fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ ग्राहकलाई अत्यावश्यक सेवा दिन ‘लकडाउन’मा पनि बैंक खुला

ग्राहकलाई अत्यावश्यक सेवा दिन ‘लकडाउन’मा पनि बैंक खुला

तीन दिनमा झिकियो बैंकिङ प्रणालीबाट ६ अर्ब : राष्ट्र बैंक स्रोत

विश्वव्यापी कोरोनाभाइरस (कोभिड १९) को संक्रमण बढेसँगै सरकारले मंगलबारदेखि एक सातासम्मका लागि लकडाउन गरे पनि अत्यावश्यक सेवा प्रवाह गर्न बैंक खुलै छन् । आलोपालो गरी थोरै कर्मचारीबाट अत्यावश्यक सेवा दिने गरी केही जिल्लामा बाहेक बैंकहरू खुला गरिएको हो ।

नेपाल बैंकर संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन दाहालले जिल्ला प्रशासन कार्यालयले निषेध गरेबाहेकका जिल्लामा बैंकबाट रकम झिक्ने र राख्ने सेवा निर्वाध सञ्चालन गरेको जानकारी दिए । ‘अर्थ मन्त्रालय, राष्ट्र बैंक र नेपाल बैंकर संघबीच अत्यावश्यक सेवा प्रवाह गर्ने विषयमा सल्लाह भएको र त्यही अनुसार सेवा दिइरहेका छौं,’ उनले भने, ‘अत्यावश्यकबाहेकका अन्तर्राष्ट्रिय पेमेन्ट पनि नगर्ने निर्णय भएको छ ।’

गोरखालगायतका केही जिल्लामा भने बैंक बन्द छन् । काठमाडौंमा आज सार्वजनिक बिदा भएकाले अर्को कुनै सूचना नआए भोलिदेखि बैंक खोल्ने गरी तयारी भइरहेको उनले बताए । ‘हामी आज स्थानीय प्रशासनबाट पासको व्यवस्था मिलाइरहेका छौं,’ उनले भने ।

अर्जेन्ट परेर बैंक जान हिँडेकाहरूलाई प्रहरीले नरोक्नुपर्ने अध्यक्ष दाहालले बताए ।  ‘अर्जेन्ट परेर बैंकमा सेवा लिन आउने ग्राहकलाई प्रहरीले पनि नरोकेजस्तो लाग्छ,’ उनले भने, ‘आज हाम्रो स्टाफले पनि सर्वसाधारणलाई सेवा दिन आफू जानैपर्ने बताएपछि जान दिएछ ।’

नेपालकै ठूलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंक पनि ग्राहकलाई सेवा दिने विषयमा निकै सचेत देखिएको छ । सिइओ परशुराम कुँवर क्षेत्री एटिएममा प्रशस्त पैसा राखेको र बीचमा नियमित अपडेट गरिरहने बताउँछन् ।

‘रेमिट्यान्स नियमित आइरहेको छ । ग्राहकको खातामा स्वतः जम्मा भइरहेको हुन्छ,’ उनले भने, ‘सरकारले वित्तीय सेवा अवरुद्ध गर्नुस् भनेको होइन, थोरै कर्मचारीबाट अत्यावश्यक सेवा प्रवाह गर्नुस् भनेको हो । त्यसकारण व्यक्तिगत ग्राहकलाई सेवा दिने विषयमा पनि हामी उत्तिकै सचेत छौं ।’

ग्राहकले यस्तो विषम परिस्थितिमा बढीभन्दा बढी डिजिटल सेवा उपयोग गर्नुपर्ने उनले बताए । ‘तर त्यसरी मात्र सम्भव भएन भने प्रहरीसँगको अनुरोधमा ग्राहकले हामीसँग सम्पर्क गर्नुपर्छ, हामी सेवा दिन्छौं,’ सिइओ क्षेत्रीले भने । ग्लोबल आइएमइले ३३ एक्सटेन्सन काउन्टरबाट सरकारी कारोबार पनि गर्ने भएकाले ती सबै नियमित खुला रहने उनले जानकारी दिए ।

‘गोरखालगायतका केही जिल्लाले बैंकसमेत बन्द गराएका छन्, त्यहाँ अनुमति लिएरमात्र काम गर्नुपर्ने हुन्छ, त्यस्तो जिल्लाको हकमा समन्वय गरेको सेवा दिन्छौं, उनले भने ।

यसबाहेक वैदेशिक व्यापारसम्बन्धी एलसी वा बिना एलसीको पेमेन्ट सेटलमेन्टको काम जसरी पनि गर्नैपर्ने र एलसीका अन्तर्राष्ट्रिय भुक्तानी सबै कागजात पाएको सात दिनभित्र गर्नुपर्ने भएकाले बैंकले अवस्था हेरेर काम गरिरहेको सिइओ क्षेत्रीको भनाइ छ ।

एनएमबी बैंकले पनि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएका जिल्लामा करिब सयवटा ब्रान्च खुलेको बताएको छ । त्यसबाहेक एटिएमहरूमा पैसा अभाव हुन नदिने सिइओ सुनिल केसीले बताए । ग्राहकलाई डिजिटल सेवा उपयोग गरेबापत कुनै पनि अतिरिक्त शुल्न लिएका छैनौं र यो अवस्था कायम रहिरहेसम्म त्यो निरन्तर रहनेछ,’ उनले भने ।

आयात‑निर्यात व्यापारमा कुनै व्यवधान आउन नदिन अन्तर्राष्ट्रिय भुक्तानी सहज बनाउने काममा बैंक सचेत रहेको उनले बताए । ‘हामी सबै सेवा खुला राख्छौं । सँगै कर्मचारीको स्वास्थ्य र सुरक्षालाई पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ,’ उनले भने, ‘सेवा, व्यवसाय र उत्तरदायित्वलाई मध्यनजर गरेर काम गर्छौं ।’

यस्ता विपत्तिबाट बैंकहरू र ग्राहकले पनि पूर्ण डिजिटाइज हुन सिक्ने उनको भनाइ छ । ‘हामी विगतदेखि नै डिजिटाइजमा फोकस थियौं, अब अझ परिष्कृत हुँदै थप डिजिटाइज हुने गरी आफ्ना योजना बनाएर लागू गर्छौं,’ उनले भने, ‘यो विपत्तिबाट यस्तै पाठ पनि सिकिँदै छ ।’

माछापुच्छ्रे बैंकका नवनियुक्त सिइओ सन्तोष कोइरालाले पनि एटिएम २४ घण्टा नै खुला रहने भएकाले केही सहज हुने अपेक्षा गरिएको बताए । ‘एटिएममा प्रशस्त क्यास राखेका छौं, त्यहाँ अभाव हुन दिँदैनौं,’ उनले भने, ‘बिहान ६ बजेअघि भए पनि ग्राहकले सेवा लिन सकुन् भन्ने चाहना हो ।’

ग्राहकलाई सेवा दिने विषयमा माछापुच्छ्रे बैंक स्ट्यान्डबाइ रहेको र सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा काम गर्ने उनले बताए । ‘हामी आउटलेट खोलेर बस्छौं, नागरिकलाई सेवा दिन सरकारले सहजीकरण गर्नुपर्ने हुन्छ,’ सिइओ कोइरालाले भने, ‘स्थानीय प्रशासन, स्थानीय तह र बैंकबीच समन्वय राम्रो भएकाले ग्राहकले अत्यावश्यक सेवा पाउँछन् ।’

मंगलबार सार्वजनिक बिदा भएकाले मेन्टल्ली पनि बन्द रहेको र भोलिदेखि सरकारको कदमअनुसार सरकारका निर्णयलाई सहयोग पुग्ने गरी काम कारबाही अघि बढाउने उनले बताए ।

बितेका तीन दिनमै बैंकिङ प्रणालीबाट ६ अर्ब रकम झिकिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘यसरी ठूलो मात्रामा दसैंतिहारलगायतका चाडमा मात्र पैसा झिकिन्थ्यो,’ स्रोतले भन्यो, ‘छोटो अवधिमा ठूलो पैसा बैंकबाट झिकिएकाले सर्वसाधारणलाई पैसा अभाव नहोला ।’ सम्भावित समस्याबाट अफ्ठ्यारोमा नपरियोस् भन्नाका लागि सर्वसाधारणले पैसा झिकेका हुन् ।

अत्यावश्यक र सीमित बैंकिङ कारोबारका लागि सीमित शाखा र एटिएममात्र सञ्चालन गर्ने गरी छलफल भइरहेको उनको भनाइ छ । सबै वित्तीय संस्था पूर्णरुपमा सञ्चालनमा आउँदा कोरोना संक्रमण जोखिम थप बढ्ने भएकाले पनि यो प्रस्ताव अघि सारिएको ती कर्मचारीले जानकारी दिए ।

माघसम्मको तथ्यांकअनुसार देशभर रहेका ३ हजार ६६२ वटा एटिएम २४सै घण्टा खुला रहने र जुनसुकै एटिएमबाट पैसा झिके पनि अतिरिक्त शुल्क नलाग्ने भएकाले ग्राहकले त्यसको अधिकतम उपयोग गर्न सक्नेछन् । देशभर डेबिट कार्ड लिने ग्राहक ७२ लाख १५ हजार ६४६, क्रेडिट कार्ड लिने १ लाख ४६ हजार ८५६ र प्रिपेड कार्ड लिने ६३ हजार ७७५ जना छन् । त्यस्तै मोबाइल बैंकिङका ग्राहक ९८ लाख ६ हजार २७३, इन्टरनेट बैंकिङका ग्राहक ९ लाख ६९ हजार ५५ जना छन् । देशभर कुल ३ करोड ११ लाख १२ हजार १९४ वटा बैंक खाता छन् । यसबाहेक ब्रान्चलेस बैंकिङका ग्राहक १ लाख ८९ हजार छन् ।

जोखिममा बैंक कर्मचारी

यसरी बैंकिङ काउन्टर खुला गर्दा कर्मचारीलाई भाइरस संक्रमणको जोखिम अधिक हुन्छ । विश्व स्वास्थ्य संगठनले नोटलाई संक्रमण सर्नसक्ने उच्च जोखिममा राखेको छ र नेपालमा क्रेडिट कार्डभन्दा अधिक नोट नै प्रचलनमा रहने भएकाले झनै जोखिम छ । बैंकका नगद काउन्टर (टेलर) कर्मचारी यस्तो जोखिममा काम गर्न बाध्य छन् । नेपाल राष्ट्र बैंकको पुस मसान्तको तथ्यांकअनुसार सर्वसाधारणसँग ५ खर्ब १ अर्ब ७२ करोड रूपैयाँ नगद छ ।

नगद काउन्टरका एक कर्मचारीले उच्च जोखिममा काम गर्नुपर्दा पनि बैंकले मनोबल बढाउने कामबाहेक कुनै इन्सेनटिभ नदिएको गुनासो गरेका छन् । विभिन्न सरकारी निकायले फिल्डमा काम गर्नुपर्ने र नियमित कार्यालय जानुपर्ने कर्मचारीका लागि अतिरिक्त भत्ताको व्यवस्था गरेका छन् ।

प्रकाशित समय १६:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु