गृहपृष्ठ अन्तर बैंक भुक्तानी प्रणालीपछि पनि बैंकपिच्छे वचत खाता

अन्तर बैंक भुक्तानी प्रणालीपछि पनि बैंकपिच्छे वचत खाता

many-bank-account-newskarobar

एक दशक अघिसम्म कृषि विकास बैंकका जुन शाखामा खाता खोल्यो, त्यही शाखाबाट मात्र कारोबार गर्न सकिन्थ्यो । सरकारी स्वामित्वको यो कम्पनी २०६७ सालमा अनलाइन सिस्टममा गएपछि जुनसुकै शाखाको कारोबार जुनसुकै शाखाबाट हुन थाल्यो । नेपाल बैंकको अवस्था पनि उस्तै थियो । नेपाल क्लियरिङ हाउसको आईपीएस कनेक्टमा आबद्ध भएपछि नेपाल बैंक निजी क्षेत्रका कम्पनीजत्तिकै प्रविधिमैत्री भएको छ ।

उच्च प्रतिस्पर्धी क्षमता भएका निजी क्षेत्रका बैंकहरु प्रविधिको प्रयोगमा निकै अगाडि पुगिसकेका छन् । ग्राहकलाई कसरी सहज ढंगले सेवा दिने र निरन्तर आफूतर्फ आकर्षित गर्ने भन्ने ध्याउन्नमा रहेका वित्तीय संस्था प्रविधिमैत्री बन्दै गएका हुन् । अहिले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङलगायतका सेवा सुविधा अधिकांश वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले दिएका छन् ।

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मोबाइलदेखि टेलिभिजन, टेलिफोन, बिजुलीको बिल तिर्नदेखि अरुको खातामा रकम ट्रान्सफर गरिदिने कामका लागि समेत उपयोगी भइरहेका छन् । कनेक्ट आईपीएसमा आबद्ध वित्तीय संस्थाहरुबीच सहजै रकम ट्रान्सफर हुन सक्छ । नेपाल क्लियरिङ हाउसमा आबद्ध ७५ वटा बैंक, विकास बैंक र वित्त कम्पनीमध्ये वाणिज्य बैंक २४, विकास बैंक १८ र वित्त कम्पनी ९ वटा अन्तर बैंक भुक्तानी प्रणालीमा आबद्ध छन् । सरकारी स्वामित्वका कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक तथा निजीतर्फका स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नेपाल एसबीआई बैंक भने कनेक्ट आईपीएसमा आबद्ध भएका छैनन् ।

अन्तर बैंक भुक्तानी प्रणालीमा आबद्ध भएका वित्तीय संस्थाहरुमा ग्राहकको रकम स्थानान्तरण, लाभांश भुक्तानी, आईपीओ रिफन्ड, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन, तलब तथा रेमिट्यान्स भुक्तानी सहज हुन्छ । तर, कम्पनीपिच्छे खाता खोल्नुपर्ने अवस्थामा भने सुधार आएको छैन ।

खाता भने एकै व्यक्तिसँग ५-६ वटा
अन्तर बैंक भुक्तानी प्रणालीमा ५१ वटा बैंक, विकास बैंक र वित्त कम्पनीका साथै आईएमई पे, डिसहोम, खल्तीलगायतका ९ वटा संस्था आबद्ध छन् । तर, एकै जनाले धेरै वित्तीय संस्थामा वचत खाता खोल्ने क्रम अझै रोकिएको छैन ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले करिब ८९ प्रतिशत नेपालीसँग बैंक खाता छ । तर, वास्तविकतासँग यो तथ्यांक मेल खाँदैन । राष्ट्र बैंकको चैतसम्मको तथ्यांकअनुसार २ करोड ६९ लाख १० हजार बैंक खाता खुलेका छन् । यसको ३३.६ प्रतिशत अर्थात् ९० लाख ४१ हजार हाराहारी वचत खाता छन् । ८.६ प्रतिशत चल्ती, ४७.३ प्रतिशत मुद्धति, ९.८ प्रतिशत कल डिपोजिट र ०.७ प्रतिशत मार्जिन खाताको हिस्सा छ ।

केन्द्रीय तथ्यांक विभागले श्रमशक्ति सर्भेका लागि गणना गरेको वयस्क उमेरका मानिसको संख्या २ करोड ९० लाख २२ हजार छ । यस आधारमा हेर्दा करिब ३१ प्रतिशत वचत खाता छन् । मुख्य सवाल ९० लाख ४१ हजार वटा बैंक खाता हो, ९० लाख ४१ हजार जनासँग बैंक खाता छ भन्ने होइन ।

एकै जनासँग ५-६ वटा बैंक खाता छन् । कतिले बदनीयतपूर्वक खोल्लान् त कतिले बाध्यतामा तर ५-६ वटा बैंकमा खाता हुनेहरुको संख्या पनि ठूलै छ । प्रायः कर्मचारीको ट्रान्जेक्सन उच्च हुने मिडिया, बैंकलगायतका कम्पनीमा कार्यरतहरुको बैंक खाता धेरै छन् । कम्पनी परिवर्तन हुँदैपिच्छे नयाँ-नयाँ खाता खोलिन्छन् । पाँचवटा कम्पनीमा जागिर परिवर्तन भयो भने खाता पाँचवटै खुलिसक्छन् । केन्द्रीय बैंकले अन्तर बैंक कारोबारका लागि अनुमति दिएको डेढ वर्ष बितिसक्दा पनि धेरै कम्पनीमा बचत खाता खुल्ने क्रम रोकिएको छैन ।

स्टाफ खातामा तलब पठाउने प्रयोजनका लागि अन्तर बैंक कारोबार झन्झटिलो हुने बैंकका कर्मचारी बताउँछन् । ‘अन्तर बैंक कारोबारका लागि अनिवार्य इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) फाराम भर्नुपर्छ,’ जनता बैंककी एक कर्मचारीले भनिन्, ‘त्यसैले नियमित कारोबार गर्नुपर्ने ठाउँमा त्यही बैंकको खाता खोल्दै सहज हुन्छ ।’ धेरै कर्मचारी भएका कम्पनीले त्यहीँ खाता खोल्नुपर्ने यस्तै बाध्यताका कारण जागिर परिवर्तन हुँदैपिच्छे खाता खुल्दै जाने अवस्था आएको उनले बताइन् । मिडिया, बैंक तथा वित्तीय संस्थालगायतका क्षेत्रमै यस्तो समस्या धेरै रहेको उनले जानकारी दिइन् ।

के फरक पर्छ ?
बैंक खाता खोल्ने भनेको आफूसँग भएको रकम जम्मा गर्न र आवश्यक पर्दा झिकेर प्रयोग गर्नका लागि हो । एउटै प्रयोजनका लागि वटा बैंकमा खाता खोल्दा खातावालालाई नै धेरै समस्या हुन्छ ।
धेरैवटा खाता हुँदा हस्ताक्षरलगायतमा समस्या हुनसक्छ । मोबाइल बैंकिङ पासवर्ड, इन्टरनेट बैंकिङ पासवर्ड सम्झिन झन्झटिलो हुन्छ । त्यस्तै खाता अद्यावधिक गरिरहनुपर्ने झन्झट हुन्छ । खाता अद्यावधिक गर्दा र नगर्दा पनि विभिन्न किसिमका जरिवाना र शुल्कहरु बुझाइरहनुपर्ने हुन्छ । केवाईसी अपडेट गरिरहनुपर्ने हुँदा समयको बर्बादीसमेत हुन्छ ।

प्रकाशित समय १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु