fbpx
Nepal Mediciti

गृहपृष्ठ अधिकांश बैंकको ब्याजदर घट्यो, कुन बैंकमा ब्याज सस्तो ?

अधिकांश बैंकको ब्याजदर घट्यो, कुन बैंकमा ब्याज सस्तो ?

bank-profit-newskarobar

वाणिज्य बैंकहरुले जारी गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंकको आधार ब्याजदर (बेस रेट) घटेको छ । लामो समयदेखि तरलता अभाव झेलिरहेका बैंकहरुले तरलता समस्या खासै समाधान नभए पनि आधार ब्याजदर भने घटाएका हुन् । आधार ब्याजदर घटेपछि बैंकहरुको ब्याजदर पनि स्वतः घट्छ ।

तरलता अभावको चपेटामा परेका वाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याजदरमा भद्र सहमति गर्दै सीमा तोके पनि स्प्रेड दरमा खेल्दै कर्जाको ब्याजदर नघटाएपछि नाफा भने उल्लेख्य बढाएका छन् । गत वर्षको चैतसम्ममा ३८ अर्ब ६ करोड नाफा गरेका वाणिज्य बैंकहरुले चालू आवको सोही अवधिमा ४५ अर्ब ६६ करोड नाफा कमाएका छन् । पुँजी वृद्धिका कारण आक्रामक रुपमा व्यापार विस्तार गरेपछि बैंकहरुको नाफामा उच्च वृद्धि देखिएको हो ।

वित्तीय विवरणअनुसार सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधार ब्याजदर सबैभन्दा कम छ । वाणिज्य बैंकले गत वर्षको ६.२ प्रतिशतबाट आधार ब्याजदर घटाएर ५.३८ प्रतिशतमा झारेको छ । बैंकको खुद ब्याज आम्दानी भने गत वर्षको नौ महिनाको तुलनामा १ अर्ब १८ करोडले बढेर चालू आवको नौ महिनामा ७.३७ अर्ब पुगेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा पनि ३ अर्ब ८ करोडबाट बढेर तीन अर्ब ४९ करोड पुगेको छ, यो १३.४३ प्रतिशतको वृद्धि हो ।

सरकारी स्वामित्वकै नेपाल बैंकले आधार ब्याजदर ७.११ बाट घटाएर ६.९२ प्रतिशतमा झारेको छ भने अर्को सरकारी वित्तीय संस्था कृषि विकास बैंकको आधार ब्याजदर भने सबैभन्दा उच्च छ । कृषि विकास बैंकको आधार ब्याजदर १२.७२ बाट घटेर ११.१६ प्रतिशतमा झरेको छ ।

bank-base-rate-newskarobar

निजीतर्फ स्ट्यान्डर्ड चार्डड बैंकको आधार ब्याजदर सबैभन्दा कम ७.७४ प्रतिशत छ । गत आवको चैतमा ७.२ प्रतिशत रहेकोमा बैंकले आधार ब्याजदर बढाएको हो । अर्को निजी क्षेत्रको नबिल बैंकको आधार ब्याजदर ७.९९ प्रतिशत छ । गत वर्षको चैतमा ७.३३ प्रतिशत रहेकोमा बैंकको बढाएर ७.९९ प्रतिशत पुर्याएको हो । अरु वाणिज्य बैंकले पनि चैतमा आधार ब्याजदर घटाएका छन् । तर, घटाएपछि पनि अधिकांशको आधार ब्याजदर दोहोरो अंकको हाराहारीमा छ । सेन्चुरी, सिभिल र कुमारी बैंकको आधार ब्याजदर अझै पनि ११ प्रतिशतभन्दा माथि छ ।

बैंकहरुको औसत नाफा २० प्रतिशतभन्दा धेरैले बढेको छ । व्यवसाय विस्तारलाई तीव्र बनाएका केही कम्पनीले डेढ सय प्रतिशतसम्म नाफा बढाएका छन् । गत वर्षको चैतसम्मको तुलनामा चालू आवको सोही अवधिमा एनआईसी एसिया बैंकले १४५ प्रतिशतले नाफा वृद्धि गरेको छ भने मेगा बैंकको नाफा १३१ प्रतिशतले बढेको छ । अन्य कम्पनीको नाफामा पनि उच्च वृद्धि छ । चैतसम्ममै ८ वटा कम्पनीको खुद नाफा २ अर्बभन्दा धेरै छ ।

interest-income-newskarobar

कर्जामा उच्च ब्याज लिएका कारण बैंकहरुको नाफा पनि उच्च देखिएको हो । जसको असर मुलुकको औद्योगीकरणमा परिरहेको छ । चर्को ब्याजदरमा उद्योगीहरु कर्जा लिन असमर्थ हुन्छन् । परिणामतः औद्यागिक उत्पादनमा ह्रास आउँछ । तर, दुई अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको सरकारले बैंकको ब्याजलाई एक अंकभन्दा तल राख्ने विषयलाई भने नजरअन्दाज गरिरहेको अर्थविद् दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । ‘उत्पादन वृद्धि र औद्योगिक वातावरणका लागि ब्याजदरलाई निश्चित सीमाभित्र राख्नैपर्छ,’ उनी भन्छन्, ‘ठूलो मात्रामा बाह्य पुँजी आउने अवस्था नरहेसम्म आन्तरिक पुँजी परिचालनलाई व्यापकता दिन सरकारले बैंकहरुको ब्याज ४-५ प्रतिशतभित्र रहनुको विकल्प छैन ।’

net-profit-newskarobar

(तथ्यांकहरू कम्पनीहरूले हालै प्रकाशित गरेको वित्तीय विवरणबाट लिइएको हो ।)

प्रकाशित समय १६:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु