गृहपृष्ठ पाँच महिनामा थपिए बैँक तथा वित्तीय संस्थाका ३२१ शाखा
पाँच महिनामा थपिए बैँक तथा वित्तीय संस्थाका ३२१ शाखा
चार स्थानीय तहमा बैँक पुग्न बाँकी

पाँच महिनामा बैँक तथा वित्तीय संस्थाका ३२१ शाखा थपिएका छन् । नेपाल राष्ट्र बैँकले बुधबार जारी गरेको तथ्यांकअनुसार २०७६ असार मसान्तसम्ममा देशभर बैँक तथा वित्तीय संस्थाका ९ हजार ७६५ शाखा रहेकोमा मंसिर मसान्तसम्ममा १० हजार ८६ पुगेको छ ।
समीक्षा अवधिमा वाणिज्य बैँकका मात्रै १४९ शाखा थपिएका छन् । त्यस्तै विकास बैँकका तीन, वित्त कम्पनीका १० र १५९ शाखा थपिएको राष्ट्र बैँकको तथ्यांकमा उल्लेख छ ।
मंसिरसम्ममा देशभर वाणिज्य बैँकका शाखा संख्या ४ हजार ५८५ पुगेका छन् । त्यस्तै लघुवित्तको शाखा संख्या ४ हजार २१६ पुगेको छ भने विकास बैँकको १ हजार ३२ र वित्त कम्पनीको शाखा संख्या २५३ छ ।
देशभर बैँक तथा वित्तीय संस्थाको संख्या भने पाँच महिनामा ११ वटा घटेका छन् । असारसम्म १५५ वटा बैँक तथा वित्तीय संस्था अस्तित्वमा रहेकोमा मंसिरसम्ममा मर्जर तथा एक्विजिसनमा गएर १४४ मा झरेको छ । हाल वाणिज्य बैँक संख्या २७, विकास बैँक संख्या १९, वित्त कम्पनी २१, लघुवित्त ७६ र एउटा पूर्वाधार विकास बैँक छ ।
चार स्थानीय तहमा बैँक पुग्न बाँकी
हालसम्म देशका चारवटा स्थानीय तहमा बैँकका शाखा खुल्न बाँकी छन् । प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३६ वटामा बैँकका शाखा खुलेका छन् भने ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा शाखा खुलेको छैन । त्यस्तै बागमती प्रदेशका ११९ स्थानीय तहमध्ये धादिङको रूवी भ्याली गाउँपालिकामा बैँकको शाखा स्थापना भएको छैन ।
कर्णालीका ७९ स्थानीय तहमध्ये जाजरकोटको जुनीचाँदे गाउँपालिका र सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये बझाङको काँडा गाउँपालिकामा बैँक पुगेका छैनन् । प्रदेश २ का सबै १३६, गण्डकीका ८५ र लुम्बिनीका १०९ वटै शाखामा बैँक पुगिसकेका छन् ।
बैँक पुग्न बाँकी रहेका चार स्थानीय तहमा वित्तीय पूर्वाधार विकास गरी तत्काल शाखा खोल्ने प्रक्रिया अघि बढाइएको राष्ट्र बैँकले जनाएको छ । वित्तीय पूर्वाधारको अभावमा दुर्गम भेगमा पर्ने ती स्थानीय तहमा शाखा खोल्न नसकिएको हो ।
प्रकाशित समय २०:२३ बजे