fbpx
corona information

गृहपृष्ठ ‘कोरोना महामारीले अर्थव्यवस्थाका कमजोरी सतहमा’

‘कोरोना महामारीले अर्थव्यवस्थाका कमजोरी सतहमा’

UNCTAD_NewsKarobar

विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड-१)  विरुद्धको खोपले ९० प्रतिशतभन्दा बढी प्रभावशाली नतिजा देखाएर स्वास्थ्य महामारीको अन्त्य नजिकै छ भन्ने विश्वास बढ्दै गइरहे पनि यसले आर्थिक क्षतिको न्यूनीकरणमा भूमिका खेल्न नसक्ने व्यापार तथा विकासका लागि संयुक्त राष्ट्र संघीय निकाय (अंकट्याड)ले जनाएको छ ।

महामारीले कहिले र कसरी नियन्त्रणमा आउँछ भन्ने अनिश्चितताबीच विश्वव्यापी स्वास्थ्य संकटबाट उत्पन्न व्यापक ठूलो आर्थिक झड्काले विश्व अर्थव्यवस्थामा कायम कमजोरीहरूलाई सतहमा ल्याइदिएको अंकट्याडले बताएको छ ।

कोभिड-१९ कारण सबैभन्दा गरिब र कमजोर मानिसलाई पार्ने आर्थिक असर भविष्यमा अझ बढी गहिरो हुने अंकट्याडद्वारा सार्वजनिक ‘व्यापार र विकासमा कोभिड-१९ को प्रभाव’ विषयक प्रतिवेदनमा उल्लेख छ।

‘जसरी विश्व अर्थव्यवस्था स्थापित गरियो, विश्वको सबैभन्दा गरिबमा परेको प्रतिकूल प्रभावका लागि त्यो आंशिक रूप जिम्मेवार छ, जोसँग कोभिड-१९ जस्ता झड्काको जवाफ दिनका लागि आवश्यक स्रोत-साधनहरू छैनन्,’ अंकट्याडले भनेको छ ।

कोभिड- १९ संकटका कारण असमानता बढेको भन्दै प्रतिवेदनमा सीमित क्षमताका कारण धेरैजसो विकासोन्मुख देश र अतिकम कम विकसित देशहरू (एलडीसी)मा कोभिड-१९ विरुद्धको सम्भावित खोप उत्पादन र वितरणमा प्रभाव पर्ने जोखिम औंल्याइएको छ । यस्ता गरिब देशहरूसँग आफ्नो जनसंख्यालाई सहयोग पुर्‍याउन आवश्यक सुरक्षा छाता नै नभएको अंकट्याडको ठहर छ ।

प्रतिवेदनले चालू वर्ष सन् २०२० मा विश्वव्यापी अर्थतन्त्र ४.३ प्रतिशतले संकुचित हुने र १३ करोड मानिसहरूलाई चरम गरिबीमा धकल्ने जोखिम औंल्याएको छ ।

‘सन् २०१९ मा कोरोना भाइरस (कोभिड-१९) देखापरेयता १ लाखभन्दा बढी मानिसले महामारीको कारण आफ्नो ज्यान गुमाइसकेका छन् । विश्वव्यापी अर्थतन्त्र २०२० मा ४.३ प्रतिशतले संकुचित हुने अपेक्षा गरिएको छ । यसअघि नै लाखौंले रोजगारी गुमाइसकेका छन्, लाखौंको जीविका छ र यदि संकट कायम रहिरहेमा थप १३ करोड मानिसहरू चरम गरिबीमा बाँचिरहेका हुनेछन्,’ प्रतिवेदनमा भनिएको छ, ‘यी गम्भीर तथ्यांकहरू हुन्, जसले यो महामारीबाट उत्पन्न ठूलो चुनौती र मानवीय पीडालाई दर्शाउँछन् ।’

महामारी कहिले सकिन्न भन्ने अहिलेसम्म कुनै पनि संकेत नभएको भन्दै धेरै देशहरूमा नयाँ कोभिड-१९ संक्रमितहरूको संख्या खतरनाक दरमा बढिरहेको र धेरै देशमा महामारीको दोस्रो छाल (सेकेन्ड वेभ) पनि देखिएको भन्दै प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ ।

प्रतिवेदनले सन् १९९८ को एसियाली वित्तीय संकटपछि पहिलो पटक विश्वव्यापी गरिबी बढेको भन्दै यसले सहस्राब्दी विकास लक्ष्यलाई पनि प्रभावित तुल्याएको उल्लेख छ ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु