fbpx
corona information

गृहपृष्ठ ईसेवाका बैंक कनेक्सनमा समस्या, सैयौं ग्राहक प्रभावित

ईसेवाका बैंक कनेक्सनमा समस्या, सैयौं ग्राहक प्रभावित

ESewa_NewsKarobar

नेपालको प्रमुख मोबाइल वालेट कम्पनी ईसेवाको बैंकसँगमा आइतबारदेखि सुरु भएको ‘कनेक्सन’ समस्या सोमबार बिहानसम्म समाधान नहुँदा यो सेवा चलाउने सैयौं ग्राहकहरु समस्यामा परेका छन् ।
ईसेवाको ‘सेटलमेन्ट बैंक’ का रुपमा रहेको नबिल बैंकमा आइतबार बिहान १० बजेदेखि नै ‘स्वीच’मा समस्या आएपछि नेपालभरिका ईसेवा ग्राहकहरूले कुनै पनि बैंकबाट इसेवामा पैसा हाल्न (लोड गर्न) र इसेवाबाट बैंक खातामा ट्रान्सफर गर्न पाएनन्। फोनपे सेवाका ग्राहकले पनि समान समस्या झेलेको बताएका छन्, दुवै एकै कम्पनी एफवन सफ्टका सेवा हुन् ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले आइतबार १० बजेदेखि ३ बजेसम्म समस्या आएको भए पनि साँझबाटै हल भइसकेको बताए पनि सोमबार बिहानसम्म बैंक ट्रान्सफर नभएको गुनासो ईसेवा प्रयोगकर्ताहरूले गरेका थिए ।

उनका अनुसार हाल ईसेवाका ३५ लाख ग्राहक भएकोमा दैनिक ७ लाखले दैनिक कारोबार गर्ने गरेका छन् । ‘दैनिक औसत ७० हजारले बैंकबाट ईसेवामा कारोबार गर्ने गरेकोमा हिजो ५५ हजारमात्र बैंक कारोबार भएको छ । करिब १५ हजार ग्राहकको मात्र सेवा अवरुद्ध भएको हो,’ सापकोटाले भने ।

उनले १५ हजार ग्राहकको मात्र सेवा रोकिएको बताए पनि आइतबार दिनभरि ईसेवा अकाउन्टमा कुनै पनि बैंकबाट कारोबार गर्न मिलेको थिएन भने सोमबार बिहान साढे १० बजेसम्म अझै ‘ट्रान्जेक्सन इरर’को समस्या देखाइरहेको थियो ।

‘सुरुमा बैंकहरूमा हाम्रो कनेक्सन समस्याले कारोबार नभएकोमा अहिले एकैचोटी बढी कारोबार (ट्राफिक)का कारण समस्या आएको हो, हामीले समस्या समाधान गरिसकेका छौं,’ सापकोटाले भने ।

उनले बैंकमार्फत हुने कारोबारमा हुने समस्या आए पनि ‘मर्चेन्ट’ भुक्तानी कारोबारमा कुनै ठूलो असर नपारेको दाबी गरे । ‘अधिकांश ग्राहकको ईसेवामा पैसा रहने नै हुँदा बैंकहरूसँगको कारोबारमा असर पारे पनि मर्चेन्ट भुक्तानीमा ठूलो असर पारेन,’ सापकोटाले भने ‘हिजो हाम्रो कुल मचेन्ट भुक्तानी कारोबारमा ५ देखि १० प्रतिशतसम्ममात्रै असर पारेको देखियो ।

प्रकाशित समय ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु