fbpx
corona information

गृहपृष्ठ कोरोनाबाट थिलोथिलो बनेका व्यवसायीलाई एनआइसी एसिया बैंकको ‘अल्टिमेटम’

कोरोनाबाट थिलोथिलो बनेका व्यवसायीलाई एनआइसी एसिया बैंकको ‘अल्टिमेटम’

तत्काल ऋण नतिरे धितो लिलामी गरी असुलउपर गर्ने

nic-asia-bank-newskarobar

नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमणका कारण करिब ६ महिनादेखि व्यवसायमा ताला लगाउन बाध्य ऋणीलाई एनआइसी एसिया बैंकले तत्काल ऋण तिर्न ‘अल्टिमेटम’ दिएको छ । बैंकले १७ ऋणीलाई ३५ दिने सूचना सार्वजनिक गरी तोकिएको समयमा ऋण चुक्ता नभए धितोमा रहेको चलअचल सम्पत्ति लिलामी तथा बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी आफूले लिनुपर्ने रकम असुलउपर गर्ने जनाएको हो ।

बैंकले बिहीबार ६ ऋणी र शुक्रबार ११ ऋणीलाई ३५ दिनभित्र ऋण कर्जा चुक्ता गर्न सूचना निकालेको छ । यसरी सूचना निकालिएकामा कृषि फर्म, उद्योग, स्टोर, सप्लायर्स कम्पनी र अन्य ऋणी छन् । सूचनामा ऋणीका साथै जमानी बसेकाहरूलाई पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम राख्ने उल्लेख छ ।

पटक-पटक गरी मौखिक र लिखित रुपमा ताकेता गर्दासमेत कुनै चासो नदेखाई बेवास्ता गरिएकाले ऋण चुक्ता गर्न ३५ दिने सूचना प्रकाशन गरिएको बैंकले जनाएको छ ।

कोरोनाभाइरस संक्रमण फैलिन सुरु भएपछि चैत ११ यता अर्थतन्त्र ठप्प छ । साना-साना पसल, व्यवसायदेखि मझौता र ठूला उद्योगसमेत बन्द छन् । सुरुवाती चरणमा १२० दिने लकडाउन हटाएको सरकारले केही दिन नबित्दै भदौ ३ गतेदेखि निशेषाज्ञा जारी गरेको थियो । जसका कारण अधिकांशको रोजीरोटी गुमेको छ । पसल व्यवसाय ठप्प हुँदा व्यवसायी अतालिएका छन् । लामो समयको लकडाउनले घरभाडासमेत तिर्न नसकिएको भन्दै मिनाहाका लागि व्यवसायीले सरकारसमक्ष आग्रह गरिएका छन् ।

नयाँ बानेश्वर क्षेत्रका ४ सयभन्दा बढी व्यवसायी आबद्ध नयाँ बानेश्वर व्यापार व्यवसायी संघले पनि घरभाडा मिनाहाको माग गर्दै पसल व्यवसाय खोल्न दिन केही दिनअघि आग्रह गरेको थियो । चौतर्फी दबाबपछि स्थानीय तहहरूको सुझावसमेतलाई बेवास्ता गर्दै उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निशेषाज्ञा खुकुलो बनाएको छ । तर, हप्तामा तीन दिन पसल खोल्न पाउने व्यवसायी पनि कोरोनाको सन्त्रास कारण उपभोक्ता घरबाहिर ननिस्किएपछि हाइ काढ्दै बस्नुपरेको बताउँछन् ।

नयाँ बानेश्वर व्यापार व्यवसायी संघका कोषाध्यक्ष रमेशमान शाक्य कोरोना कहरबाट आत्तिएका व्यवसायीलाई राहत दिन सरकारले ६ महिना अवधिको घर भाडा मिनाहा गरी वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्ने बताउँछन् । त्यस्तै बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण ब्याज र सरकारलाई तिर्नुपर्ने विविध कर मिनाहा गर्न संघले माग गरेको छ । साना तथा मझौला व्यवसायीलाई बिनाधितो ऋणको व्यवस्था गर्न पनि संघले सरकारसँग आग्रह गरेको छ । तर, बैंकहरू भने समय पछाडि सार्नुभन्दा अफ्ठ्यारोमा परेका व्यवसायीलाई अत्याउन थालेका छन् ।

प्रकाशित समय ०७:४५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु