fbpx
corona information

गृहपृष्ठ वर्ल्ड लिंकले आईपीओ जारी गर्ने

वर्ल्ड लिंकले आईपीओ जारी गर्ने

नेपालका पुरानो इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंक कम्युनिकेसनले आगामी तीन वर्षभित्रमा सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्ने भएको छ । वर्ल्ड लिंक स्थापनाको २५ वर्ष पुगेको अवसरका कम्पनीद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष दिलीप अग्रवालले आगामी तीन वर्षभित्र आईपीओ जारी गर्ने बताए ।

उनले आईपीओ जारी गर्ने कुरा समय र परिस्थितिमा निर्भर हुने बताए । उनका अनुसार कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड रूपैयाँ रहेको छ । अग्रवालले कति रकमको सेयर सर्वसाधारणलाई जारी हुने भन्ने खुलाएनन् । वर्ल्डलिंकले गत वर्षमात्र बेलायतको सीडीसीबाट संयुक्त वैदेशिक लगानी भित्र्याएको थियो ।

सञ्चालनको २५ वर्ष पूरा हुँदा नेपालको सबैभन्दा ठूलो इन्टनेटसेवा र तेस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक बनेको उल्लेख गर्दै अग्रवालले कम्पनीले देशका सहरीदेखि ग्रामीण क्षेत्रसम्म सेवा पुर्‍याएको अग्रवालले दाबी गरे ।

सामाजिक सञ्जालहरूमा कम्पनीका सेवाप्रति बढेको गुनासोप्रति आफूहरू जानकार रहेको भन्दै समाधानका लागि कम्पनीले पहल गरिरहेको उनले बताए । ‘ठूलो कम्पनी भएको र धेरै ग्राहक भएका नाताले अरुका तुलनामा धेरै गुनासो आउनु स्वभाविक हो । यदि फेसबुक-ट्वीटरमा लेखिएका गाली पढेर बस्ने हो त मैले आत्महत्या गरिसक्नु पर्थ्यो वा कम्पनी नै बन्द गरेर बस्नु पर्थ्यो,’ अग्रवालले भने ।

उनले लकडाउनका कारण फेसबुक, युट्युब, टिकटकलगायतका एप्लिकेसनहरूले बढी ब्यान्डविथ खपत गरिदिएकाले पनि इन्टरनेट सुस्त भएको दाबी गरे । ‘प्रत्येक इन्टरनेट सेवा प्रदायकले सुरुमा ब्यान्डविथ किनेर ल्याउँदा त्यसको सम्भाव्य उपयोगबारे प्रक्षेपण गरेको हुन्छ तर कोरोना महामारीपछि लकडाउनले गर्दा नसोचेको ब्यान्डविथ खपत हुन पुग्यो, जसले गर्दा इन्टरनेट स्लो भएको हो,’ उनले भने ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालका अनुसार टिकटकले मात्र ८० जीबीपीएस ब्यान्डविथ खपत गरिरहेको छ । नेपालका अनुसार लकडाउनपछि इन्टरनेट ब्यान्डविथ खपत ४० प्रतिशतले बढेको छ, जसको ठूलो हिस्सा टिकटक, युट्युब, फेसबुक, जुमलगायतका एप्लिकेसनहरूले खपत गरिरहेका छन् ।

प्रकाशित समय १७:०९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु