गृहपृष्ठ नेपालको सेयर बजारमा नयाँ इतिहास

नेपालको सेयर बजारमा नयाँ इतिहास

नेपालको सेयर बजारमा कारोबार रकमले इतिहास रचेको छ । साताको अन्तिम दिन बिहीबार नेप्सेमा हालसम्मकै उच्च २ अर्ब ७८ करोड ५० लाख रुपैयाँभन्दा बढीको  सेयर किनबेच भएको हो । यसअघि २०७३ साउन ११ गते मंगलबार सर्वाधिक २ अर्ब ७५ करोड ३७ लाख रुपैयाँबराबरको सेयर खरिद‑बिक्री भएको थियो ।

आज १८० कम्पनीको ५८ लाख २९ हजार कित्ता सेयर किनबेच हुँदा व्यापार र म्युचुअल फन्डबाहेकका सबै समूह उचालिएका छन् भने नेप्से परिसूचक २९.३२ अंकले बढेर १४३४.५७ अंकमा उक्लिएको छ ।

नेप्से परिसूचक २.०९ प्रतिशत बढ्दा ११ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । बोटलर्स नेपाल (तराई), फर्स्ट माइक्रोफाइनान्स, एनएमबी माइक्रोफाइनान्स, कालिका माइक्रोकेडिट डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, आरएसडिसी लघुवित्त, तारागाउँ रिजेन्सी होटल, बुटवल पावर कम्पनी, ग्रामीण विकास लघुवित्त, नेरुडे लघुवित्त र फर्वर्ड कम्युनिटी माइक्रोफाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

बिहीबार लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ६.३५ प्रतिशत बढेको छ । त्यसैगरी निर्जीवन बिमा उपसमूहको ५.५५ प्रतिशत, जीवन बिमाको ४.७६ प्रतिशत, उत्पादनमूलकको ३.४७, होटलको २.५८, जलविद्युतको १.३४ र अन्य समूहको १.२७ प्रतिशत बढेको छ । वित्तको ०.९६, बैंकिङको ०.६६ र विकास बैंकको ०.५४ प्रतिशत बढ्दा व्यापार र म्युचुअल फन्ड समूहको परिसूचक भने क्रमशः १.१ र ०.३९ प्रतिशतले घटेको छ ।

शिवम् सिमेन्टको सर्वाधिक १७ करोड, हिमालयन डिस्टिलरीको १२ करोड, नेपाल लाइफ इन्स्योरेसन्सको १२ करोड, ग्रामीण विकास लघुवित्तको ११ करोड र शिखर इन्स्योरेन्सको १० करोड रूपैयाँबराबरको सेयर किनबेच भएको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार १० दिनमा १४४ अंक बढ्यो, अब के हुन्छ ?

सेयर बजार बढ्नुमा ब्याजदरको प्रभाव कि अन्य कारण ?

प्रकाशित समय १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु