fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ वर्ल्डलिंकको ‘फ्री वाइफाई’मा फेसबुकसँग साझेदारी

वर्ल्डलिंकको ‘फ्री वाइफाई’मा फेसबुकसँग साझेदारी

Wlink_Facebook_NewsKarobar

विगत दुई वर्षदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराउँदै आएको वर्ल्डलिंक कम्युनिकेसनले निःशुल्क र पहुँचयुक्त तीव्र गतिको वाइफाई सेवाका लागि फेसबुकसँग सहकार्य गरेको छ ।

हाल देशका १० हजार स्थानमा वर्ल्डलिंकले समय र निश्चित डाटामा आधारित ‘फ्री वाइफाई’ सेवा उपलब्ध गराउँदै आएकोमा फेसबुकको सहकार्यमा ७ हजार ५ सय स्थानमा यो सेवालाई परिस्कृत गरिएको हो ।

वर्ल्डलिंकले बिहीबार आयोजना गरेको बिहीबार भर्चुअल पत्रकार सम्मेलनमा फेसबुकसँगको सहकार्यमा सञ्चालन हुने ‘एक्सप्रेस वाइफाई’ अन्तर्गत अब एक पटक कुनै पनि स्थानमा ओटीपी राखेर दर्ता भएका प्रयोगकर्ताले फेरि दोहोर्‍याएर ‘रजिष्ट्रेसन’ गर्नु नपर्ने र तोकिएको समयावधि सकिएपछि पनि पुनः प्रायोजित भिडियो हेरेर अतिरिक्त समय निःशुल्क वाइफाई चलाउन पाइने जानकारी दिइयो ।

वर्ल्डलिंकका वाइफाई परियोजनाका व्यवस्थापक पुनित मानन्धरले सन् २०१८ देखि सीमित सार्वजनिक स्थानहरूमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइदै आइएकोमा हाल देशका १० हजार स्थानमा सञ्चालित वाइफाई स्टेसनबाट ५ लाखले निःशुल्क सेवा लिएको जानकारी दिए ।

उनका अनुसार ती स्थानमा आफ्नो मोबाइल नम्बर एक पटक राखेर ‘रजिष्टर्ड’भएका सेवा प्रयोगकर्ताले अब दोहोर्‍याएर दर्ता नगरी कुनै पनि वाइफाई स्टेसनबाट निःशुल्क इन्टरनेट सेवा लिन सक्नेछन् ।

हालसम्म स्वदेशी मोबाइल नम्बर भएका व्यक्तिले मात्र निःशुल्क इन्टरनेट चलाउने अवसर पाउँदै आएकोमा फेसबुकसँगको सहकार्यपछि नेपाल आउने विदेशी वा विदेशी नम्बर हुनेले पनि ह्वाट्सएपमार्फत ओटीपी (वन टाइम पासवर्ड) राखेर निःशुल्क वाइफाई चलाउन पाउने उनले बताए ।

फेसबुकसँगको सहकार्यले सस्तो र पहुँचयुक्त इन्टरनेट सेवा पुर्‍याउने वर्ल्डलिंकको उद्देश्यमा सघाउ पुग्ने कम्पनीका प्रबन्ध निर्देशक दिलीप अग्रवाल बताउँछन् । उनले पहुँचयुक्त इन्टरनेट सेवा विस्तारका लागि सरकारको सहयोग गरेमा यो सेवा अझ धेरै स्थानमा पुर्‍याइने घोषणा गरे ।

कम्पनीले सन् २०२३ सम्म देशभरि ३० हजार निःशुल्क वाइफाई स्टेसन स्थापना गर्ने घोषणा गरेको छ, जसमा एक पटकमा कम्तिमा आधा घण्टादेखि २ घण्टा वा ५०० एमबीसम्म निःशुल्क इन्टरनेट चलाउन पाइनेछ ।

फेसबबुकसँगको सहकार्य भएका निःशुल्क वाइफाई स्टेसनमा भने भिडियो विज्ञापन हेरेर अतिरिक्त समय निःशुल्क इन्टरनेट चलाउने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

फेसबुकको ग्रोथ म्यानेजर अमित सिंहले फोरजीजस्ता सेवा नपुगेका विपन्न समुदाय, फोरजीका पहुँच नभएका क्षेत्रलगायत बढी भीडभाड हुने, इन्टरनेट आवश्यकता बढी भएका क्षेत्रहरूमा पहुँचयुक्त सेवा पुर्‍याउनका लागि ‘एक्सप्रेस वाइफाई’को अवधारणा ल्याइएको बताए ।

प्रकाशित समय १७:१६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु