fbpx
corona information

गृहपृष्ठ संकटका बेला ब्याजदर कार्टेलिङ, राष्ट्र बैंकद्वारा बजार हस्तक्षेप

संकटका बेला ब्याजदर कार्टेलिङ, राष्ट्र बैंकद्वारा बजार हस्तक्षेप

घरबन्दीका ५० दिनमा थपियो साढे ९८ अर्ब निक्षेप

NRB_NewsKarobar

विश्वभरि नोबेल कोरोना भाइरस ((कोभिड–१९) कारण विश्वव्यापी आर्थिक संकट गहिरिँदै गएका बेला नेपालमा बैंकहरूले अनौपचारिक रूपमा ब्याजदरमा मिलेमतो (कार्टेल) गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले बजार हस्तक्षेप गरेको छ ।

सरकारको स्र्रोत परिचालन कमजोर भएपछि यस वर्ष धमाधम आन्तरिक ऋण उठाउन थालेको छ । हरेक सोमबार गरिने सरकारी ऋणपत्र, ट्रेजरी बिलको बोलकबोलमा बैंकहरूले मिलेमतो गरि उच्च ब्याजदर ‘कोट’ गर्न थालेपछि राष्ट्र बैंक झस्किएको हो ।

सरकारी ऋणपत्रको ब्याजदर बढ्दा त्यसले सर्वसाधारण लिने ऋणको ब्याजदरमा पनि असर पार्छ । राष्ट्र बैंकको ब्याजदर निर्धारण समितिले निश्चित दरभन्दा माथि ब्याजदर जाने संकेत देखाएपछि त्यसमा सीमा (क्याप) तोक्ने गर्छ ।

गत वैशाख ३० गतेको बोलकबोलमा न्युनतम ३ देखि ५.१५ प्रतिशतसम्मको बट्टादरमा सरकारी ऋणपत्र किन्ने उल्लेख गरेका थिए । हाल ट्रेजरी बिलको औसत बट्टादर ९१ दिनका ३.२६ प्रतिशत र  ३६४ दिनका ४.९५ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले राष्ट्र बैंकद्वारा बजार हस्तक्षेप गरिएको स्वीकार गरे । ‘बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको १३ अर्ब ३० करोड रुपैयाँबराबरको सरकारी सुरक्षण राष्ट्र बैंकले खरिद गरेको हो,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले न्युज कारोबारसँग भने ।

बैंकहरूबाट राष्ट्र बैंकले आफ्नो स्वामित्वमा फिर्ता लिएपछि त्यो पैसा बजारमा नगद प्रवाहका रूपमा फर्किएको छ । वैशाख ३१ सम्म यसरी चलन चल्तीमा रहेको नगदको अनुपात ५ खर्ब ४५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ, यो मुलुकमा लकडाउन हुनुपूर्व चैत १० गते ५ खर्ब ३९ अर्ब २० करोड रुपैयाँ थियो ।

थपियो साढे ९८ अर्ब निक्षेप

मुलुकभित्र कोभिड–१९ को संक्रमण नफैलिओस् भनेर घरबन्दी अबलम्बन गरिएको अवधिमा आमनागरिकहरूले बैंकहरूबाट ठूलो अनुपातमा निक्षेप झिकेको अनुमान भए पनि बैंकिङ प्रणालीमा भने उल्टै ९८ अर्ब ६० करोड रुपैयाँ निक्षेप थपिएको छ ।

चैत १० गते बैंकिङ प्रणालीमा कुल ३५ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ निक्षेप रहेकोमा वैशाख ३१ गते यसमा वृद्धि भइ ३६ खर्ब ९३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

‘चैत १० गतेसम्म निक्षेप झिक्ने क्रम बढेको देखिएको थियो, चैत १ गतेदेखि १० गतेका बीचमा ११ अर्ब रुपैयाँ निक्षेप झिकिएको भए पनि विस्तारै निक्षेप झिक्ने क्रम घट्दै गएको देखिन्छ,’ डा. भट्टले भने ।

उनका अनुसार बैंकिङ क्षेत्रका निक्षेप बढ्नुमा सरकारको खर्चले पनि प्रभाव पारेको छ । यो ५० दिनको अवधिमा सरकारले करिब १ खर्ब १० अर्ब रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको विवरणले देखाएको छ ।

यसबीचमा बैंकिङ क्षेत्रको कर्जा पनि १८ अर्ब ९० करोड रुपैयाँले बढेको छ । चैत १० गते बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा ३२ खर्ब १८ अर्ब ६० करोड रुपैयाँ रहेकोमा वैशाख ३१ गते ३२ खर्ब ३७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

संकटपूर्व नै प्रक्रियामा रहेका केही ठूला संस्थागत ऋण परिचालन भएकाले यो अनुपातको ऋण बढेको हुनसक्ने राष्ट्र बैंकको ठहर छ ।

प्रकाशित समय १५:३३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु