fbpx
corona information

गृहपृष्ठ काठमाडौँ महानगरले सात महिनामा उठायो ९४ करोड बहाल कर

काठमाडौँ महानगरले सात महिनामा उठायो ९४ करोड बहाल कर

नगर प्रोफाइल निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष फ्रिज

काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको सात महिनामा करिब ९४ करोड रुपैयाँ घरबहाल कर उठाएको छ । चालू आवको साउनदेखि फागुनसम्ममा महानगरले सो परिमाणमा राजस्व उठाएको उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक हरिप्रभा खड्गी (श्रेष्ठ)ले जानकारी दिइन् ।

गत वर्षभरमा महानगरपालिकाले करिब १ अर्ब ३३ करोड घरबहाल कर असुली गरेको थियो । महानगरपालिकाले स्थानीय सरकार गठन हुनुअघि वार्षिक दुई‑तीन करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको थियो भने आन्तरिक राजस्व कार्यालयले चार‑पाँच करोड उठाउँदै आउको थियो । त्यसबेला महानगरपालिकाले २ प्रतिशत र आन्तरिक राजस्व विभागले १० प्रतिशत गरी १२ प्रतिशत कर लिने गरेका थिए ।

काठमाडौँ महानगरपालिकाले घरधनीले भनेको रकमका आधारमा बहाल कर लिँदै आएको छ । ‘हामी घरबेटीले जति भाडा लिइरहेका छन्, त्यसको जानकारी गराउँछन्, त्यही आधारमा कर लिन्छौँ,’ प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘अहिले अधिकांशले घरबहाल कर बुझाएका छन् ।’

उनले काठमाडौँका घर र बहालमा रहेका घरको यकिन तथ्यांक भने दिन सकेनन् । ‘यकिन तथ्यांक त हामीसँग छैन, करिब ४ लाख घर भएको अनुमान छ, अनुमान है अनुमान,’ उनले निसंकोच भने, ‘त्यसमध्ये करिब ८० प्रतिशत घर भाडामा लगाइएका छन् अर्थात् करिब ३ लाख २० हजार घर भाडमा छन् ।’

उनकै अनुमानित तथ्यांकका आधारमा नगरपालिकाका ३ लाख २० हजार घरले न्यूनतम् ६ हजार (दुई कोठा) देखि अधिकतम् २० लाख (न्यु रोडका सटर, एउटा घरमा चार सटर) भाडा उठाउँछन् । यसको औसत भाडादर निकाल्नु गलत हुनसक्छ । किनकि उच्चमूल्यका सटर न्युरोड क्षेत्रमा मात्र छन् । अनुमानित भाडादर एक लाख रुपैयाँ राखेर हेर्दा काठमाडौँ महानगरपालिकाका घरबेटीले मासिक बहाल कम्तीमा ३२ अर्ब (३ लाख २० हजार गुणन एक लाख) उठाउँछन् । यसको १० प्रतिशत ३२ करोड रुपैयाँ हुन्छ । सामान्य हिसाबले मात्र महानगरपालिकाले ३ अर्ब ८४ करोड रुपैयाँ वार्षिक घरबहाल कर उठाउन सक्छ ।

यति सम्भावना हुँदाहुँदै पनि महानगरपालिकाले यकिन तथ्यांक संकलन गरेको छैन । महानगरपालिकाको वेबसाइटमा वडा प्रोफाइल राखिएको छ । तर, त्यसका सबै तथ्यहरू सन् २००१ पछि अपडेट गरिएका छैनन् । अर्थात्, कुनै तथ्यांक संकलनबिना नै १९ वर्ष बितेको छ । महानगरपालिकाले विद्यासुन्दर शाक्यको नेतृत्वमा सरकार गठन भएको तीन वर्ष बित्दै गर्दा नगर प्रोफाइल बनाउने आवश्यकता नै महसुस गरेको छैन । अझ रोचक त के छ भने ‘काठमाडौँको बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला’ लेखेको ठाउँमा क्लिक गरियो भने विकिपिडिया खुल्छ ।

राजस्व परामर्श समिति संयोजक खड्गी आफूले नगर प्रोफाइल निर्माणका लागि पटक पटक झगडा गर्दा पनि बेवास्ता गरिएको गुनासो गर्छिन् । ‘कराउँदा कराउँदै तीन वर्ष बितिसक्यो तर मतलब नै छैन,’ उनी भन्छिन्, ‘जहिले बोर्ड बैठक र नगरपरिषदमा पनि भनिरहन्छु । राजस्व परामर्श समितिको संयोजकको नाताले पनि म सोधिरहन्छु तर कुनै सुनुवाइ हुँदैन ।’

महानगरपालिकाले गत वर्ष नगर प्रोफाइल बनाउन ९ करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर, त्यो रकम त्यसै फ्रिज भयो । ‘मेयरले सही नगरी पारित बजेट पनि खर्च गर्न पाइँदैन, उहाँले सही गरिदिनुहुन्न, धेरै समस्या छ ।’ नगर प्रोफाइलका लागि विनियोजित बजेट पनि यसै गरी फ्रिज भएको उनले बताइन् । चालू वर्षका लागि पनि नगर प्रोफाइल निर्माण शीर्षकमा करिब ७ करोड विनियोजन भएको उनले जानकारी गराइन् । ‘तर अहिलेसम्म प्रक्रिया अघि बढाइएको छैन,’ उपप्रमुख खड्गीले भनिन् ।

प्रकाशित समय १०:४४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु