गृहपृष्ठ घरबाटै मुद्दती खाता नवीकरण गर्न सकिने

घरबाटै मुद्दती खाता नवीकरण गर्न सकिने

Fixed_NewsKarobar

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको जोखिमका कारण लकडाउनका अवधि वैशाख ३ गतेसम्म लम्ब्याइएपछि बैंकहरूले घरबाटै मुद्दती खाता नवीकरण गर्न सकिने व्यवस्था गरेका छन् ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लकडाउनको अवधि वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो ।

बैंकहरूको संस्था नेपाल नेपाल बैंकर्स संघले लकडाउनका कारण ग्राहकहरु बैंक शाखामा पुग्न नसक्ने अवस्थामा परिपक्व भएका वा हुने मुद्दती निक्षेपको नवीकरणका लागि बैंकमा रजिष्टर गरिएको इमेल/फोन मार्फत् अनुरोध गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

यसैबीच, बैंकिङ क्षेत्रका ग्राहकहरूलाई सेवा नवीकरण, मासिक किस्ता एक्सटेन्सन वा स्थगित गर्ने भन्दै खाता नम्बर, पिन नम्बर, ओटिपी, पासवर्ड माग्ने क्रम बढेपछि बैंकहरूले सावधानी अपनाउन ग्राहकहरूलाई सचेत तुल्याएका छन् ।

यस्ता समूहले ग्राहकहरूको व्यक्तिगत सूचना, पासवर्ड, पिन नम्बर संकलन गरी दुरुपयोग गर्ने खतरा बढेपछि बैंकर्स संघले सचेतता अपनाउन भनेको हो ।

‘यो विषम परिस्थितिमा सकेसम्म विद्युतीय कारोबार गर्नुहुन र आफ्नो खाता नम्बर, पिन नम्बर,लगायतका व्यक्तिगत विवरणहरु कसैलाई नदिनु हुन तथा विद्युतीय कारोबारमा हुनसक्ने जोखिमलाई ध्यानमा राखी सुरक्षित कारोबार गर्नुहुन अनुरोध गर्दछौं,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु