिय गौरवका केही आयोजना सक्ने लक्ष्यअनुरुप बजेट ल्याउने भएको छ ।

पूर्वाधार निर्माणमा गति दिन बजेटको ठूलो हिस्सा त्यसका लागि छुट्याइएको स्रोतले बतायो । यस्तै, नेपाल भ्रमण वर्षलाई पनि निकै महत्व दिएर ठूलो बजेट छुट्याइएको छ ।

 

करका दायरा विस्तार

अर्थमन्त्री खतिवडाले महत्वकांक्षी बजेटका लागि स्रोत जुटाउन करका दायरा व्यापक विस्तार गर्ने भएका छन् । राजस्वका महत्वकांक्षी लक्ष्य प्राप्तिका लागि साना तथा मझौला उद्योग, व्यवसायलाई पनि करको दायरामा ल्याउने तयारी गरिएको छ । हालसम्म कायम रहँदै आएको आयकर छुटका सीमामा कुनै हेरफेर नगरी उपल्लो मध्यम वर्गमा करका दर बढाउने तयारी छ ।

प्रकाशित समय १५:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु