fbpx
corona information

गृहपृष्ठ कोभिड-१९ को सबैभन्दा बढी आर्थिक प्रभाव बागमती प्रदेशमा

कोभिड-१९ को सबैभन्दा बढी आर्थिक प्रभाव बागमती प्रदेशमा

New-Nepal-Naksya_NewsKarobar-800x500

कोरोना भाइरस महामारी (कोभिड-१९) को सबैभन्दा बढी आर्थिक प्रभाव बागमती प्रदेशमा परेको अध्ययनले देखाएको छ । केन्द्रिय तथ्यांक विभागद्वारा सार्वजनिक प्रादेशिक आर्थिक वृद्धिदरको गणना तथा नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक स्थितिका प्रारम्भिक विवरणले यो अवस्था देखाएको हो ।

बागमतीले देशको समग्र अर्थतन्त्रको करिब ३६ प्रतिशत हिस्सा ओगट्छ । देशको प्रायः सबै आर्थिक गतिविधि यही प्रदेश केन्द्रीत भएकाले यो प्रदेशमा हुने असरले समग्र राष्ट्रिय अर्थतन्त्रमा असर पार्ने गर्छ ।

आर्थिक वर्ष २०७५/७६ मा यो प्रदेशको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हासिल भएकोमा कोरोना भाइरस प्रभावका कारण चालू वर्ष २०७६/७७ मा १.२ प्रतिशतमा खुम्चिने तथ्यांक विभागले जनाएको छ ।

आर्थिक गतिविधि खुम्चिएपछि देशको समग्र अर्थतन्त्रमा बागमतीको हिस्सा पनि गत वर्षको ३६.४ प्रतिशतबाट घटेर ३५.८ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिना अर्थात चैत मसान्तसम्म काठमाडौं उपत्यकाको मूल्य वृद्धिदर सर्वाधिक धेरै ७.१९ प्रतिशत छ । यसमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर सर्वाधिक ९.२३ र गैर खाद्य समूहका मूल्य वृद्धिदर ५.८६ प्रतिशत छ ।

कोरोना भाइरस संक्रमण व्यापक रूपमा बढ्न थालेपछि चैत १० गतेदेखि मुलुकमा घरबन्दी अबलम्बन गरिएको छ । यसका कारण वस्तु तथा सेवाको प्रवाहमा अवरोध आउँदा मूल्य वृद्धिदर अकासिएको हो ।

यस अवधिमा तरकारी मूल्यमा ३२.३ प्रतिशत, फलफूलको मूल्य २५.८१ प्रतिशतले बढेको छ भने  दलहनका मूल्य १४.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अन्नका मूल्य  करिब ४ प्रतिशतले बढेको छ ।

कोभिड १९ कारण आर्थिक रूपमा बढी प्रभावित हुने अन्य प्रदेशहरूमा प्रदेश नं ५, २ र गण्डकी प्रदेश परेका छन् । यीमध्ये आर्थिक वृद्धि अनुपातमा सबैभन्दा बढी गुमाउनेमा प्रदेश नं २ पर्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

प्रदेश नं २ को आर्थिक वृद्धिदर गत आर्थिक वर्षमा ८.१ प्रतिशत रहेकोमा यस वर्ष २.३ प्रतिशतमा झर्नेछ भने प्रदेश नं ५ का आर्थिक वृद्धिदर गत आर्थिक वर्षमा ६.८ प्रतिशत रहेकोमा यस वर्ष २ प्रतिशतमा झर्ने तथ्यांक विभागले जनाएको छ ।

यी तराई क्षेत्रका प्रदेशहरू हुन् । यीमध्ये प्रदेश नं ५ ले देशको कुल अर्थतन्त्रमा १४.२ प्रतिशत र प्रदेश नं २ ले १३.८ प्रतिशत हिस्सा ओगट्छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चैतसम्म तराईमा मूल्य वृद्धिदर ७.०४ प्रतिशत छ, जसमध्ये खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर सर्वाधिक धेरै १०.३५ प्रतिशत छ ।

समग्र देशकै आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने केन्द्रिय तथ्यांक विभागका प्रारम्भिक विवरणलाई देशका सबै प्रदेशगत रुपमा भाग लगाउँदा अन्य प्रदेशका पनि आर्थिक वृद्धिदर खुम्चिने देखिएको छ ।

तराई क्षेत्रका प्रदेशहरूबाहेक गुमाउनेमा गण्डकी प्रदेश परेको छ । गत आर्थिक वर्षमा ६.७ प्रतिशतको वृद्धिदर हासिल गरेको गण्डकीको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिने छ ।

याे प्रदेश बढीमात्रामा पर्यटन गतिविधिमा आश्रित रहेकाले यसको आर्थिक वृद्धिमा प्रभाव पर्ने देखिएको हो । चैतपछि सबै पर्यटन गतिविधि ठप्प छन् ।

काेभिड १९ का आर्थिक रूपमा अलिकम प्रभाव पर्नेमा प्रदेश नं १ र कर्णाली प्रदेश देखिएका छन् भने संकटका अवस्थामा पनि सुदूरपश्चिमका आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने देखिएको छ ।

प्रदेश नं ३ का वृद्धिदर ३.४ प्रतिशत, कर्णालीको ३.६ प्रतिशत र सुदूरपश्चिमको ४.१ प्रतिशत रहने छ ।

 

प्रकाशित समय १०:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु