fbpx
Nepal Mediciti

गृहपृष्ठ टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ सौराहाबाट

टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ सौराहाबाट

नेपाल टेलिकमका लागि २०७६ समृद्धिको वर्ष : सञ्चारमन्त्री

nepal-telecom-newskarobar

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चितवनको सौराहामा नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) सेवाको औपचारिक सुरुवात गरेका छन् । दूरसञ्चार कार्यालय सौराहामा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले एफटीटीएच सेवामार्फत उपलब्ध भ्वाइस सुविधा प्रयोग गरी रत्ननगर नगरपालिका प्रमुख नारायण वनलाई टेलिफोन कल गरी सेवाको औपचारिक थालनी गरेका हुन् ।

कार्यक्रममा उनले यो वर्ष धेरै आयोजना कार्यान्वयनका क्रममा रहेकाले नेपाल टेलिकमका लागि समृद्धिको वर्ष हुने बताए । उनले सरकारको डिजिटल नेपालको लक्ष्यलाई साकार बनाउन कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्न र कम नाफा हुने स्थानमा समेत कम्पनीका सेवा सुविधा उपलब्ध गराउन आग्रह गरे ।

कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारको सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिक आदि क्षेत्रका नीतिलाई साकार बनाउन कम्पनीले पहल गरिरहेको र ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पुर्याउन सदैव अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभा सदस्य कृष्ण खनालले प्रविधिलाई जनतासँग जोड्न टेलिकमले खेलेको भूमिकाको सराहना गरे । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सेवा सुविधा चुस्त दुरुस्त रुपमा प्रदान गर्न अनुरोध गरे । नेपाल टेलिकम वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले सेवालाई चुस्तदुरुस्त बनाउने प्रतिबद्धता जनाए ।

सौराहामा हाल जडित एफटीटीएचको क्षमता १ हजार २४ लाइनको छ । चाँडै आवश्यकताबमोजिम क्षमता अभिवृद्धि गरी वितरण गर्ने कार्यक्रम रहेको टेलिकमले जनाएको छ । हाललाई यो सुविधा सौराहाको हात्तिचोकदेखि ठमेल बजार क्षेत्रसम्म, भरतपुर महानगरपालिकाका वडा नम्बर २ र ३ को नारायणगढ बजार क्षेत्र तथा वडा नम्बर १० का क्षेत्रहरुमा उपलब्ध गराइनेछ ।
यस्तै, बछ्यौली र ब्रिडिङ सेन्टरमा एक महिनाभित्र उपलब्ध गराइनेछ । निकट भविष्यमा भरतपुर महानगरपालिका वडा नम्बर ११ र १२, गैंडाकोट नगरपालिका र टाँडी बजार क्षेत्रमा समेत एफटीटीएच सेवा उपलब्ध गराउने योजना रहेको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख दीपक कुमारले जानकारी दिए ।

टेलिकमले एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । व्यक्तिगततर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । त्यसैगरी, कर्पोरेटतर्फ १० एमबीपीएस र २० एमबीपीएसको प्याकेज उपलब्ध छन्

एफटीटीएच सेवा लिने ग्राहकलाई एक सय मिटरसम्म फाइबर र तीन महिनाका लागि भ्वाइस सेवासमेत निःशुल्क उपलब्ध हुनेछ । त्यसैगरी तीन महिना वा सोभन्दा बढी अवधिको लागि एकमुष्ट एफटीटीएच सेवा लिने सेवाग्राहीलाई सीपीई निःशुल्क उपलब्ध हुनेछ । टेलिकमले मुलुकका विभिन्न सहरी क्षेत्रमा एफटीटीएच सेवाको बृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरण गरिरहेको जनाएको छ ।

प्रकाशित समय २०:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु