fbpx
corona information

गृहपृष्ठ एनसेलका ग्राहक लगातार घट्दै

एनसेलका ग्राहक लगातार घट्दै

देशको जनसंख्या ३ करोड, फोनका ग्राहक ३ करोड ७६ लाख

Phone_NewsKarobar

कुनै समयमा आक्रामक बजारीकरण गरेर नेपालको दूरसञ्चार बजारमा उदाएको संयुक्त लगानीको एनसेलले लगातार ग्राहक गुमाउन थालेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाएको छ । विगत एक वर्षमा मात्रै एनसेलका ग्राहक संख्यामा १४ लाख ६९ हजारले कमी आएको छ ।

एनसेल प्रालिको ८० प्रतिशत सेयर खरिद-बिक्री हुँदा भएको लाभकर छली विवादपछि यसका ग्राहकहरूमा लगातार कमी आउन थालेको हो । त्यसपछि पनि सो कम्पनीको खस्केको साख माथि उठ्न नसक्दा नयाँ ग्राहक थपिने क्रममा कमी आएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्राधिकरणका अनुसार विगत एक वर्षका अवधिमा नेपाल टेलिकमले ३२ लाख ५९ हजार ग्राहक गुमाएको छ भने एनसेलले १४ लाख ६९ हजार ग्राहक गुमाएका छन् । विगतमा दूरसञ्चार सेवा प्रदायकहरूले बेचेको सिमकार्डका आधारमा ग्राहक संख्या गणना हुने भए पनि प्राधिकरणको नयाँ व्यवस्थाअनुसार ६ महिनासम्म नचलेका सिमकार्ड निष्क्रिय गरी त्यो नम्बर नयाँ ग्राहकलाई बिक्री गरिँदा ग्राहक संख्यामा कमी आएको देखिएको हो ।

दूरसञ्चार प्राधिकरणका अनुसार २०७६ असोजमा नेपाल टेलिकमका ग्राहक २ करोड ३४ लाख ८ हजार ५६० जना भएकोमा २०७७ भदौमा यो संख्या २ करोड १ लाख ४९ हजार २०५ जनामा झरेको छ ।

यस्तै, २०७६ असोजमा एनसेलका ग्राहक १ करोड ६८ लाख १ हजार ४१ जना रहेकोमा २०७७ भदौमा यो संख्या १ करोड ५३ लाख ३१ हजार ८९० जनामा झरेको छ ।  यो एक वर्षका अवधिमा स्मार्ट टेलिकमले भने आफ्ना ग्राहकको संख्यामा ८५ हजारले वृद्घि गरेको छ ।

लकडाउनपछि चैतदेखि भदौसम्म टेलिकमका ग्राहक ५ लाख ४३ लाखले बढेको छ भने एनसेलका ग्राहक ९ लाख ६० हजारले घटेको प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार गत चैतमा टेलिकमका ग्राहक १ करोड ९६ लाख ५ हजार ९१० भएकोमा भदौमा २ करोड १ लाख ४९ हजार २०५ पुगेको छ भने एनसेलका ग्राहक गत चैतमा १ करोड ६९ लाख ६१ हजार ९८ जना रहेकोमा भदौमा १ करोड ५३ लाख ३१ हजार ८९० जनामा झरेको छ ।

फोनका ग्राहक पौने चार करोड

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालभरिको जनसंख्या भरखर ३ करोड १ लाख ४९ हजार पुगेको छ, यीमध्ये वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा करिब ४० लाख नेपाली लामो समयदेखि देश बाहिर रहेको अनुमान छ । तर, देशमा दूरसञ्चार सेवा प्रदान गर्दै आएका सेवाप्रदायकहरूले भदौ मसान्तसम्म ३ करोड ७६ लाख ४३ हजार ७५५ वटा सीम/फोन लाइन बेचिसकेका नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यो गत भदौ मसान्तसम्मको तथ्यांक हो ।

प्राधिकरणको तथ्यांकअनुसार कुल २ करोड १ लाख ४९ हजार ग्राहकसहित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) पहिलो स्थानमा छ भने १ करोड ५३ लाख ३१ हजार ८९० ग्राहकसहित निजी क्षेत्रको एनसेल नेपाल दोस्रो स्थानमा छ । टेलिकमले कुल बजार हिस्साको ५३.५३ प्रतिशत र एनसेलले ४०.७३ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

दूरसञ्चार बजारमा तेस्रो प्लेयरका रूपमा रहेको स्मार्ट टेलिकमका २१ लाख ५९ हजार ७७५ जनामात्रै ग्राहक छन् । युटिएल, हेलो नेपाल, सीजी टेलिकम (नेपाल स्याटेलाइट टेलिकम)जस्ता कम्पनीहरू प्राधिकरणलाई नवीकरण शुल्क नै नबुझाएका कारण अस्तित्वविहीन भएका छन् ।

प्रकाशित समय १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु