fbpx
corona information

गृहपृष्ठ झन्डै ५ अर्ब रुपैयाँ ‘बजेट सरेन्डर’

झन्डै ५ अर्ब रुपैयाँ ‘बजेट सरेन्डर’

राजस्व संकलन २२ प्रतिशत कम

Revenue_NewsKarobar

चालू आर्थिक वर्षमा पर्याप्त राजस्व नउठेपछि स्रोतको संकटमा रहेको सरकारलाई अलिकता भए पनि राहत भएको छ, विभिन्न मन्त्रालय र निकायले अर्थमन्त्रालयलाई झन्डै ५ अर्ब रुपैयाँ बजेट समर्पण (सरेन्डर) गरेका छन्।

विभिन्न मन्त्रालय तथा निकायका लागि विनियोजित बजेट खर्च गर्ननसक्ने अवस्थामा पुनः फिर्ता गर्नु ‘बजेट सरेन्डर’ हो । अर्थमन्त्रालयका अनुसार राष्ट्रपतिको कार्यालयसहित ९ निकायले गत चैत मसान्तसम्म ४ अर्ब ८१ करोड ७० लाख रुपैयाँ ‘बजेट सरेन्डर’ गरेका छन् ।

यसरी फिर्ता गरिएको बजेट सरकारले आर्थिक कार्यविधि ऐनअनुसार अन्य शीर्षकमा रकमान्तर गरेर खर्च गर्न सक्छ । चालू वर्षमा कम राजस्व उठेको र कोरोना भाइरस महामारीका कारण स्वास्थ्यमा खर्च बढाउनु परेकाले सरकारलाई यतिबेला स्रोतको संकट छ ।

यसरी बजेट सरेन्डर गर्नेमा नेपाली सेना पनि छ, जसले फास्ट ट्रयाक बनाउनका लागि प्राप्त २ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ सरेन्डर गरेको छ ।

सेनाको उपल्लो निकाय रक्षा मन्त्रालयले पनि ५ करोड ६१ लाख रुपैयाँ रुपैयाँ बजेट सरेन्डर गरेको छ भने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ५१ करोड ५७ लाख रुपैयाँ सरेन्डर गरेको छ ।

यस्तै, राष्ट्रपतिको कार्यालयले ९ करोड ५० लाख, परराष्ट्र मन्त्रालयले ३५ करोढ ९१ लाख, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७२ करोड ६२ लाख, महिला, बालबालिका मन्त्रालयले ५० लाख र निर्वाचन आयोगले २० करोड ३१ लाख रुपैयाँ बजेट सरेन्डर गरेका छन् ।

लक्ष्यभन्दा पौने दुई खर्ब कम राजस्व कम उठ्यो

चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म लक्ष्यभन्दा १ खर्ब ८१ अर्ब रुपैयाँ कम राजस्व उठेको छ । कोरोना भाइरस महामारीभन्दा अगाडि नै कम राजस्व उठ्न थालेकोमा चैत ११ गते यताको घरबन्दीका कारण थप प्रभाव परेको हो ।

चैत मसान्तसम्म कुल ७ खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा केबल ६ खर्ब २३ अर्ब रुपैयाँमात्रै राजस्व उठेको छ । यो लक्ष्यको ७८.३९ प्रतिशतमात्रै हो ।

चालू वर्षमा सरकारले १० खर्ब ५६ अर्ब रुपैयाँ राजस्व उठाउने संशोधित लक्ष्य राखेकोमा पहिलो ८ महिनामा लक्ष्यभन्दा झन्डै २२ प्रतिशत कम राजस्व उठेको र त्यसयता कोरोना भाइरसले हाँकेको आर्थिक संकटका कारण यस वर्ष करिब ८ अर्ब मात्रै राजस्व उठ्ने अर्थमन्त्रालयको प्रारम्भिक आकलन छ ।

पुँजीगत खर्च ४ प्रतिशतले कम

अर्थमन्त्रालयका अनुसार चालू आर्थिक वर्षको दोस्रो चौमासिकको अन्त्यसम्ममा पुँजीगत खर्च गत आर्थिक वर्षको समान अवधिको तुलनामा झन्डै ४ प्रतिशत कम खर्च भएको छ ।

कोरोना भाइरस महामारीका कारण चैत ११ गतेदेखि घरबन्दी लागू गरिएको भए पनि सरकारको खर्च क्षमता नै कमजोर भएकाले त्यसअघिकै पनि पुँजीगत खर्च कम भएको हो ।

मन्त्रालयका अनुसार चैत मसान्तसम्म कुल खर्च गत वर्षको तुलनामा झिनो वृद्धि भए पनि पुँजीगत खर्च भने खुम्चेको हो । सरकारको चालू खर्च गत वर्षको तुलनामा ६.२९ प्रतिशतले बढेको तथा वित्तीय व्यवस्थातर्फको बजेट खर्च गत वर्षको तुलनामा झन्डै ६० प्रतिशतले बढेकोले समग्र बजेट खर्च बढेको देखिएको हो ।

प्रकाशित समय १६:३३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु