fbpx
corona information

गृहपृष्ठ धमाधम आन्तरिक ऋण उठाउने तयारीमा सरकार

धमाधम आन्तरिक ऋण उठाउने तयारीमा सरकार

arthamantralaya-newskarobar

हालसम्म आन्तरिक राजस्वले नै खर्च चलाउन पुगेपछि आन्तरिक ऋण नउठाएको सरकारले अब भने बाँकीका तीन महिनाभित्र १ खर्ब ९५ अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार चालू आर्थिक वर्षमा लक्ष्यभन्दा झन्डै २ खर्ब रुपैयाँ कम राजस्व संकलन हुने संकेत देखिएपछि बजेटको लक्ष्यअनुसार नै आन्तरिक ऋण उठाउन लागिएको हो ।

‘यदि यसलेमात्र खर्च धान्न सक्ने अवस्था नभएमा ओभरड्राफ्ट उपयोग गर्ने अवस्था पनि आउने छ,’ मन्त्रालय स्रोतले भन्यो ।

नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले सार्वजनिक गरेको तालिकाअनुसार चैत मसान्तभित्रैमा ५५ अर्ब ४० करोड रुपैयाँ आन्तरिक ऋण उठाइने छ । यसमध्ये ट्रेजरी बिल्सबाट २५ अर्ब, विकास ऋणपत्रबाट ३० अर्ब र वैदेशिक रोजगार बचतपत्रबाट ४० करोड रुपैयाँ उठाइने योजना छ ।

वैशाखदेखि असारभित्रको तीन महिनामा ट्रेजरी बिलबाट ६५ अर्ब, विकास ऋणपत्रबाट ७० अर्ब, नागरिक बचतपत्रबाट ४ अर्ब र वैदेशिक रोजगार बचतपत्रबाट ४० करोड रुपैयाँ उठाइने योजना छ ।

वैदेशिक रोजगार बचतपत्रको यसअघिको बिक्री स्थिति हेर्दा यसबाट लक्षित आन्तरिक ऋण उठ्न सक्ने सम्भावना निकै कम छ ।

सरकारले आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० प्रतिशत, तेस्रो त्रैमासिकमा ४० प्रतिशत तथा चौथो त्रैमासिकमा ४० प्रतिशत गरी रु.१ अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्न स्वीकृति दिएको थियो ।

पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्रको ब्याजदर साढे १० प्रतिशत भए पनि वैदेशिक रोजगारीबाट फर्केकाहरूले यसमा लगानीका लागि निकै कम चासो दिने गरेका छन् ।

आर्थिक वर्ष २०६६/६७ देखि २०७४७५ को अन्त्यसम्ममा कुल ११ अर्ब ८ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी गरिएकोमा जम्मा ५८ करोड रुपैयाँको मात्र बिकेको छ ।

सरकारले बजेट घाटा व्यवस्थापन गर्नका लागि आन्तरिक तथा बाह्य ऋण उठाउने गर्छ । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले दिएको सिफारिसअनुसार सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १० प्रतिशतसम्म आन्तरिक ऋण परिचालन गर्न पाउँछ ।

प्रकाशित समय १६:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु