fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ पशुबिमा बढ्दै, कृषिबिमा घट्दै

पशुबिमा बढ्दै, कृषिबिमा घट्दै

agriculture insurance

सरकारले कृषकको लगानी सुरक्षित गर्न भन्दै बिमा कार्यक्रम लागू गरे पनि कृषक भने अनविज्ञ नै छन् । कृषिबिमा कार्यक्रम लागू गरे पनि सचेतनाका कार्यक्रम सञ्चालन नगर्दा कृषकलाई जानकारी नभएको हो । सरकारले कृषिबिमा कार्यक्रमअन्तर्गत कृषि तथा पशुको बिमा गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत रकम ब्यहोर्ने भए पनि यसबारे कृषकलाई थाहा नै छैन ।

व्यावसायिक रुपमा फर्म नै सञ्चालन गरेर पशुपालन तथा कृषि फर्म सञ्चालन गरेका कृषक पनि बैंकबाट ऋण लिन मात्रै बिमा गर्नुपरेको बताउँछन् । उनीहरुलाई सरकारले पशु तथा कृषिबिमा गर्दा सहुलियत दिएको बारेमा जानकारी छैन । गाउँघरमा निर्वाहका लागि पालिएका दुई चारवटा पशुको बिमा गरेका किसान भने सरकारको कदमप्रति सन्तुष्ट देखिएका छन् ।

घोराही उपमहानगरपालिका क्षेत्रका तरकारी उत्पादक कृषक कसैले पनि बालीको बिमा गराएका छैनन् भने घरमा पालेका पशुको पनि बिमा गरेका छैनन् । उनीहरु बिमा गर्दा धेरै रकम भुक्तानी गर्नुपर्ने डरले बिमा नगरेको बताउँछन् । उनीहरुले कृषि तथा पशुबिमा गर्दा सरकारले सहयोग गरेकोबारे जानकारी नभएको बताए ।

फर्म नै सञ्चालन गरेर पशु पाल्दै आएका कृषकले भने अहिले बिमा गराउन थालेको बताएका छन् । घोराही उपमहानगरपालिका ३ मा रहेको देव पशुपन्छी फर्ममा अहिले १२ वटा गाई छन् । सुरुमा दुई/चार गाईभैँसी पाल्दै आएका देवनारायण शर्माले व्यावसायिक रुपमै पशुपालन गर्ने भन्दै २०७४ चैतमा फर्म दर्ता गराए । फर्म सञ्चालन गर्नुभन्दा पहिले पशुबिमा बारे सुने पनि धेरै पैसा तिर्नुपर्ने हुन्छ होला भन्दै बिमा नगराएका उनले अहिले सबै पशुको बिमा गराएका छन् ।

पशुबिमा गर्दा सरकारले ७५ प्रतिशत रकम व्यहोर्ने र २५ प्रतिशत मात्रै किसानले तिर्नुपर्ने जानकारी पाएका शर्माले जोखिम कम गर्न बिमा गरेको बताए । ‘पहिला थाहा थिएन र पशुको बिमा गरिन्नथ्यो तर अहिले धेरै पाल्दा धेरै नै जोखिम हुने भएकाले बिमा गरेको हो,’ शर्माले भने । पशुबिमा गर्दा किसानलाई धेरै फाइदा हुने र लगानी सुरक्षित हुने भएकाले बिमा गरेको उनले बताए । जिल्लामा कति पशुको बिमा गरिएको छ भन्ने यकिन तथ्यांक नभए पनि पशुपालक कृषकले भने बिमा गर्ने गरेको बिमा कम्पनीले बताएका छन् ।

दाङ घोराहीमा रहेको एनएलजी इन्स्योरेन्स कम्पनीका अनुसार यो आर्थिक वर्षको पुस मसान्तसम्म तीन हजार पशुको बिमा गरिएको छ । गत वर्षको तुलनामा यो आर्थिक वर्षको ६ महिनामा ५०० बढी पशुको बिमा गरिएको वरिष्ठ शाखा प्रबन्धक रवी गौतमले जानकारी दिए ।

अहिले पशुपालक कृषकलाई कृषि सहकारीले बिमाबारे जानकारी दिन कार्यक्रमको आयोजना गर्ने गरेकाले पनि पशुबिमा गर्ने कृषक बढेको उनले बताए । ‘कृषि सहकारीले पशु बिमाबारे जानकारी दिन कार्यक्रमको आयोजना गरेर बोलाउने गरेका छन्, हामीले गएर बिमाबारे जानकारी दिँदा कृषक उत्साहित हुन्छन्,’ गौतमले भने । पशुमा जस्तै सरकारले कृषिमा पनि सहुलियत दिएको भए पनि कृषिबिमा भने कमै हुने गरेको उनले बताए ।

कसरी गर्ने बिमा ?

कृषि तथा पशुको बिमा गर्दा कम्पनीको कार्यालयमा गई आफूले गरेको कृषि कार्य र लागत खर्च उल्लेख गरी फाराम बुझाउनुपर्छ । बिमा कम्पनीले पठाएको प्राविधिक टोलीको रिपोर्ट आइसकेपछि अभिकर्ताले किसानको पशुपन्छी तथा बाली बिमा गरिदिन्छन् । कृषि बिमाको क्षेत्रमा जति प्रिमियम लाग्ने हो, त्यसको अनुपातमा लाग्ने ७५ प्रतिशत प्रिमियम नेपाल सरकारले अनुदान दिने र २५ प्रतिशत किसान आफैँले तिर्नुपर्छ । अहिलेको सरकारले भ्याट छुट गरेका कारण अलिक सहज भएको बिमा कम्पनी बताउँछन् । एक लाख रूपैयाँबराबरको कृषिजन्य वस्तुको बिमा गर्दा पाँच हजार बिमा शुल्क तिर्नुपर्छ ।

पाँच हजार बिमा शुल्कमध्ये ३ हजार ७५० रूपैयाँ सरकारले अनुदान दिन्छ भने एक हजार २५० किसान आफैँले व्यहोर्नुपर्छ । यसरी बिमा गरिसकेपछि पशुपन्छी वा बाली नोक्सान भएको तीन दिनभित्र कृषकले बिमा अभिकर्तालाई जानकारी गराउनुपर्छ । जानकारी गराएको १५ दिनपछि प्राविधिकबाट प्रमाणित गराएको प्रमाणपत्र, सक्कल बिमालेख र सर्जिमिन मुचुल्का पेस गरेपछि ठाउँ हेरी बढीमा एक महिनाभित्र क्षतिपूर्ति पाउने व्यवस्था छ । बिमा अवधि समाप्त भएको रहेछ भने नवीकरण गराउनुपर्छ, अन्यथा क्षतिपूर्ति पाइँदैन । (सन्तोष अधिकारी/रासस)

प्रकाशित समय १५:५० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु