गृहपृष्ठ घरबन्दी कारण ५५ प्रतिशत नेपालीले गुमाए जीविकोपार्जनका मेलो

घरबन्दी कारण ५५ प्रतिशत नेपालीले गुमाए जीविकोपार्जनका मेलो

अनलाइन शिक्षामा अधिकांशको छैन पहुँच

कोभिड-१९ को संक्रमण नफैलियोस् भनेर चैत ११ देखि अवलम्बन गरिएको झन्डै पाँच महिना लामो घरबन्दीका अवधिमा आधा जनसंख्याले आयआर्जन र जीविकोपार्जनको माध्यम गुमाएको बताएका छन् ।

युनिसेफ र सेयरकास्ट इनिसियटिभ नेपालले गत मे महिनामा गरेको देशव्यापी सर्वेमा ५५ प्रतिशत नेपालीले आफ्नो आयआर्जन गुमेको बताएका हुन् । देशभरिका प्रतिनिधित्व हुने गरी ७ हजार ५०० घरपरिवारमाझ यो सर्वे गरिएको युनिसेफले जनाएको छ, जसले ८५ प्रतिशत नगरपालिकाहरू समेटेको थियो ।

कोभिड-१९ ले पारेको आर्थिक-सामाजिक असरबारे फरक-फरक अध्ययनहरू सार्वजनिक हुने क्रममा पछिल्लो पटक सार्वजनिक भएको यो अध्ययनले भने चिन्तालाग्दो विवरण देखाएको हो । यसअघिका अध्ययनहरूले घरबन्दीका कारण करिब एक तिहाइ नेपालीले आयआर्जन र जीविकोपार्जनको मेलो गुमाएको देखाउँदै आएका छन ।

प्रदेशगत रूपमा घरबन्दीका कारण सर्वाधिक आय गुमेको बताउनेहरूमा प्रदेश २ का सहभागीहरू छन्, सो प्रदेशका ७२ प्रतिशत सर्वेमा सहभागीहरूले आफ्नो आयआर्जन गुमेको बताए ।

यसैगरी, बागमतीका ५९ प्रतिशतले, प्रदेश ५ का ५५ प्रतिशत, प्रदेश १ र सुदूरपश्चिमका ४८ प्रतिशत, गण्डकीका ३६ प्रतिशत, कर्णालीका ३५ प्रतिशतले आफ्नो आयआर्जन गुमेको बताएका छन् ।

घरबन्दीका कारण आयआर्जन वा जीविकोपार्जनको मेलो गुमाउनेहरू सबैभन्दा बढी उपमहानगरपालिकाहरूमा रहेको यो अध्ययनले देखाएको छ । उपमहानगरपालिकाहरूका ६१ प्रतिशतले आफूले आयआर्जन गुमाएको बताए ।

यसैगरी, गाउँपालिकाहरूका ५५ प्रतिशत, नगरपालिकाका ५४ प्रतिशत र महानगरपालिकाका ५१ प्रतिशतले आयआर्जन गुमेको बताएका छन् ।

वैकल्पिक शिक्षामा छैन पहुँच

सबैभन्दा चिन्तालाग्दो पक्ष, कोभिड-१९ महामारीका कारण हालैका दिनहरूमा विद्यलयहरूले अनलाइन कक्षा चलाइरहेको भए पनि एक तिहाइ बालबालिकाका यस्ता दूरशिक्षाको पहुँच भए पनि तीमध्ये आधाले उपयोग नै नगरेको पाइएको छ ।

सर्वेमा सहभागीमध्ये ६८ प्रतिशतको वैकल्पिक शिक्षामा पहुँच नभएको र पहुँच हुने २९ प्रतिशतमध्ये आधाले मात्र यसको उपयोग गर्न सकेको बताएका छन् । यसले कोभिड-१९ का कारण निकै ठूलो अनुपातमा बालबालिकाहरूले अध्ययन र सिकाइको अवसर गुमाएको देखाउँछ । कुल सहभागीमध्ये ९५ प्रतिशतले घरबन्दीका कारण आफ्ना बालबालिका विद्यालय जान नसकेको बताएका छन् ।

औसत १० हजार रुपैयाँभन्दा कम आय हुने परिवारका ८२ प्रतिशत बालबालिकाको यस्ता दूरशिक्षामा पहुँच छैन भने भए पनि ९५ प्रतिशत बालबालिकाले उपयोग नै गर्न सकेका छैनन् । यो गरिबीको रेखामुनिभन्दा तलको जनसंख्या हो ।

यस्तै, औसत २० हजार रूपैयाँसम्म आय हुने परिवारका ७७ प्रतिशत बालबालिकाको दूरशिक्षामा पहुँच छैन भने यस वर्गमा पहुँच हुने २३ प्रतिशतमध्ये केबल ९ प्रतिशतलेमात्र यस्तो वैकल्पिक शिक्षा प्रविधिको उपयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।

१४ प्रतिशत अपाङ्गता भएका व्यक्ति

सर्वेमा सहभागीमध्ये १४ प्रतिशत परिवारमा कुनै न कुनै किसिमको अपाङ्गता भएको पाइएको छ । यो हालसम्म गरिइदै आइएका अनुमानहरूभन्दा बढी हो । हालसम्म औसत १० प्रतिशत नेपालीमा कुनै न कुनै प्रकारको अपाङ्गता भएको बताइने गरिएको थियो ।

यो सर्वेअनुसार हरेक पाँचमध्ये एक परिवारका बालबालिकामा कुनै न कुनै प्रकारको अपाङ्गता पाइएको छ ।

प्रकाशित समय १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु